बजेट निर्माणका क्रममा सिमिति ब्यापारिक घरानालाई फाइदा हुने गरी करका दरहरु चलाउन जनार्दन शर्मालाई सघाएका पूर्व नायब सुब्बा रघुनाथ घिमिरे सम्पर्कविहीन भएका छन् । जेठ १४ गते राती अर्थ मन्त्रालयमै पुगेर बजेटमा करका दरहरु हेरफेर गरेको आरोप लागेका पूर्व नायब सुब्बा घिमिरेसँग संसदीय छानबिन समितिले बयान लिनै सकेन । जनार्दन शर्मामाथि छानबिन गर्न बनेको समितिले घिमिरेसँग बयान नै नलिई आजबाट प्रतिवेदन लेख्न सुरु गरेको छ । उनीसँग बयान लिन खोजिएको भएपनि सम्पर्क नै नभएको समितिका एक सदस्यले बताए । तत्कालीन अर्थमन्त्री शर्माले कर विज्ञ भन्दै नेपाल सरकारकै पूर्व नायब सुब्बालाई जेठ १४ को राति अर्थमन्त्रालयमा प्रवेश गरार करका दरहरु हेरफेर गराएको समाचार आएदेखि नै घिमिरे सम्पर्क बिहिन छन् । उनलाई असार २८ गते पहिलो बैठक बसेदेखि नै समितिले सम्पर्कको प्रयास गरेको थियो । तर, उनी हालसम्म पनि सम्पर्कबिहिन छन् ।‘बोलाउन नखोजिएको वा नबोलाईएको भन्ने प्रश्न नै होइन नि, हामीले बोलाउन, सोधपुछ गर्न खोजेकै हो’ समिति स्रोत भन्छ, ‘अब कसैगरे पनि सम्पर्क हुन नसकेपछि के लाग्छ ?’ जनार्दन शर्मामाथि छानबिन गर्न समिति बनेपछि छानबिन समितिको कठघरामा आफू पनि उभिनुपर्ने भयले उनी भागेर दुबइ पुगेको अनुमान गरिएको छ । उनलाई चौधरी ग्रुपले नै भगाएर भारतको कुनै शहरमा राखेको हुनसक्ने अनुमान पनि हुन थालेको छ । अर्घाखाँची घरका भएका रघुनाथ घिमिरे पूर्व नासु हुन् । १ फागुन २०७५ मा जागिर छाडेर उनी चौधरी ग्रुपमा कार्यरत छन् ।