सहरी विकासमन्त्री प्रभु साहले सरकारको पहिलो प्राथमिकता प्रतिनिधि सभाको निर्वाचन रहेको बताउनुभएको छ । वैशाखमा घोषित निर्वाचनलाई भव्य रूपमा सम्पन्न गर्न सरकारले निर्वाचन केन्द्रित कार्यक्रमहरू अगाडि बढाएको उहाँले बताउनुभयो ।
चालू आर्थिक वर्षको अहिलेसम्मको कार्य प्रगतिबारे जानकारी दिन बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उहाँले जनताको सम्बोधन सरकारको प्राथमिकता भएको बताउनुभयो ।
उहाँले विशेष गरी विपन्न वर्गलाई लक्षित गरी सरकारद्वारा सञ्चालिच जनता आवास, सुरक्षित नागरिक आवास तथा खरको छाना विस्थापन गर्ने कार्यक्रम मन्त्रालयको विशेष प्राथमिकतामा रहेको बताउनुभयो ।
मन्त्रालयका अनुसार सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत अहिलेसम्म छ हजार ९६७ आवासको निर्माण सम्पन्न भइसकेको छ । चालू आर्थिक वर्षमा एक लाख पचास हजार र आगामी तीन वर्षभित्र सात लाख पचास हजार खरका छाना विस्थापन गर्ने सरकारको लक्ष्य छ ।