पर्वत । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोरअन्तर्गत पर्वत जिल्लामा पर्ने खण्डको २० किलोमिटर सडक कालोपत्र गरिएको छ ।
पर्वतमा पर्ने ५५ किलोमिटर खण्डमध्ये २० किलोमिटर कालोपत्र गरिएको हो । बाँकी खण्डमा ट्रयाक खोलेर धमाधम कालोपत्र गर्न थालिएको कालीगण्डकी कोरिडोर आयोजना गैंडाकोट–राम्दी खण्डले जनाएको छ ।
आयोजना प्रमुख शंकर पौडेलका अनुसार रानीपानीदेखि फलेवास ढिकसम्मको २२ किलोमिटर खण्डमा बर्राचौरस्थित खबरको भीर र पाङराङदेखि फलेवासको ढिकसम्म ३ किलोमिटर कालोपत्र गर्न बाँकी छ ।
आयोजनाका अनुसार सेतीवेणीदेखि रानीपानीसम्मको ७ किलोमिटर तयारी अवस्थामा छ भने खबरको भीरमा ढलान भइरहेको छ । यस्तै पाङराङको कर्नास खोलादेखि फलेवास ढिकसम्मको सडकमा १ किलोमिटर बाहेक बाँकी खण्डमा कालोपत्रको अन्तिम तयारीमा रहेको आयोजनाले जनाएको छ ।
कुर्घाको भीरदेखि फलेवासको ढिकबीचको सडकमा काम गर्न केही समस्या भए पनि यो महीनाभित्रमा कर्नास खोलादेखि कुर्घा भीरसम्मको भागमा समेत कालोपत्र गर्ने तयारी भइरहेको आयोजना प्रमुख पौडेलले जानकारी दिए ।
आयोजना कार्यालयका अनुसार पर्वत खण्डको भौतिक प्रगति ६५ प्रतिशत भएको छ । कोरिडोरको अधिकांश ठाउँमा स्तरोन्नति भइ कालोपत्रे हुने चरणमा छ भने बाँकीमा ट्रयाक खोलेर फाउण्डेशनको काम भइरहेको छ ।
सडक कालोपत्र भएसँगै पर्वतको दक्षिणी भेगलाई सदरमुकाम पहुँचमा सहज भएको छ ।
आयोजनाका अनुसार छिटो काम सक्नका लागि धेरै निर्माण कम्पनीलाई खण्ड खण्डमा काम गर्न टेण्डर गरिएको छ । सेतीबेणीदेखि पर्वतको रानीपानीसम्म ७ किलोमिटर सडकमा प्यासिफिक जलजला जे.भी.ले कालोपत्रको काम शुरु गरिसकेको र केही दिनमा पूरा हुने आयोजनाले जनाएको छ ।
यो खण्डमा ६५ प्रतिशतभन्दा बढी सकिएको छ । रानीपानीदेखि फलेवास ढिकसम्मको २२ किलोमिटर सडकखण्डमा पनि कालोपत्र गर्न दुई निर्माण कम्पनीले धमाधम काम गरिरहेका छन् ।
सो खण्डको रानीपानीदेखि खबरको भीरसम्म ६ किमी सडकको काम महालक्ष्मी पाण्डे एण्ड कम्पनी जे.भी.ले गरेको छ । खबरको भिरदेखि फलेवास ढिकसम्मको सडकखण्डको १६ किमीमा स्वच्छन्द वर्डवाईड ओमबुद्ध जे.भी.ले स्तरोन्नति र कालोपत्र गरिरहेको छ । सेतीवेणीदेखि फलेवास सडकखण्ड यसै आर्थिक वर्षमा नै कालोपत्र सम्पन्न गर्ने लक्ष्य छ ।
यता फलेवासदेखि अर्मादीसम्मको भागमा भने सोचेअनुसार प्रगति भएको छैन । ढिकदेखि मोदीबेणीसम्मको भागमा ट्रयाक खुली केही स्तरोन्नतिका काम भए पनि अन्य फाउण्डेशनको काम हुन नसकेको बताइएको छ ।
यस्तै, मोदीबेणीदेखि अर्मादीसम्मको भागमा मोदीबेणीस्थित भीरमा काम गर्न समस्या भएकाले केही ढिलाइ भएको आयोजना प्रमुख पौडेलले बताए ।
कोरिडोरको मिर्मीमा मोटरेबल पुल, मोदीवेणीमा र सेतीवेणीमा पनि मोटरेबल पुलको काम सकिएको छ भने फलेवास र कुर्घाबीचको लमाए खोलामा पुल निर्माण शुरु गरिएको छ ।