नेप्सेको कारोबार ९० करोडमा झर्यो

आइतबार ६ अंकले बढेको नेप्सेमा दोस्रो दिन फेरि ४ अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन नेप्से सूचक ४.२९ अंकले घट्दै १९७३ अंकमा झरेको हो । यस दिन क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ०.८२ अंकले घटेर ३८२.९५ अंकमा झरेको छ । उसो त ४ अंकले घटेको बजारमा आज कारोबार रमक घटेर ९० करोड ९९ लाख रुपैयाँमा खुम्चिन पुगेको छ । यस दिन म्यानु एण्ड प्रो र माइक्रोफाइनान्स समूहको उपसूचक बाहेक अन्य सबै उपसूचक ऋणात्मक भएका छन् । आज सबैभन्दा बढी रिडी पावर कम्पनीको ९ करोड ९६ लाख ९४ हजार ७२१

सम्बन्धित सामग्री

अझै भएन नेप्सेमा सुधार, ५५ करोडमा झर्यो कारोबार

काठमाडौं, २५ असोज । साताको कारोबारको तेस्रो दिन मंगलबार पनि शेयर बजारमा सुधार हुन सकेन । नेप्से परिसुचक १६ दशमलव ६ अंकले घटेर १८५५ दशमलव १६ विन्दुमा थामिएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज ३ दशमलव २१ अंकले घटेर ३६५ दशमलव ६३ विन्दुमा रोकिएको हो । नेप्सेको अनुसार आज २२९ कम्पनीको ५५ करोड २७ […]

किन अस्थिर भयो शेयरबजार

प्रसिद्ध अमेरिकी आर्थिक पत्रकार चार्लिज डाउको विचारमा आधारित भई हेमिल्टन र नेल्सनलगायत विश्लेषकहरूको विचार, खोज र अनुसन्धानहरूको आधारमा डाउ सिद्धान्त प्रतिपादन भएको थियो । लामो समय वाल–स्ट्रिट जर्नलमा प्रकाशित चार्लिज डाउको विचारहरूले सामान्य अर्थमा शेयरबजारको कुनै पनि मूल्य प्रवृत्तिले औसतमा ४ वर्षको यात्रा तय गर्ने दाबी गरिएको छ । नेपालको नेप्से परिसूचकले चार्लिज डाउको सिद्धान्तलाई भरपुर पछ्याएको देखिन्छ । नेप्सेले सन् २००० नोभेम्बरमा उच्चतम ५ सय ४४ अंकको रेकर्ड बनाएको थियो भने त्यसको ४० महीनापछि सन् २००४ जनवरीमा न्यूनतम अंक २ सय आइपुगेको थियो । त्यसपछिको प्रवृत्तिले पनि क्रमशः ४–४ वर्षको अन्तराल अर्थात् सन् २००८ अगस्तमा सर्वाधिक १ हजार १ सय ७५, सन् २०१२ अगस्तमा न्यूनतम २ सय ९९, सन् २०१६ जुलाईमा अर्को सर्वाधिक १ हजार ८ सय ८८ र सन् २०१९ नोभेम्बरमा १ हजार १ सयको न्यूनतम टेवा लिएको थियो । नेप्सेको आजसम्मको बुलिश वा बियरिस प्रवृत्तिले न्यूनतम ३३ महीनादेखि अधिकतम ४८ महीनासम्मको अवधि निर्धारण गरेको देखिन्छ । नेपालको अर्थतन्त्रको समुन्नति र विकासका लागि पूँजीबजारको योगदान महत्वपूर्ण छ । तर, आर्थिक विकासका लागि पूँजीबजारलाई सापेक्ष बनाउनुपर्ने चुनौती भने विद्यमान छ । विश्वको पूँजीबजार इतिहासमा सधैं एउटै सिद्धान्त वा विचारले काम गर्छ भन्ने हुँदैन । विकसित मुलुकहरूको शेयर सूचकले ८ देखि १० वर्षसम्मको बुलिश प्रवृत्तिहरू बनाएको छ । अमेरिकाको शेयर सूचक डाउ जोन्स सन् २००९ यता बुलिश प्रवृत्तिमा नै छ, यद्यपि कोभिड–१९ महामारीताका सन् २०२० मार्चमा भने ४ वर्ष पुरानो अवस्थामा फर्किएको थियो । तर, त्यो ७ महीनाको अल्पकालीन समयमा नै पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ । भारतको अवस्था पनि अमेरिकाको भन्दा फरक छैन । कोभिड–१९ को महामारीताका ४ वर्ष पुरानो अवस्थामा पुगेको सूचकले पछिल्लो समय सर्वाधिक अंकको रेकर्डहरू कायम गरिरहेको छ । यस अर्थमा डाउ सिद्धान्तलाई ठूला मुलुकहरूका शेयरबजारहरूले प्रतिरोध पार गरिसकेको अवस्था छ । बुलिश बजारको अवस्था र सापेक्षता कोभिड–१९ को महामारी अगाडि शेयरबजार बढ्नुमा कुनै आर्थिक गतिविधि वा सूचकले प्रेरित गरेको देखिँदैन । कोरोना महामारी एवं निषेधाज्ञाको समयमा लगानीका हरेक क्षेत्र ठप्प रहेकाले सवैका लागि शेयरबजार निर्विकल्प बन्यो । अनलाइन कारोबारका कारण लगानीकर्ताले घरबाटै कारोबार गर्ने र शेयरबजारमा लगानी गर्ने मौका पाए । जसका कारण अत्यधिक नयाँ लगानीकर्ता बजारमा भित्रिए । निषेधाज्ञाको समयमा लगानीका वा व्यापारका अन्य क्षेत्रहरू खुम्चिँदा ब्याजदर घटेको र त्यो कर्जा शेयरबजारमा परिचालन भएको थियो । फलस्वरूप कोभिड–१९ को समयमा शेयरबजारको कारोबारमा ऐतिहासिक रेकर्डहरू देखियो । नेपालको शेयरबजारलाई स्वचालित एवं पूर्ण अनलाइनमा सञ्चालन गर्न ठूलै धक्का आवश्यक देखिन्थ्यो । न्युटनको चालको नियमझैं कोभिड–१९ को धक्काले अन्ततः बजारलाई आजको अवस्थामा रूपान्तरण गरेको देखिन्छ । अहिले कोभिड–१९ को महामारीबाट जनजीवन सामान्य भएसँगै अन्यत्र आर्थिक गतिविधिहरू सुचारू हुन थालेको छ । जसका कारण क्रमशः बैंकहरूमा कर्जाको माग व्यापक बढेको देखिन्छ । बैंकहरूसँग लगानीयोग्य पूँजीको अभाव भइसकेका कारण बैंकहरूले ब्याजदर धमाधम बढाउन बाध्य भएका छन् । बाध्यतावश बैंकहरूले ब्याजदर बढाए पनि पछिल्लो समयमा निक्षेप संकलनमा अपेक्षाकृत सुधार आएको छैन । असोजको पहिलो सातासमेत ८ सय ३२ करोड नयाँ निक्षेप संकलन भएको छ भने भदौको अन्तिम साता २६ सय ३० करोड निक्षेप संकलन भएको थियो । नयाँ निक्षेपको स्रोत पहिचान गर्न नसकेका कारण बजारमा लगानीयोग्य तरलताको अभाव चुलिँदै गएको छ । निक्षेपको स्रोतमा देखिएको समस्या सम्बोधन नभएकाले ब्याजदर बढाउँदाको नतीजा भने एउटा बैंकको पैसा अर्काे बैंकमा सर्ने अवस्थामा पुगेको छ । आर्थिक अवस्था र मुद्रा सञ्चिति समग्र मुलुकको आर्थिक सूचकहरू पछिल्लो समय नकारात्मक भएरहेको देखिन्छ । अहिले सरकारी खर्च बढेको छैन भने दातृ निकायको सहयोग एवं विप्रेषण आप्रवाह समेत घटेको देखिन्छ । आयात बढेपछि व्यापारघाटा मनग्य बढेको छ भने शोधनान्तर स्थिति, विदेशी मुद्रा सञ्चिति एवं मूल्य वृद्धिलगायत सूचकहरूमा अत्यधिक दबाब बढेको देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पहिलो महीनाको समग्र आर्थिक तथा वित्तीय स्थितिको सूचकहरू धेरै नकारात्मक देखिएका छन् । गत जेठ मसान्त १५ सय १५ करोडले घाटामा रहेको शोधनान्तर स्थिति असार मसान्तमा पुनः १ सय २३ करोडले बचतमा आएको थियो । तर पछिल्लो प्रतिवेदनअनुसार साउनमा शोधनान्तर स्थिति ३८ सय ७५ करोडले घाटामा छ जुन अघिल्लो वर्षको साउनमा ५१ सय ४६ करोडले बचतमा रहेको थियो । विदेशी मुद्राको सञ्चिति घट्ने क्रम पनि जारी रहेको देखिन्छ । असार मसान्तसम्म कुल विदेशी सञ्चिति १३ खर्ब ९९ अर्ब ३ करोड बराबर थियो भने साउनमा त्यो सञ्चिति ३ दशमलव २ प्रतिशतले घटेर घटेर १३ खर्ब ५३ अर्ब ८२ करोड रहेकोे छ । त्यससँगै चालू खातासमेत अधिक घाटामा पुगेको देखिन्छ । गतवर्षको साउनमा २५ सय ४१ करोड बचतमा रहेको चालू खाता यो वर्ष साउनमा ४७ सय ९० करोड घाटामा पुगेको छ । यस वर्षको साउनमा विप्रेषणमा पनि १८ दशमलव १ प्रतिशतले कमी आएको छ जुन अघिल्लो वर्षको सोही अवधिमा २३ प्रतिशतले बढेको थियो । गतवर्षको साउनमा ९२ सय ७१ करोड विप्रेषणका रूपमा नेपाल भित्रिएको थियो भने यो वर्षको सोही समयमा विप्रेषण आप्रवाह ७५ सय ९६ करोडमा सीमित रहन पुगेको छ । व्यापारघाटा समेत आव २०७८/७९ को पहिलो महीनामा ७० दशमलव ६ प्रतिशतले वृद्धि भई १ खर्ब २९ अर्ब ९७ करोड पुगेको छ जुन अघिल्लो वर्षको सोही अवधिको भन्दा २२ दशमलव २ प्रतिशतले बढी हो । नेपालको अर्थतन्त्रको समुन्नति र विकासका लागि पूँजीबजारको योगदान महŒवपूर्ण छ । तर, आर्थिक विकासका लागि पूँजीबजारलाई सापेक्ष बनाउनुपर्ने चुनौती भने विद्यमान छ । नेपालको पूँजीबजारमा आज पनि वास्तविक क्षेत्रको प्रवेश गराउनेदेखि दायरा विस्तार गर्नेलगायत विषयमा गतिरोध देखिएको छ । यस्ता गतिरोधहरूको समाधान गर्ने हो भने पूँजीबजार पनि दिगो, सम्पन्न र सबल अर्थतन्त्रको आधारशिलाका रूपमा स्थापित हुनसक्छ । नेपालको सन्दर्भमा अर्थतन्त्र र पूँजीबजारको सम्बन्ध सापेक्षता नदेखिए पनि आर्थिक तथा वित्तीय सूचकहरूले भने शेयरबजारलाई पनि प्रभावित पारिरहेको हुन्छ । शोधनान्तर स्थिति, विदेशी मुद्रा सञ्चिति, आयात वा निर्यात, मूल्यवृद्धि, मुद्रास्फीति वा विप्रेषण जस्ता आधारभूत आर्थिक सूचकहरू नकारात्मक भएसँगै त्यसको प्रभाव अहिले शेयरबजारमा परेको देख्न सकिन्छ । शेयरबजारको नियामक निकायका नेतृत्व गर्ने पात्रहरूका कारण नियामकको संस्थागत चरित्रमा दाग लागेको छ भने बजारले लगानीकर्ताको विश्वासनीयतासमेत गुमाएको छ । उपभोग चक्र र बजारको तरलता सन् २०१५/१६ को तथ्यांक विभागको घरधुरी सर्वेक्षणलाई आधार मान्ने हो भने नेपालीको औसत वार्षिक उपभोग खर्च औसत ३ दशमलव ५ रहेको छ । त्यसमध्ये औसत ५४ प्रतिशत खर्च खाद्यान्नका लागि हुने गरेको देखिन्छ । नेपालको कुल राष्ट्रिय उपभोगको १९ प्रतिशत खर्च दशैंको अवधिमा हुने देखिन्छ भने प्रतिपरिवार औसत दशैंखर्च ७० हजार निस्कने देखिन्छ । औसत उपभोग्य खर्चलाई आधार मानेर हेर्ने हो भने ५२ लाख घरधुरीको दशैंको कुल बजेट ३ खर्ब ५० अर्ब पुग्ने देखिन्छ । नेपालको उपभोग मूलतः आयातमा निर्भर छ भने दशैंको मुखमा हुने गरगहना, विद्युतीय उपकरणहरू वा गाडीहरूसहित कुल आयातको अंक १ खर्बभन्दा बढी हुने गर्छ । अर्थात् नेपालीहरूले प्रयोगमा ल्याएका गरगहना, विद्युतीय उपकरणहरू वा गाडीदेखि खाद्यान्न र लत्ताकपडा समेतमा आयातको भरथेग देखिन्छ । यसअर्थमा नेपालको कुल दशैंको खर्च ४ खर्बभन्दा बढी वा कुल गार्हस्थ्य उत्पादनको १९ प्रतिशत र कुल वार्षिक बजेटको एक तिहाइभन्दा बढी हुने अनुमान गर्न सकिन्छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार प्रत्येक आर्थिक वर्ष पहिलो त्रैमासिक अवधिमा वर्षभरिको कुल विप्रेषणको २५ देखि ३० प्रतिशत रकम भित्रिने गरेको छ । यो अवधिको अधिकांश विप्रेषणले उपभोगलाई बढाउने देखिन्छ । त्यसअतिरिक्त नेपाल राष्ट्र बैंकको तयारीअनुसार पनि चक्रीय प्रणालीभित्र रहेर दशैंको समयमा ३५ अर्बभन्दा बढी नयाँ नोट जारी गरेको छ । सरकारी तथा गैरसरकारी तहबाट ८० अर्बभन्दा बढी रकम दशैंका लागि कर्मचारी खर्चका रूपमा वितरण हुन्छ । यो समयमा बैंक तथा वित्तीय संस्थाबाट बाहिरिएको पैसा उपभोगमा नै खर्च हुने देखिन्छ । खर्चको रूपमा बजारमा पुगेको रकम फेरि औपचारिक माध्यमबाट बैंकमा पुग्न अर्को १ महीना लाग्नसक्ने देखिन्छ । नेपाल राष्ट्र बैंकका अनुसार ठूला चाडपर्व आसपास अधिकांश वस्तुको मूल्य बढ्ने र उपभोगमा आधारित मूल्यवृद्धि अधिक हुने गरेको छ । वस्तु वा सेवाको बजार मूल्यसमेत सामान्य अवस्थाको भन्दा बढी हुने कारणले दशैं वा चाडपर्वको समयमा उपयोग हुने मुद्रा औसतभन्दा बढी हुनसक्छ । यसर्थ धेरै पैसा उपभोगका लागि परिचालन हुने भएकाले त्यसको असर निक्षेप संकलनमा समेत पर्छ । फलस्वरूप निक्षेपको ब्याजदर वृद्धिको सूचना प्रकाशित गर्न बैंकहरू बाध्य भएका छन् । पछिल्लो समय बजारको दबाबका अतिरिक्त राष्ट्र बैंकले मौद्रिक नीतिले समेत ब्याज बढाउन बैंकहरू बाध्य बनेको छ । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत बैंकहरूले सीसीडी अनुपातको सट्टा सीडी अनुपात कायम गर्नुपर्ने प्रावधान राखेको थियो । जसले गर्दा बैंकहरूमा लगानीयोग्य रकम कम हुन गएको र चाडपर्व नजिकिएसँगै बैंकहरूबाट निक्षेप बाहिरिने क्रम बढेको छ । नीतिगत परिवर्तन र स्वार्थकेन्द्रित अराजक समूह नेपाल राष्ट्र बैंकले सीडी अनुपातको अतिरिक्त शेयर धितो कर्जामा समेत फरक प्रावधानको व्यवस्था ग¥यो । मौद्रिक नीतिमा एउटा बैंक वा वित्तीय संस्थाले एक व्यक्ति वा संस्थालाई शेयर धितोमा बढीमा ४ करोड र शेयर धितो राखेर एक व्यक्ति वा संस्थाले विभिन्न बैंक वा वित्तीय संस्थाबाट बढीमा १२ करोड रुपैयाँ कर्जा लिन पाउने नयाँ व्यवस्था गरेको थियो । त्यसैगरी बैंक तथा वित्तीय संस्थालाई शेयर कारोबार गर्न समेत कडाइ गरी बैंकहरूलाई लघुवित्तको शेयर खरीदमा निश्चित प्रतिबन्ध लगाइएको थियो । उल्लिखित कतिपय प्रावधान प्रभावकारी नियमनका दृष्टिकोणले सान्दर्भिक पनि देखिन्छन् । जोखिमरहित तरलताको व्यवस्थापन र समान रूपले शेयर धितो कर्जा प्रवाह गर्ने कार्यलाई उल्लिखित नीतिगत प्रावधानले टेवा दिएको छ । तर, नयाँ नीतिगत प्रावधान ल्याउने समयको सन्दर्भमा भने नेपाल राष्ट्र बैंक चुकेको छ । यसले गर्दा बजारमा अराजक समूहले खेल्ने प्रशस्त मौकासमेत पाएको र बजारलाई अस्थिरतातर्फ धकेलेको प्रतीत हुन्छ । अराजक समूह र प्रवृत्तिले नै गर्दा बजारमा नराम्रो पर्फमेन्स भएका कम्पनीको समेत मूल्य अस्वाभाविक उचालिएको थियो । केही त्यस्ता नराम्रो पर्फमेन्स भएका कम्पनीको मूल्य घट्नुलाई स्वाभाविक लिन सकिन्छ । तर, बजारमा आफूलाई प्राप्त प्रतिकुल अवसरको उपयोग गरेर राम्रा कम्पनीको समेत मूल्यमा चलखेल भएको देखिन्छ । त्यसको अतिरिक्त पछिल्लो समय नियामक निकायहरूका नेतृत्व नै बजारमा चलखेल गर्न सफल भएका छन् । नेपाल धितोपत्र बोर्डदेखि नेप्सेका प्रमुखहरू समेत अवैधानिक रूपमा शेयर किनबेचमा सामेल भएको पुष्टि भइसकेको छ । शेयरबजारको नियामक निकायका नेतृत्व गर्ने पात्रहरूका कारण नियामकको संस्थागत चरित्रमा दाग लागेको छ भने बजारले लगानीकर्ताको विश्वासनीयता समेत गुमाएको छ । साथै, स्वार्थकेन्द्रित लगानीकर्ताको विभिन्न समूहहरूले आफूअनुकूलका अभियान वा आन्दोलनहरू सञ्चालन गर्ने प्रवृत्ति देखिन्छ । नियामकलाई अनुचित दबाब दिने र प्रायोजित रूपमा उपलब्ध सूचनाहरूको समेत दुरुपयोग गर्नेहरूको समूहसमेत ठूलो रहेको छ । बजारमा गिरावट आउनै नहुने भन्ने प्रवृत्ति बजारको स्वतन्त्र विकासका लागि बाधक हो । यस समयमा पूँजीबजारको प्रतिफलले सबैलाई आकर्षित गर्ने परिस्थिति छ । तर, त्यसअनुसार पूँजीबजारमा लगानीकर्ताको आकर्षण देखिँदैन । अर्थात्, सापेक्ष अर्थतन्त्रको विकल्पको आधार रूपमा पूँजीबजारले आफ्नो मार्ग तय गर्न नसकेका कारण निश्चित क्षेत्रका कम्पनी र सीमित वर्गका मानिसहरू पूँजीबजारको हाताभित्र अटाएका छन् । तसर्थ पूँजीबजारको आकारलाई अर्थतन्त्रको क्षेत्रगत अंशका आधारमा विस्तार गर्नु आजको आवश्यकता हो । तसर्थ सरकारले समेत धितोपत्र बोर्डलाई थप बलियो बनाउने र नियामक निकायको रूपमा प्राप्त कार्याधिकारलाई फराकिलो र गतिशील बनाउन जरुरी छ । निश्चित अधिकारसहित धितोपत्रको विषयमा कानूनको मस्यौदा, पैरवी र न्यायिक अधिकारसमेत धितोपत्र बोर्डलाई दिने व्यवस्था गर्न आवश्यक छ । शेयरबजार सधैं बढिरहनुपर्छ भन्ने मान्यता राख्नु गलत हो । बजार कुनै बेला घट्छ, कुनै बेला बढ्छ, यो बजारको स्वाभाविक लय हो । कुनै पनि कम्पनीको मूल्य सधैं बढ्छ वा बढ्नुपर्छ भन्ने हुँदैन । बजारमा लगानी गर्न, उच्च प्रतिफल लिन र जोखिम न्यूनीकरणका लागि समयलाई चिन्नु आवश्यक छ । कुन समयमा कस्तो प्रकारको प्रवृत्ति तयार हुन्छ, सोहीअनुरूप लगानीको निर्णय लिनु आवश्यक छ । शेयरको लगानीले सधैं राम्रो प्रतिफल दिन्छ भन्ने हुँदैन । उपयुक्त समयअनुसार योजना बनाएर लगानी गर्नु जोखिमरहित हुन्छ । शेयरमा लगानी गर्ने धेरैको आफ्नै अनुभवहरू हुन्छन् । सफल, असफल वा पैसा कमाउने वा नकमाउनेहरूको समेत आआफ्नै अनुभवहरू हुन्छन् । आफ्नो अनुभवका आधारमा सबल आत्मविश्वास र दृढता पाल्ने हो भने बजारबाट अपेक्षित प्रतिफल लिन सकिन्छ । आफ्नो लगानी नै भरोसा गर्नु र आफैले जानेर विवेकपूर्ण निर्णय गर्नु आवश्यक छ । अरूको पछाडि दौडने प्रवृत्ति त्यागेर आधारभूत विषयहरूमा अध्ययन गरी निर्णय लिने क्षमता वृद्धि गर्नु नयाँ लगानीकर्ताले आवश्यक छ । लगानीको उचित प्रतिफल लिन धैर्य अति आवश्यक हुन्छ । अस्थिर मानसिकताले गरेको लगानीले जोखिमसमेत निम्त्याउन सक्ने देखिन्छ । शेयरबजारको लगानीले केही दिन वा हप्तामा नै अथाह कमाउने सपना देख्नु अस्वाभाविक हो । यस्तो उच्च महत्त्वाकांक्षा वा यथार्थपरकभन्दा बाहिरको अपेक्षाले लगानीकर्तालाई हित गर्दैन । तसर्थ प्रत्येकले शेयर खरीदभन्दा अगाडि इतिहास देखि वर्तमानसम्मको कम्पनीको कार्यप्रगति मूल्यांकन गर्नु आवश्यक छ । बजारमा प्रवेश गरेपछि इमोशन वा इगो र आफूभित्रको डर र लोभलाई नियन्त्रण लिन आवश्यक छ । साथै बजारशाट शेयर बेच्ने समयमा पनि कतिपय अवस्थामा पैसा गुमाउने डरले हतारमा निर्णय गर्ने गरिन्छ र त्यसले समेत नोक्सानी बेहोर्ने अवस्था आँउछ । कतिपय अवस्थामा आफूले लगानी गरेको रकमको मूल्य तल झरे पनि कुनै समय त्यो फिर्ता आउछ भन्ने दृढता पाल्नु आवश्यक छ । लगानीकर्ताले जुन आत्मविश्वासका साथ लगानी गरिएको छ त्यही आत्मविश्वासका साथ धैर्य गर्नु आवश्यक छ । लेखक आर्थिक विकास अनुसन्धान केन्द्र (नारेक) नेपालका निर्देशक हुन् ।

पूँजीबजारमा प्रगति

.पूँजीबजार पछिल्लो समय पूँजी बढाउने बजारको रूपमा सावित भएको छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीका कारण अर्थतन्त्रका सबैजसो क्षेत्र अस्तव्यस्त बनेको छ । २०७६ चैत ११ गतेदेखि शुरू भएको बन्दाबन्दीपछि अर्थतन्त्रमा समस्या देखिन थालेको छ । अहिले पनि देशका अधिकांश ठाउँमा निषेधाज्ञा जारी छ । कोरोनाका कारण नेपालको मात्र नभई विश्वकै अर्थतन्त्रमा नकारात्मक असर परेको छ । किसानदेखि देशका ठूला व्यापारीहरूको आम्दानीमा असर परेको छ । किसानहरूको उत्पादन बारीमै कुहिएको अवस्था छ । ठूला व्यापारीहरू साना आम्दानीमै सीमित भई अर्बौं घाटा बेहोरेर बस्न बाध्य भएका छन् । तर, पूँजीबजार भने यसको विपरीत गतिमा देखिएको छ । नेपालमा कोरोना संक्रमण भित्रिएलगत्तै पूँजीबजारले गति लिएको पाइन्छ । त्यसअघिका निरन्तर ३ वर्षभन्दा बढी समय घटेको नेपालको पूँजीबजार कोरोनाकालमा भने निरन्तर बढिरहेको छ । २०७५ फागुन १९ गतेदेखि बजार बढ्न थालेको देखिन्छ । उक्त दिन बजार १ हजार १०० दशमलव ५८ विन्दुमा थियो । साउन ३२ गतेसम्मको तथ्यांक हेर्दा नेपालको शेयर बजार ३ हजार १६० दशमलव शून्य ५ विन्दुमा पुगेको छ । यो बीचमा बजार २ हजार ६० अंक बढिसकेको छ । कोभिड जोखिमका बीच पूँजीबजारलाई निरन्तर चलायमान बनाउनका लागि नियामक निकाय र बजार सम्बद्ध निकायहरूले पूर्ण अनलाइन कारोबार प्रणालीको प्रभावकारी कार्यान्वयनका लागि सकारात्मक कदम चालेको देखिन्छ । खाता खोल्ने, शेयर किनबेच तथा रकम भुक्तानी जस्ता सबैजसो काम घरमै बसेर अनलाइनमार्फत नै गर्ने व्यवस्था गरिएको छ । प्राथमिक बजारमा आईपीओ खरीद गर्नका लागि होस् या दोस्रो बजारमा शेयर खरीदविक्रीका लागि अनलाइन कारोबार प्रणालीमा आबद्ध हुन लगानीकर्ताले घरबाटै सबै प्रक्रिया पूरा गर्न सक्ने अवस्था छ । यही सहज वातावरणकै कारण देशभित्र र देशभन्दा बाहिरका नेपाली नागरिकले पूँजीबजारमा आफ्नो पहुँच पु¥याउन सफल भएका छन् । पूँजीबजारको आकार (साउन मसान्तसम्म) नेपालको शेयर बजारको आकार २०७८ साउन ३२ गतेसम्मको तथ्याङ्क अनुसार रू. ४४ खर्ब १४ अर्ब ११ करोड १० लाख रहेको छ । धितोपत्र दोस्रो बजारमा २०० भन्दा बढी कम्पनीहरू सूचीकृत रहेका छन् । विगत एक वर्षको तथ्यांक हेर्ने हो भने कुल बजार पूँजीकरण करीब रू. २७ खर्बले बढेको छ । २०७७ साउन ३२ गते नेपालको पूँजीबजारको कुल पूँजीकरण रू. १७ खर्ब ३६ अर्ब ७९ करोड ४० लाख थियो । कुल बजार पूँजीकरणमा वाणिज्य बैंकहरूको सर्वाधिक हिस्सा छ । २७ वाणिज्य बैंकहरू सञ्चालनमा रहे तापनि राष्ट्रिय वाणिज्य बैंक बाहेक २६ वाणिज्य बैंकहरू सूचीकृत छन् । कुल बजार पूँजीकरणमा सर्वाधिक हिस्सा नबिल बैंकले ओगटेको छ । साउन मसान्तसम्ममा नबिलको प्रतिकित्ता अन्तिम शेयरमूल्य रू. १ हजार ५०७ दशमलव ४० रहेको छ । बैंकको १३ करोड ८४ लाख ४४ हजार ५१२ कित्ता शेयर सूचीकृत रहेको छ । उक्त दिनसम्म यस बैंकको कुल बजार पूँजीकरण रू. २ खर्ब ८ अर्ब ६९ करोड १२ लाख ५७ हजार रहेको छ । कुल बजार पूँजीकरणमा नबिलको हिस्सा ५ दशमलव ४३ प्रतिशत रहेको छ । एक वर्षमा २५ कम्पनीले पाए आईपीओ विक्रीको अनुमति पछिल्लो एक वर्षमा मात्र नेपाल धितोपत्र बोर्डबाट २५ कम्पनीले आईपीओ निष्कासनका लागि स्वीकृति पाएका छन् । २०७७ साउनदेखि २०७८ साल साउन मसान्तसम्ममा ती कम्पनीहरूले आईपीओ विक्रीका लागि बोर्डबाट अनुमति पाएका हुन् । एक वर्षमा अनुमति पाएका २५ कम्पनीहरूमध्ये १६ कम्पनीहरू धितोपत्र दोस्रो बजारमा आईपीओ विक्रीपश्चात् सूचीकृत भइसकेका छन् । दोस्रो बजारमा थपिने यी कम्पनीहरूमा ६ बीमा कम्पनी, चार लघुवित्त कम्पनी, दुई अन्य समूह अन्तर्गतका कम्पनी, एक लगानी कम्पनी र तीन जलविद्युत् कम्पनी छन् । २०७७ साउनदेखि २०७८ साउन असार मसान्तसम्ममा नेपाल धितोपत्र बोर्डले २५ कम्पनीलाई रू. १५ अर्ब १७ करोड ८३ लाख २८ हजार ७०० बराबरको आईपीओ विक्री गर्न अनुमति दिएको छ । साउनमा थप ३ जलविद्युत् कम्पनीले रू. १ अर्ब ५७ करोड ५० लाख बराबरको आईपीओ विक्रीको अनुमति बोर्डबाट पाएका हुन् । पूँजीबजारमा पहुँच विस्तारको अवस्था पूँजीबजारको आकार दिनप्रतिदिन बढ्दै जानुको एउटा मुख्य कारण यस क्षेत्रमा नयाँ लगानी थपिँदै जानु पनि हो । कोभिडका कारण जनजीवन घरभित्रै सीमित हुन थालेसँगै घरबाटै कारोबार गर्न सकिने पूँजीबजारमा लगानी बढ्न थालेको हो । नेपालभित्रबाट मात्र होइन, विदेशका विभिन्न ठाउँबाट पनि पूँजीबजारमा लगानी भित्रिएको नेप्सेको भनाइ छ । एक वर्षअघिसम्म दोस्रो बजारमा करीब २ लाख लगानीकर्ता सहभागी भई कारोबार गरिरहेकोमा अहिले ८ लाखभन्दा बढी लगानीकर्ता सक्रिय रूपमा सहभागी भइरहेको नेप्सेका प्रवक्ता मुराहरि पराजुली बताउँछन् । विगत १ वर्षमा पूँजी बजारमा भित्रिएका नयाँ कम्पनीहरूको शेयरबाट लगानीकर्ताले राम्रो आम्दानी गरेकाले पनि बजारप्रति लगानीकर्ता सकारात्मक देखिएको प्रवक्ता पराजुलीको भनाइ छ । प्रविधिमैत्री लगानी वातावरणले ६ लाखभन्दा बढी लगानीकर्ता १ वर्षमा दोस्रो बजारमा थपिएकाले पनि बजारले सकारात्मक गति लिएको बुझाइ उनको छ । दोस्रो बजारसँगै प्राथमिक बजारमा पनि लगानीकर्ताको सहभागिता २४ लाख नाघेको छ । पछिल्लो समय मानुषी लघुवित्तको आईपीओ खरीदका लागि २४ लाखभन्दा बढीले आवेदन दिएका छन् । सीडीएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार साउन मसान्तसम्ममा ४० लाख ७३ हजार ९१० ले हितग्राही खाता खोलेका छन् भने ३१ लाख ६८ हजार ४८४ मेरो शेयर प्रयोगकर्ता छन् । चालू आवमा पूँजीबजारका लागि भएका नयाँ व्यवस्था चालू आर्थिक वर्षदेखि पूँजीबजार धितोपत्र कारोबारमा केही नयाँ व्यवस्थाहरू लागू भएका छन् । साउन १ गतदेखि नै लागू हुनेगरी नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले संशोधित धितोपत्र कारोबार सञ्चालन (दोस्रो संशोधन ) विनियमावली, २०७८ को व्यवस्था बमोजिम प्रारम्भिक कारोबार सत्रको मूल्य सीमा र धितोपत्र कारोबारमा न्यूनतम मूल्य परिवर्तनको सीमा घटाएर लागू गरेको छ । यसअघि ५ प्रतिशत रहेको मूल्य परिवर्तनको सीमा साउन १ गतेदेखि २ प्रतिशतमा झारेको हो । त्यस्तै धितोपत्र कारोबार हुँदा यसअघिको न्यूनतम एक रुपैयाँको सीमालाई घटाएर १० पैसामा झारिएको छ । प्रारम्भिक र नियमित सत्रमा लागू हुनेगरी यसै वर्षदेखि यी नयाँ व्यवस्था थप भएका हुन् । त्यस्तै, गत साउन १ गतेदेखि व्यक्तिगत लगानीकर्ताका लागि फरक फरक पूँजीगत लाभकर लागू भएको छ । यसअघि समान ५ प्रतिशत पूँजीगत लाभकर तिर्दै आएका लगानीकर्ताले साउन १ गतेदेखि ७ दशमलव ५ प्रतिशतसम्म पूँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था लागू भएको हो । सरकारले यस वर्षको बजेटमा धितोपत्र कारोबारमा सहभागी व्यक्तिगत लगानीकर्ताका लागि दुई प्रकारको पूँजीगत लाभकरको व्यवस्था गरेको हो । दीर्घकालीन लगानीलाई प्रोत्साहन गर्ने उद्देश्य अनुरूप सरकारले दीर्घकालीन लगानीकर्ताको हकमा ५ प्रतिशत र अल्पकालीन लगानीकर्ताको हकमा ७ दशमलव ५ प्रतिशत पूँजीगत लाभकरको व्यवस्था गरेको हो । अब ३६५ दिनभन्दा अघि खरीद गरेको शेयर विक्री गर्दाको नाफामा ७ दशमलव ५ प्रतिशत पूँजीगत लाभकर र ३६५ दिनभन्दा बढी समय शेयर कायम गरी विक्री गर्दाको नाफामा भने ५ प्रतिशत लाभकर तिर्नुपर्ने व्यवस्था सरकारले गरेको छ । यस वर्षदेखि सामूहिक लगानीकोषहरूलाई भने पूँजीगत लाभकर नलाग्ने व्यवस्था सरकारले गरेको छ । यस वर्षको मौद्रिक नीतिमार्फत शेयर धितो राखेर विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिने कर्जाको सीमा ७० प्रतिशत यथावत् राखिए पनि यस प्रकारको कर्जा रकमको सीमा भने रू. १२ करोडमा सीमित गरिएको छ । यस वर्षको मौद्रिक नीतिले यस प्रकारको कर्जा एक व्यक्ति वा एक संस्थाले बढीमा रू. १२ करोडसम्म लिन सक्ने व्यवस्था गरेको छ । यो कर्जा एक वित्तीय संस्थाबाट अधिकतम रू. ४ करोड र समग्र वित्तीय प्रणालीबाट अधिकतम रू. १२ करोडसम्म लिन सक्ने व्यवस्था गरिएको हो । बजार सुधारका आगामी महत्वपूर्ण योजनाहरू : पूँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड आगामी दिनमा पूँजीबजारको विकास र विस्तारका लागि महत्वपूर्ण कार्ययोजना सहित अघि बढेको छ । बोर्डले धितोपत्र कारोबार व्यवस्थापन प्रणालीलाई प्रभावकारी बनाउने, ऋणपत्र बजारलाई गतिशील बनाउने, नयाँ संस्थागत र प्रदेशगत धितोपत्र दलाल व्यवसायीलाई बजार प्रवेश गराउने, संस्थागत व्यवसायलाई प्रवद्र्धन गरी सेवालाई प्रतिस्पर्धी एवम् सर्वसुलभ बनाउने कार्यलाई प्राथमिकतामा राखेको छ । चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरिरहेको बोर्डले यी कुराहरूलाई प्राथमिकतामा राखेको बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाको भनाइ छ । उनका अनुसार दोस्रो बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र केन्द्रीय निक्षेप सेवा तथा कारोबारको राफसाफ तथा फछ्र्योट सेवा प्रदायक सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी)को संरचनात्मक सुधार गरी क्षमता अभिवृद्धि गर्दै राफसाफ कोष समेत शीघ्र सञ्चालनमा ल्याउने व्यवस्था बोर्डले गर्नेछ । समग्रमा धितोपत्र बजारलाई प्रतिस्पर्धी एवं विश्वसनीय बनाउने, स्टक एक्सचेञ्जमा कारोबारका लागि एसएमईका लागि छुट्टै प्लेटफर्मको स्थापना गर्ने, नेप्से परिसूचक तथा बजार परिसूचकहरूको गणना विधिमा सुधार गरी बढी यथार्थपरक बनाउने, वस्तु विनिमय बजार सञ्चालन गर्ने, इक्विटी डेरिभेटिभ्स लगायतका लगानीका उपकरणहरू थप्ने र समग्रमा पूँजी बजारसम्बन्धी सेवाहरूलाई प्रविधिसँग जोड्ने रणनीतिक योजनाका साथ बोर्ड अघि बढेको अध्यक्ष ढुंगानाको भनाइ छ ।