नबिल बैंक र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच सम्झौता

काठमाडौं (अस) । नवीकरणीय ऊर्जा आयोजनाको प्रवर्द्धनका लागि नबिल बैंक र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच सम्झौता भएको छ । आयोजनाहरूको प्रवर्द्धनका लागि केन्द्रसँग ऋण नोक्सान ग्यारेन्टी सम्झौता गरिएको नबिल बैंकले जानकारी दिएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र कोषका कार्यकारी निर्देशक मधुसूदन अधिकारीले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार कुनै पनि नवीकरणीय ऊर्जा आयोजनालाई दिइएको कर्जाको भुक्तानी नभएमा उक्त कोषले उक्त कर्जाको २० प्रतिशत साँवासम्मको सुरक्षण प्रदान गर्नेछ । शुरूमा जमानतले १० करोड रुपैयाँसम्मको सुरक्षण प्रदान गर्ने सम्झौतामा उल्लेख छ । यो सम्झौताको कार्यान्वयनले दिगो ऊर्जा स्रोतको प्रवर्द्धन गर्ने र नवीकरण ऊर्जामा बलियो लगानी निर्माण गर्ने अपेक्षा गरिएको बैंकले बताएको छ । सम्झौतापत्रमा हस्ताक्षर कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, केन्द्रीय नवीकरणीय ऊर्जा कोष, नेपाल नवीकरणीय ऊर्जा कार्यक्रम र बैंकका उच्चपदस्थ कर्मचारी समेतको उपस्थिति थियो ।