बुद्ध एयरले शुरु गर्‍यो जनकपुर - पोखरा हवाई सेवा, गण्डकीका मुख्यमन्त्रीलाई मधेसमा स्वागत

फागुन २३, काठमाडौं । बुद्ध एयरले जनकपुरधामदेखि पोखरासम्मको हवाई सेवाको शुरुवात शनिवारबाट गरेको छ । शुरुवाती समय भएकाले अहिले सातामा तीन दिन र पछि यात्रुको चाप हेरेर थप गरिने कम्पनीले बताएको छ । अहिले सोमवार, बिहीवार र शनिवार बुद्ध एयरको विमानले जनकपुरधाम–पोखरा उडान गर्नेछ। जनकपुरधामदेखि पोखरा उडानको क्रममा ४५ मिनेट जहाजलाई आकाशमा लाग्ने बताइएको छ । हवाईसेवाको शुभारम्भअन्तर्गत पहिलो उडानमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहितको १८ सदस्यीय टोली पोखराबाट जनकपुरधाम पुगेको छ। हवाई कनेक्टिभिटीअन्तर्गत शनिवारदेखि शुरु भएको हवाई सेवा अन्तर्गत पोखराको पहिलो फलाइटबाट मुख्यमन्त्री पोखरेलसहितको टोली मधेशमा भ्रमणमा गएका हुन् । मुख्यमन्त्रीको टोलीलाई स्वागत  मधेश प्रदेशका उद्योग, पर्यटन तथा वनमन्त्री सत्रुधन महतो तथा मधेश प्रदेशका मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दीले स्वागत गरेका थिए । उनले सञ्चारकर्मीहरुसँग कुरा गर्दै जनकपुर–पोखराको लागि हवाई कनेक्टिभिटिसँग जोडिनु ऐतिहासिक दिन रहेको बताए । । गण्डकी प्रदेशको समृद्धिको मुख्य आधार पर्यटन रहेको बताउँदै उनले मधेश प्रदेशको धार्मिक, पर्यटकीय क्षेत्रहरु र पोखराको रमणीय क्षेत्रलाई करिडोरको रुपमा जोड्न चाहेको बताए ।   गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको निमन्त्रणमा गत असोज ६ गते  मधेश प्रदेशका मुख्यमन्त्री राउत नेतृत्व टोलीले पोखरा भ्रमण गरेको थियो ।  प्रदेशबीच सम्बन्ध विस्तार गर्ने, अनुभव साट्ने र संघीयता सुदृढीकरणमा सहकार्य गर्नुका साथै पर्यटन प्रवर्द्धनका लागि अन्तर प्रदेश भ्रमण गरिएको गण्डकीका मुख्यमन्त्री पोखरेलले बताए । सांस्कृतिक महत्व बोकेको जनकपुर र पर्यटकीय महत्व बोकेको पोखराबीच हवाई यातायात सेवा भएपछि दुवै क्षेत्रको पर्यटकीय विकासमा टेवा पुग्ने विश्वास लिएको मुख्यमन्त्री पोखरेलको भनाइ छ  । टोलीमा अर्थमन्त्री रामजीप्रसाद बराल जीवन, उद्योग तथा पर्यटन मन्त्री मणिभद्र शर्मा कँडेल, प्रमुख सचिव रवीलाल पन्थ, पोखरा पर्यटन परिषद अध्यक्ष गोपिबहादुर भट्टराई, पोखरा उद्योग वाणिज्य संघ वरिष्ठ उपाध्यक्ष अर्जुन पोखरेल, नाट्टा पोखरा च्याप्टर अध्यक्ष सञ्जय सिग्देल, महासचिव कमला गिरीपर्यटन व्यवसायी एवं उद्योगी छन् । नेपाल टुर्स एन्ड ट्राभल्स एशोसिएसन (नाट्टा) पोखरा च्याप्टरले भ्रमणका लागि सहजीकरण गरेको छ । गण्डकी प्रदेशको राजधानी पोखराबाट सात ओटै प्रदेशमा एअर कनेक्टिभिटी बढाउने लक्ष्यका साथ प्रदेश सरकारले समन्वय गर्दै आएको छ । यसअघि मधेश प्रदेशको सिमरासम्म पोखराबाट बुद्ध एअरले उडान थालिसकेको छ । सुदूरपश्चिमको धनगढीमा पनि  गत बिहीवारबाट उडान शुुरु भएको छ । भैरहवा, नेपालगन्ज र भरतपुरमा पनि पोखराबाट उडान हुँदै आएको छ ।