विद्युत प्राधिकरणका कर्मचारीहरुलाई १० दिन पर्यटन विदा दिने प्रस्ताव, ससुराली जान नपाईने

नेपाल विद्युत प्राधिकरणले कर्मचारीहरुलाई पर्यटन विदा दिने प्रस्ताव गरेको छ। नेपाल सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष ७८/७९ को बजेटमा गरिएको पर्यटन विदाको ब्यबस्थालाई प्राधिकरणले कार्यन्वयनमा ल्याउन प्रस्ताव गरेको हो ।जस अनुसार प्राधिकरणले नेपाल सरकारले तोकेको होमस्टे तथा भौगोलिक, प्राकृतिक, धार्मिक, सामाजिक, सांस्कृतिक तथा एतिहासिक पर्यटकीय गन्तव्य स्थलहरुमा नेपाल विद्युत प्राधिकरणबाट नियुक्त कर्मचारी (स्थायी, म्यादी, करार र ज्यालादारी) लाई निजले रोजेको स्थानमा भ्रमण गर्न प्रत्येक वर्ष दुई पटक गरी बढीमा १० दिनको पूरा तलब सहितको पर्यटन बिदा दिन प्रस्ताव गरेको छ । प्रस्तावित ब्यबस्था अनुसार पर्यटन बिदा लिने कर्मचारीले विदा अवधि भुक्तान भएको ३५ दिन भित्र आफु कार्यरत कार्यालयमा प्रतिवेदन पेश गर्नुपर्ने छ।  पर्यटन बिदा लिने कर्मचारीले आफ्नो स्थायी ठेगाना र ससुराली रहेको स्थानमा भ्रमणमा जान पाउने छैन ।  कर्मचारीले पर्यटन बिदामा जानुपूर्व अधिकार प्राप्त अधिकारी बाट बिदा स्वीकृत गराउनुपर्ने छ। अधिकार प्राप्त अधिकारीले कार्यालयको कार्य सम्पादनमा असर नपर्ने गरी आफु मातहतका कर्मचारीहरुलाई आलोपालो गरी एक आर्थिक वर्षको अवधि भित्र मातहतका सबै कर्मचारीलाई पर्यटन बिदा दिनुपर्ने छ।पर्यटन बिदा अवधिलाई सार्वजनिक बिदा बाहेक EPR प्रयोजनको लागि हाजिरी गणना गरिने र पर्यटन बिदा सञ्चित नहुने प्रस्ताव गरिएको छ।