नेपालको आधुनिक शैक्षिक इतिहासको शुरुआत सन् १८५४ मा जंगबहादुर राणाबाट आफ्ना भाइ भारदारहरूलाई अंग्रेजी भाषामा पोख्त बनाउने गरी स्थापना गरिएको दरबार हाइस्कूलबाट प्रारम्भ हुन्छ । तत्पश्चात् नेपालका अधिकांश शैक्षिक गतिविधिहरू नेपालको निजामती प्रशासनलाई आवश्यक पर्ने जनशक्ति तयार गर्ने, त्यस्तै प्रकारका विद्यार्थीहरू तयार गर्ने शिक्षणसंस्थाहरूका लागि शिक्षक जनशक्ति उत्पादन गर्ने दिशामा केन्द्रित रहेको पाइन्छ । विज्ञान विषय किन पढ्ने भन्ने विषयमा उत्तर खोज्दा अझै पनि कि डाक्टर बन्न कि त इन्जिनीयर बन्न कि त शिक्षक बन्न भन्ने सहज जवाफ पाइन्थ्यो । व्यवस्थापन किन पढ्ने भन्ने विषयको सहज उत्तर हरेक विद्यार्थीको जिब्रोमा लगभग एकैप्रकारको हुन्थ्यो अर्थात् व्यवस्थापक बन्ने, बैंकमा जागीर खाने । अर्थशास्त्रको विद्यार्थीहरूलाई यही प्रश्न सोध्ने हो भने उनीहरूमा पनि उही उत्तर हुन्थ्यो– बैंक तथा वित्तीय संस्थामा जागीर खाने, नभए कलेज, विश्वविद्यालयतर्फ अध्यापन कार्य गर्ने ।
विद्यार्थीको योग्यताअनुसार प्रश्न गर्ने हो भने पनि उत्तर यस्तै आउँछ । अब्बल दर्जाको विद्यार्थीको पहिलो रोजाइ सरकारी जागीर र दोस्रो रोजाइ शिक्षण पेशा हुने गर्दछ भने सामान्य दर्जाका विद्यार्थीहरूको पहिलो रोजाइ सेना, प्रहरीमा भर्ती हुने गर्छ । त्यस बाहेकका विद्यार्थीको पहिलो रोजाइ लाहुर जाने, विदेशमा जागिरी खाने नै हुने गर्दछ ।
विश्वमा उदारीकरण, वैश्वीकरण, आप्रवासनमा खुकुला नियमहरू, विकसित मुलुकमा आएको जनसंख्या संकुचनका कारण सृजित श्रम अभाव, सूचनाप्रविधि र यातायातमा आएको चामत्कारिक विकास आदि कारणले विश्व एउटा ग्राममा रूपान्तरण भएको वर्तमान अवस्थामा नेपाली विद्यार्थीको जिब्रोमा एउटै जवाफ रहेको हुन्छ – विदेश जाने । अधिकांशको भित्री उद्देश्य अध्ययन नभई श्रमिकका रूपमा नेपालको भन्दा उच्चस्तरको जीवनयापन गर्ने ध्याउन्नमा केन्द्रित रहेको हुन्छ । केही सफलताका उदाहरण हुँदाहुँदै विशेषतया भारतीय उद्यमीहरूका उद्योग प्रकल्पहरूमा काम गर्नु अधिकांश नेपालीहरूको नियति नै हुनु पुगेको छ ।
शिक्षाको यही प्रवृत्तिका कारण नेपालमा उद्यमशीलताको जग बसाल्ने समुदायमा समेत जागीरे प्रवृत्ति हावी भएको छ । फलस्वरूप मुलुकमा उद्यमशीलताको अवसानसँगै उद्योग व्यवसाय दिनानुदिन ओह्रालो लागिरहेको छ । समाजमा व्याप्त जागीरे मानसिकताको सर्वव्यापकताका माझ मुलुक नेपालीविहीन हुने अवस्था सिर्जना भएको छ । आज पहाडको टुप्पोमा बसेर जसरी मानवविहीन घरहरूको दृश्य अवलोकन गर्न पाइन्छ सोही प्रकृतिको दृश्य अबका केही समयमा नेपालका गतिशील शहरहरूमा पनि अवलोकन गर्न पाइने अवस्थाको सिर्जना हुँदै गएको छ । विदेशतिर मानवजीवन रहित शहरलाई भूत शहर भनेझै सिंगो नेपाल नै केही दशकमा भूत राष्ट्रका रूपमा रूपान्तरण हुने सम्भावना देखिएको छ, वर्तमान समयमा युवाहरूको विदेश भ्रमणको प्रवृत्तिलाई हेर्दा ।
यसका लागि नेपालमा शिक्षाको उद्देश्य र परिभाषामा नै रहेको त्रुटि सबैभन्दा बढी जिम्मेवार रहेको छ । नेपालमा शीप नभएका साक्षरहरू जन्मने गरी सोही दिशामा शिक्षा उन्मुख भएपछि सारा मुलुक नै त्यसैतर्फ दिशानिर्देशित हुने हो । त्यही त्रुटिको पाश्र्व प्रभावका रूपमा नेपालमा उद्योगतन्त्रको अवस्था कमजोर बन्न गएको छ । विप्रेषणमा आधारित आर्थिक चहलपहल पनि खरीदमा रुचि राख्ने युवावर्गको विदेश बसाइँसराइपश्चात् समाप्त भएको छ । युवावर्गको कमीले गर्दा उद्योगमा श्रमशक्तिको अभाव देखिन थालेको छ । नयाँ पुस्ताको अनुपस्थितिमा पुरानो पुस्तामा रहेको जोशजाँगरमा ह्रास आएको छ । पुरानो पुस्ता नेपालमा थप लगानी गर्ने पक्षमा छैन । विशेष गरी घरजग्गा कारोबार, गृहनिर्माण, आन्तरिक सजावट, विद्युतीय उपकरण, पोशाक आदिको खरीदमा आएको मन्दीमा नयाँ पुस्ताको विदेश बसाई सृजित पुरानो पुस्तामा सेलाएको जोशजाँगर प्रमुख रूपमा जिम्मेवार रहेको छ ।
उपर्युक्त परिस्थितिलाई दृष्टिगत गर्दै नेपालमा आर्थिक क्रियाकलापहरूको वृद्धि गरी देशको अस्तित्व रक्षा गर्ने कार्यमा नयाँ शिराबाट सोच्नु आवश्यक देखिएको छ । यस सोचाइको प्रारम्भ नेपाली शिक्षण संस्थामा पढाइ हुने पाठ्यक्रमहरूको सुधारबाट हुनुपर्छ ।
नेपालमा प्रदान गरिने शिक्षाका विभिन्न विधा कुनै न कुनै आर्थिक क्रियाकलापहरूसँग सम्बद्ध नै छन् । ती विधा पढ्ने विद्यार्थी र पढाउने गुरुहरू उक्त विधाका आर्थिक कोणहरूबाट सबैभन्दा परिचित समुदायका रूपमा रहेका हुन्छन् । उदाहरणका लागि वनस्पति शास्त्रका विद्यार्थी र गुरुहरूलाई नै लिन सकिन्छ । विश्वको कुल व्यापारमा शीर्षक ६ देखि शीर्षक २४ र शीर्षक ४४, शीर्षक ४८, शीर्षक ५२, शीर्षक ३३ अन्तर्गतका वनस्पति र तिनका उत्पादनका वस्तुहरूको बारेमा सिद्धहस्त जानकार भनेको वनस्पतिशास्त्रका विद्यार्थी र गुरु नै हुन् । नेपालको आयात व्यापारमा यी वस्तुहरूको अंश उल्लेख्य रहेको र विश्व व्यापारमा पनि यी शीर्षकका वस्तुहरूको व्यापारमा वृद्धि हुँदै गइरहेको सन्दर्भमा यस क्षेत्रमा रहेका अवसरहरूलाई उपयोग गर्न सक्ने सबैभन्दा उपयुक्त लक्षित वर्ग वनस्पतिशास्त्रका विद्यार्थी र गुरुहरू नै हुन सक्छन् । परन्तु नेपालका शिक्षालयहरूमा वनस्पतिशास्त्रलाई आर्थिक अवसरहरूसँग परिचित गराई अभ्यासमा ल्याउने खालका पद्धति र अभ्यासहरू शुरू नै भएको छैन ।
व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीहरूलाई राम्रो व्यवस्थापक कसरी बन्ने भन्नेबारेमा त सिकाइन्छ परन्तु राम्रो उद्यमी कसरी बन्ने भन्ने बारेमा साराका सारा शिक्षण गतिविधिहरू मौन छन् ।
कुनै पनि संकायका अध्ययनहरूलाई आर्थिक सम्भावना, आर्थिक पक्ष, आर्थिक अवसर र त्यसको उपयोग गर्ने पक्षबाट पर राखिएको छ । परन्तु विकसित देशहरूमा हरेक अध्ययनलाई आर्थिक पक्षसँग जोडेर गुरुकुलहरूमा शिक्षा प्रदान गरिएको हुन्छ ताकि त्यहाँबाट उत्तीर्ण भई सकेपछि शिष्यहरूमा उद्यमशीलताको संस्कार स्थापित भई समाजमा स्थापित हुन सकून् । तसर्थ अचेल विश्वभरी नै कुन विश्वविद्यालयका कति विद्यार्थीले जागीर पाए भन्ने हैन कि कुन विश्वविद्यालयबाट दीक्षित कति जना उद्यमी जन्माए भन्ने हो ।
नेपालमा शीप नभएका साक्षरहरू जन्मने गरी सोही दिशामा शिक्षा उन्मुख भएपछि सारा मुलुक नै त्यसैतर्फ दिशानिर्देशित हुने हो । त्यही त्रुटिको पाश्र्व प्रभावका रूपमा नेपालमा उद्योगतन्त्रको अवस्था कमजोर बन्न गएको छ ।
उपर्युक्त परिस्थितिमा नेपालमा पनि यही मान्यतालाई अंगीकार गर्नु अति आवश्यक भइसकेको छ । अर्थात् कुन कलेजबाट दीक्षित विद्यार्थीमध्ये कति जना उद्यमी छन् भन्ने मापनका आधारमा सम्बद्ध शिक्षण संस्थाको स्तर मापन गर्न आवश्यक भइसकेको छ ताकि नेपाली शिक्षण संस्थाहरू बेराजगार शिक्षित उत्पादन गर्ने कारखानाबाट कारखाना स्थापित गर्ने शिष्यहरू उत्पादन गर्ने गुरुकुलमा रूपान्तरण हुन सकून् ।
यस सन्दर्भमा आर्थिक अभियान राष्ट्रिय दैनिकको मन्त्र ‘हरेक दृष्टि आर्थिक कोण’लाई नेपालको शैक्षिक क्षेत्रको पाठ्यक्रम तर्जुमा गर्दा हुबहु लागू गर्न आवश्यक देखिन्छ । अर्थात् नेपालमा पढाइ हुने हरेक विषयहरूलाई तल्लो तहदेखि नै ती विषयमा अन्तरनिहित आर्थिक अवसरहरूको बारेमा विद्यार्थीहरूलाई यथार्थ जानकारी गराई उपलब्ध अवसरहरूलाई उपयोग गर्न सक्ने गरी उनीहरूलाई विभिन्न औजारबाट सुसज्जित गर्नु अपरिहार्य भइसकेको छ ।
यसका लागि पहिलो चरणमा उद्यमशीलतायुक्त शिक्षालाई नेपालका शैक्षिक गतिविधिको मूल नीति अंगीकार गर्नु आवश्यक छ । उक्त मूल नीतिअन्तर्गत रही नेपालमा अध्ययन हुने हरेक विषयको पाठ्यक्रमहरूमा सम्बद्ध विषयलाई आर्थिक क्रियाकलापसँग योजन गर्ने गरी सैद्धान्तिक ज्ञानसँग आर्थिक पक्षलाई पनि समावेश गरी वर्तमान पाठ्यक्रमको परिमार्जन हुन आवश्यक छ । उदाहरणका लागि वनस्पति शास्त्रको अध्ययनमा रिट्ठा शीर्षकमा अध्ययन हुँदा रिट्ठाको सैद्धान्तिक ज्ञानका अतिरिक्त रिट्ठाको आर्थिक महत्त्व, रिट्ठाको आन्तरिक व्यापार, अन्तरराष्ट्रिय व्यापार, उक्त व्यापारमा संलग्न व्यवसायीहरू, रिट्ठा खपत गर्ने प्रमुख कम्पनीहरू आदिका बारेमा सम्पूर्ण विद्यार्थीहरूलाई समानान्तर रूपमा ज्ञान प्रदान गर्न आवश्यक देखिन्छ । यसका अतिरिक्त रिट्ठा उत्पादन क्षेत्रको अवलोकन भ्रमण, रिट्ठाका आयातकर्ता, निर्यातकर्ताहरूसँग अन्तरक्रिया, रिट्ठा खपत गर्ने उद्योगहरू र वनस्पतिशास्त्रका विद्यार्थीहरूसँग अन्तरसम्बन्ध स्थापनाजस्ता विषयहरू शैक्षिक क्रियाकलापहरूमा नै समावेश गरी विद्यार्थीहरूलाई रिट्ठा क्षेत्रमा विद्यमान अवसरहरूलाई उपयोग गर्न सक्ने गरी दक्ष बनाउन आवश्यक देखिन्छ ।
प्रत्यक्ष रूपमा आर्थिक क्रियाकलापमा समेत संलग्न हुने गरी शिक्षण अवधिमा नै विद्यार्थीहरूलाई संलग्न गराउने मोडालिटी पनि अंगीकार गरिनु आवश्यक छ । उदाहरणका लागि नेपालमा फूलको व्यापक माग रहेको छ । परन्तु नेपाललाई आवश्यक पर्ने अधिकांश फूलहरू विदेशबाट आयात हुने गर्छ जो नेपाली जलवायुमा प्रशस्त मात्रामा व्यावसायिक रूपमा उत्पादन गर्न सकिन्छ । फूलहरूका नर्सरी स्थापनादेखि वनस्पति विभागले जग्गा लीजमा लिई स्वयम् शिक्षक र विद्यार्थीहरू उत्पादनमा संलग्न हुने गरी व्यावसायिक फूलखेतीसमेत गर्न सकिन्छ । पहाडी भूभागमा व्यापक रूपमा जमीन बाँझो रहेको सन्दर्भमा विश्वविद्यालयका वनस्पति अध्ययन विभाग आफै उद्यमी, आफै गुरुकुल, आफै अनुसन्धानकर्ता यी तीनओटा भूमिकामा वनस्पति क्षेत्रका विद्यमान अवसरहरूलाई उपयोग गर्ने उचित संस्थान हुन सक्छ । शिष्य, शिक्षक र शैक्षिक संस्थानहरू पढ्दै पढाउँदै उद्योगपति हुने, गुरु, शिष्य पनि हुने र अनुसन्धानकर्ता पनि हुने, आत्मनिर्भर पनि हुने र शुल्करहित शिक्षणको अवसर पनि प्राप्त हुने तथा सरकारमाथिको परनिर्भरताको पनि अन्त्य हुने यो मोडालिटी नेपालमा पढाइ हुने सबै शैक्षिक संस्थाहरूमा लागू गर्न सकिने अवस्था विद्यमान छ ।
उदाहरणका लािग माथि उल्लिखित रू ३४८ अर्बको आयात प्रतिस्थापन हुने गरी नेपालका वनस्पति शास्त्र अध्ध्ययन विभागले आफ्ना शिष्यहरूमा उद्यमशीलता विकास गर्न सक्छ ।
उपर्युक्त पृष्ठभूमिमा नेपालले माथि उल्लेख गरेझैं हरेक शिक्षण संस्थालाई आर्थिक अवसरहरूलाई उपयोग गर्न सक्ने जनशक्ति उत्पादन गर्ने गरी उद्यमशीलतता उत्पादक संस्थाका रूपमा रूपान्तरण गर्न जरुरी देखिएको छ । आफ्ना विषयगत क्षेत्रलाई आर्थिक अवसरहरूसँग संयोजन गर्दै अघि बढ्ने हो भने शिष्य पढ्दापढ्दै करोडपति हुने, शिक्षक पढाउँदा पढाउँदै अर्बपति हुने शैक्षिक वातावरण सृजना हुनसक्छ ।
यसरी नेपालको शिक्षाक्षेत्र र उद्यमशीलतालाई एकआपसमा अन्तरघुलन गर्नु अति जरुरी छ । नेपालमा वर्तमान समयमा सतहमा देखापरेका आर्थिक र सामाजिक क्षेत्रमा विद्यमान गम्भीर समस्याहरूलाई समाधान गर्न नेपालको शिक्षाक्षेत्रलाई उद्यमशीलता उत्पादन गर्ने केन्द्रका रूपमा रूपान्तरण गर्न जरुरी भइसकेको छ ।
लेखक व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत हुन् ।
सरकारले निजीक्षेत्रलाई उचालेपछि एकताका देशमा हरेक कुरा खोल्ने लहर चलेको थियो । त्यही भएर निजी बैंक खुले, सेक्युरिटी गार्ड कम्पनी आए, उद्योग खुले, विद्यालय, विश्वविद्यालय खुले । विकासले उँभोगति लिनुपर्नेमा अधोगति लिएपछि अहिले गाभिने, बन्द गर्ने कहर चलेको छ । उँधै गति उँधै मति भएका र चारतिर टाउको फर्काउने राजनीतिक दलहरू सत्ता भोग गर्न सजिलो होस् भनेर होला एकताको मोर्चा कसेका छन् । पाल्नभन्दा फाल्न सजिलो हुन्छ भनेर अर्थमन्त्रीले बजेटमै कतिपय संस्थान, विभागहरू बन्द गर्ने घोषणा गरेका छन् । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई फकाएर, नभएर तर्साएरै एकआपसमा गाभिनू भन्यो, गाभिए, गाभिँदै छन् ।
शिक्षकहरू पढाएका कारणले पिटिनु परिरहेको छ, मर्नुपरिरहेको छ । डाक्टरहरू उपचार गरिदिएकाले पिटिनु परिरहेको छ ।
सपना भएका युवा जति लखेटेपछि शैक्षिक संस्थाहरू आफै बन्द हुँदै छन् । जहाँ विद्यार्थी धेरै छन्, त्यहाँ विद्यार्थीले नै कहिले ताला लगाउने त कहिले शिक्षक वा प्राध्यापक कुट्ने अभियान चलाएका छन् । त्यसैले पहाडका गाउँ बस्तीमा मात्र होइन, तराईका विश्वविद्यालयहरू पनि सुनसान हुन पुगेका छन् । यसलाई मसानघाट भन्दा पनि फरक नपर्ने भएका छन् । पढ्न र काम गर्न चाहनेहरू विदेश भासिएका छन् । दुवै गर्न नचाहनेहरू राजनीतितिर । त्यसैले अब उद्योग सुद्योगमा लगानी गर्नुभन्दा मसानघाट खोल्नु बढी उपयोगी हुने देखिन्छ ।
शिक्षकहरू पढाएका कारणले पिटिनु परिरहेको छ, मर्नुपरिरहेको छ । डाक्टरहरू उपचार गरिदिएकाले पिटिनु परिरहेको छ । किसानले खेती गरेकैले मर्नुपरिरहेको छ । नेपाली युवा विदेशमा गएर मर्नुपरिरहेको छ । उद्यमीहरू सडकमा वा घरमा आत्महत्या गर्नुपर्ने बाध्यतामा छटपटिनु परेको छ । सडक पेटीमा सानातिना व्यवसाय गरेर गुजारा गर्नेहरू र सर्वसाधारणलाई त सजिलोसँग मर्ने ठाउँ पनि दिएको छैन स्थानीय र संघीय सरकारहरूले ।
उहिले प्रजाको चुल्हो बलेको हेर्न राजा महाराजाहरू अग्ला अग्ला दरबार बनाउँथे । अहिलेकाहरू जनताको घर बलेको हेर्न भ्यूटावर बनाउँछन् ।
आलीदेखि थालीसम्म विष । सडकमा निस्क्यो, विष भरिएको हावा । यसो टिभी हेर्यो, सामाजिक सञ्जाल चहार्यो विष भरिएको विचार । अहिले जसरी कतिपय पार्टी प्यालेस र रेष्टुराँहरुले जस्ता किसिमका विषसरह खाना ख्वाइरहेका छन्, कतिपय सुविधासम्पन्न अस्पतालले बिरामीसँग जसरी असुली गरिरहेका छन्, के ती कुनै मसानघाटभन्दा कम छन् र ?
त्यसैले अब देशमा उद्योग–सुद्योग, शिक्षालय, औषधालय आदि भन्दा मसानघाटको काम बढी छ । आगोमा जल्ने कि व्यापार व्यवसायको चिन्तामा जलेर खरानी हुने दुई विकल्प मात्रै दिएको छ सरकारले । नेताहरूको कृपाले देशभरि ठडिएका भ्यू–टावरहरूबाट को, कहाँ, कसरी जलिरहेका छन् हेर्न पनि सजिलो भएको छ । उहिले प्रजाको चुल्हो बलेको हेर्न राजा महाराजाहरू अग्ला अग्ला दरबार बनाउँथे । अहिलेकाहरू जनताको घर बलेको हेर्न भ्यूटावर बनाउँछन् ।
सरकारले गर्ने काम वा चलाउने प्रायः सबै संस्थानहरू घाटामा चल्ने गरेका छन् । त्यसैले मसान केन्द्रहरू चाहिँ निजीक्षेत्रलाई खोल्न प्रोत्साहित गर्नुपर्छ । अर्थात् अब मसानघाटको पनि प्राइभेटाइजेशन गर्नुपर्छ । त्यसपछि मान्छेलाई मर्न कसरी प्रेरित गर्नुपर्छ, उसले गरिहाल्छ । त्यसपछि त मसान केन्द्रको प्रचारमा शहर शहरमा ई–बोर्डहरू लाग्नेछन् । धेरै मानिसहरू हिँड्ने वा गुड्ने शहरका मुख्य गौंडाहरूमा ठूलठूला तुलहरू टाँगिनेछन् । ‘मर्नका लागि सबैभन्दा उत्कृष्ट स्थल । पवित्र मसान केन्द्र । शहरका बीच्चबीच्चमा, प्राइम लोकेसनमा अनलाइन बुकिङको पनि सुविधा । गर्मीको मौसममा बुकिङ गर्दा दोस्रो मुर्दा सित्तैमा । कुनै अतिरिक्त शुल्क लाग्दैन । आधा खर्चमा पूरै परिवारका लागि स्किम । स्वीमिङ पुल, पानीका रंगीन फोहरा, शपिङ मल, सिनेमा हल, रेष्टुराँ, पार्किङ लगायतका सुविधा भएको एकमात्र मसान केन्द्र’ आदि, आदि ।
मुर्दालाई अस्पतालबाट घाटमा पुर्याएर खरानी बनाउँदासम्मको जिम्मा यिनै मुर्दा इभेन्ट म्यानेजमेन्ट कम्पनीले गर्न थालेका छन् ।
त्यसो त देशमा केही वर्षयता मसानघाटहरूले आफ्नो गति समातेका छन् । तर ती घाटहरू सरकारी भएकाले पारा पनि सरकारी अर्थात् त्यहाँ ढिलासुस्ती हुने नै भयो ।
तर हिजोआजका मुर्दा तुरुन्त जल्न चाहन्छन् । जल्नु पनि एउटा फेशन बनिसकेको छ । अब मुर्दा जल्ने कार्य एउटा गज्जपको इभेन्ट बनेको छ । जसरी विवाहको व्यवस्थापन गर्न हिजोआज ‘वेडिङ इभेन्ट म्यानेजमेन्ट कम्पनी’हरू खुलेका छन्, त्यसैगरी मुर्दालाई अस्पतालबाट घाटमा पुर्याएर खरानी बनाउँदासम्मको जिम्मा यिनै मुर्दा इभेन्ट म्यानेजमेन्ट कम्पनीले गर्न थालेका छन् अर्थात् ओशोले भनेजस्तै ‘मृत्यु अब एउटा उत्सव’ अर्थात् सेलिब्रेसन इभेन्ट बनिसकेको छ ।
वास्तवमा मुर्दा जलाउने उत्सव पर्यटकका लागि पनि एक आकर्षक मनोरञ्जन बन्न सक्छ, यसलाई ‘कालो पर्यटन’ भन्छन् क्यार । जसरी जनताहरू भोक, अभाव र गरीबीले तड्पी तड्पी मरिरहेको देखेर नेताहरू आनन्दविभोर भइरहेका छन्, त्यसैगरी पर्यटकहरू पनि दुई तीनघण्टे मुर्दा जलन कार्यक्रममा सहभागी भएर रोमाञ्चित बन्न सक्छन् ।
पशुपति आर्यघाटमा भीआईपीलाई जलाउने ठाउँमा आफ्ना मान्छे जलाउन निकै सोर्सफोर्स लगाउनुपर्ने हुन्छ । निजी मसानघाट हुनेबित्तिकै जसले बढी दाम दिन सक्छ, उही भीआईपी बन्न सक्छ । पहिले धनीहरू मात्र महँगोमा जल्न मन पराउँथे । अब त मध्यम वर्गमा पनि बढी शुल्क तिरेर जल्ने फेशन चलेको छ । निजी मसानघाट भयो भने यता मधुर संगीत बजिरहेको हुन्छ, उता संगीतको लयसँगै पानीको फोहरा तलमाथि गरिरहेको हुन्छ । अनि विनाकुनै माथापिच्छी मुर्दा आफै चुपचाप जलिरहन्छ । यसका लागि कुनै पनि दाउरालाई तलमाथि गरिरहनै पर्दैन ।
मसानघाटको भित्रै रेष्टुराँ खोलेर मेनु पढेर जे मन लाग्यो, त्यही मगाएर आनन्द लिन सकिन्छ ।
यस्ता मसान एवं शपिङ केन्द्रहरूमा बालबालिकाका लागि पनि ‘किड्स प्ले कर्नर’ बनाउन सकिन्छ । यसमा केटाकेटीहरू आरामसँग उफ्रिने–पाफ्रिने गर्न सक्छन् । मसानघाटको भित्रै रेष्टुराँ खोलेर मेनु पढेर जे मन लाग्यो, त्यही मगाएर आनन्द लिन सकिन्छ । छेउमा ठूलो स्वीमिङ पुल बनाउन सकिन्छ । पाँचतारे सुविधायुक्त एयरकन्डिसन घाटमा अनलाइन बुकिङ गरेर अनलाइन दाहसंस्कार उत्सवको पनि व्यवस्था हुन सक्छ ।
यो व्यवस्थाअनुसार आफ्नो कुनै पनि प्रियजनको मृत्यु भएपश्चात् आफ्नो घर बसी बसी अनलाइन मन्त्रोच्चारण, फुकफाक कार्यक्रम गर्न सकिन्छ । यो सबै गर्न यताउता कुद्नु जरुरी छैन । दाउरा मिलाउनेदेखि कपाल क्रियासम्म सबै डिजिटल व्यवस्था हुन सक्छ । पण्डित, पुजारी, मिठाईवाला, ब्यान्डबाजा आदिका साथ ग्रहदशा शान्तिसम्मको कार्यक्रम आयोजना गर्ने पनि प्याकेजमै अफर गर्न सकिन्छ । अहिलेको यस्तो प्रदूषित र महँगीको माहोलमा प्रियजनको अन्तिम संस्कारका साथ सीधै स्वर्गको टिकट कटाउन सकिने यस्ता प्राइभेट मसानघाटहरूमा मर्न जान कसलाई मन नलाग्ला र ?
वित्तीय समावेशीकरण आर्थिक, वित्तीय र सामाजिक आवश्यकतालाई पहिचान गरेर सुलभ र उपयोगी वित्तीय सेवाहरू विवेकशील र दिगो रूपमा उपलब्ध गराउने औपचारिक तरीका हो । वित्तीय समावेशीकरणले विश्वव्यापी रूपमा रहेका ३० ओटा दिगो विकासका लक्ष्यमध्ये कम्तीमा ७ ओटा समर्थन गर्ने हुँदा यसलाई विश्वव्यापी प्राथमिकता दिएको पाइन्छ । वित्तीय समावेशीकरणले अर्थतन्त्रका सबै पक्षलाई औपचारिक वित्तीय परिधिभित्र ल्याएर तिनीहरूलाई एकआपसमा एकीकरण गर्ने लक्ष्य राख्छ ।
वित्तीय पहुँच वित्तीय समावेशीकरणको पहिलो खुट्किलो भएकाले वित्तीय संस्थाहरूको संख्या र पहुँचले वित्तीय समावेशीकरणसँग प्रत्यक्ष सम्बन्ध राख्छ । आर्थिक वर्ष २०७९/८० को पहिलो ५ महीनाको तथ्यांक हेर्दा पूर्वाधार विकास बैंकसहित कुल ११ हजार ६३२ ओटा शाखा भएका जम्मा १२५ ओटा बैंक तथा वित्तीय संस्था विद्यमान छन् । हाल भइरहेको मर्जर र प्राप्तिपद्धतिले गर्दा वित्तीय संस्थाहरूको संख्या घट्दो क्रममा छ तथापि कुल ७५३ स्थानीय तहमध्ये ७५२ तहमा वित्तीय पहुँच छ । सबैभन्दा बढी शाखा (३ हजार ५९ ओटा) वाग्मती प्रदेशमा र सबैभन्दा कम शाखा (४५९ओटा) कर्णाली प्रदेशमा छन् भने देशमा औसत जनसंख्या प्रतिशाखा २,५१० छ । बैंक तथा वित्तीय संस्थाहरू वित्तीय प्रणालीको महत्त्वपूर्ण पक्ष भएकाले बैंकिङ तथा वित्तीय पहुँच अभिवृद्धि गरी देशको पूँजी निर्माणमा पनि भूमिका खेल्छन् ।
बैंक तथा वित्तीय संस्थाहरूले प्रवाह गर्ने वित्तीय सेवासुविधाले अर्थतन्त्रको वित्तीय आवश्यकता पूरा गर्ने हुँदा दैनिक जीवनमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आर्थिक सहजता ल्याउँछ र वित्तीय समावेशीकरणलाई टेवा पुर्याउँछ । स्थानीय तहमा रहेका प्रत्येक बैंक तथा वित्तीय संस्थाहरूले उक्त तहको वित्तीय आवश्यकता पहिचान गर्न सहयोग पुर्याउँछन् । यसर्थ वित्तीय पहुँचद्वारा प्रत्येक वर्गलाई आवश्यक पर्ने वित्तीय सेवाहरूको पहिचान गरेर सोहीअनुरूपका सेवा प्रवाह गरी वित्तीय उपभोग बढाएर असमान आयस्तर र गरीबी निवारणको ठीक व्यवस्थापन गर्न सकिन्छ । औपचारिक वित्तीय प्रणालीमा रहेर वित्तीय पहुँच र उपयोगद्वारा आर्थिक तथा वित्तीय वृद्धि र विकासमा केन्द्रित हुन सकिन्छ । यसका लागि आधुनिक वित्तीय प्रविधि, वित्तीय साक्षरता र पूर्वाधारहरूलाई राम्ररी सम्भाव्यता अध्ययन गरी, उचित योजना बनाई सही दिशामा कार्यान्वयन गर्न जरुरी छ र यसपश्चात् मात्र समावेशी वित्तीय प्रणालीको प्रवर्द्धन गर्न सकिन्छ ।
बैंक तथा वित्तीय संस्थाहरूले आम जनमानसमा वित्तीय सेवासुविधामार्फत विश्वास कायम गरी वित्तीय समावेशीकरणलाई प्रवर्द्धन गर्न सक्छन् । सबै नीतिगत सुधारका लागि लैंगिक प्रभावलाई विचार गर्दै वित्तीय ग्राहक विभाजन गरेर वित्तीय जोखिमलाई सोहीअनुरूप व्यवस्था गर्दै लैजान सक्छन् । विशेष गरी बैंक तथा वित्तीय संस्थाहरूले विप्रेषणलाई वित्तीय समावेशीकरणको प्रवेशद्वारका रूपमा वित्तीय उत्थान गर्न सक्छन् । वित्तीय बजार आचरणमा उपभोक्ता सशक्तीकरणलाई ध्यानमा राखी नीतिहरू निर्माण गर्दै बजार प्रवेश र विकासमा ध्यान केन्द्रित गर्न सक्छन् । यसर्थ वित्तीय समावेशीकरणमा विशेष भूमिका बैंक तथा वित्तीय संस्थाहरूको हुन्छ ।
नेपालमा वित्तीय समावेशीकरणलाई विभिन्न प्रकारका वित्तीय सेवाको परिसूचक जस्तै भुक्तानी, बचत, साख, लगानी, बीमा आदि जस्ताको उपभोगबाट मापन गरिन्छ । विद्यमान औपचारिक वित्तीय उपकरणहरूको प्रयोगबाटै अर्थतन्त्रका प्रत्येक सूक्ष्म क्षेत्रहरू जोडिंदै बृहत् रूपमा विकास हुन्छ । वर्तमान समयमा विस्तार भइरहेका डिजिटल वित्तीय सेवाहरूले जनजीवनमा केही वित्तीय सुधार ल्याए पनि राष्ट्रका अधिकांश ग्रामीण भागमा वित्तीय सजगता पर्याप्त मात्रामा छैन । ६० प्रतिशतभन्दा बढी डिजिटल वित्तीय सेवाहरू शहरी भागमा मात्र उपभोग भएको पाइन्छ । नेपाल आफैमा गरीब देश भएकाले यहाँको वित्तीय प्रणाली नाजुक छ । यहाँको सम्पूर्ण क्षेत्र औपचारिक वित्तीय परिधिभित्र आउनलाई अझै केही समय लाग्नेछ किनकि वित्तीय ज्ञान, मनोवृत्ति, शीप, क्षमता र व्यवहार विकास हुनलाई बलियो र भरपर्दो वित्तीय प्रणाली हुन आवश्यक छ । यसका लागि वित्तीय पूर्वाधारको विकास हुनु अतिआवश्यक छ र वित्तीय पहुँच र उपयोगलाई साथसाथै प्रवर्द्धन गर्नुपर्छ । अर्थतन्त्रको वास्तविक क्षेत्रलाई प्रत्येक तवरबाट वित्तीय पक्षसँग जडान गरेर वित्तीय उपभोक्ताहरूको पहिचान हुनुपर्छ । उदीयमान वित्तीय प्रविधिहरूलाई पनि ध्यानमा राख्दै डिजिटल वित्तीय साक्षरता र समावेशीकरणलाई विस्तार गर्ने अवसर छ । वर्तमान अवस्थाको बैंकिङ मर्जरले बैंकिङ संस्थाहरूको संख्या घटाए तापनि वित्तीय सेवासुविधा गुणस्तरीय भई वित्तीय समावेशीकरणलाई उकास्न सक्ने सम्भावना छ । राष्ट्रिय वित्तीय साक्षरता करीब ५८ प्रतिशत रहँदा ग्रामीण भागमा औपचारिक वित्तीय सेवाहरूलाई अझै पनि नौलो विषयका रूपमा लिइन्छ । यसर्थ देशमा विद्यमान ग्रामीण र शहरी आर्थिक अन्तरले अर्थतन्त्रको वित्तीय समावेशीकरणलाई चुनौती दिइरहेको छ ।
लेखक व्यवस्थापन विषयमा स्नातकोत्तर तहका विद्यार्थी हुन् ।
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-११ अमरपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा भौतिक पूर्वाधार अभाव हुँदा दुई अलगअलग समयमा कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता रहेको छ ।
विद्यालयमा विद्यार्थीको चापअनुसार कक्षा कोठा नहुँदा बिहान ६ देखि १० बजेसम्म र १० देखि ४ बजेसम्म कक्षा सञ्चालन भइरहेका छन् । बिहानीको समयमा वन विज्ञान र कक्षा ११ तथा १२ का कक्षा सञ्चालन हुँदै आएका छन् । बिहान १० बजेपछि कक्षा १ देखि १० सम्मका कक्षा सञ्चालन हुने गरेका छन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलबहादुर बुढाका अनुसार विद्यालयमा ११ भवन रहेका छन् । त्यसमध्ये नौ पक्की र दुई जस्ता पाताको छाना भएका भवन छन् । ‘दुई पक्की भवनमा वन विज्ञान कार्यक्रमका छात्र र छात्राका लागि छुट्टाछुट्टै छात्रावासको प्रबन्ध मिलाएका छौँ,‘ उनले भने, ‘बाँकी नौओटा भवनका २२ कोठाहरुमध्ये कम्प्युटर ल्याब, पुस्तकालय, प्रयोगशाला, भण्डारण कक्ष, दिवा खाजा व्यवस्थापन, शिक्षक स्टाफ गरी १० कोठा प्रयोगमा रहेका छन्, बाँकी १२ कोठामा छात्रावासका थप चार गरी १६ कोठामा पठनपाठनको कार्य भइरहेको छ ।‘
कक्षा कोठाको अभावमा विद्यालयमा सञ्चालनमा रहेका बाल विकासका तीन कक्षालाई एउटै कोठामा राख्नुपरेको उनले बताए । आधारभूत तहका कक्षाका लागि आठ, माध्यमिक तहका लागि चार र तीनवर्षे वन विज्ञान शिक्षाका लागि तीन कक्षाकोठा प्रयोग भइरहेका छन् ।
‘विद्यालयमा विद्यार्थीको सङ्ख्या ७३४ रहेको छ । छात्र ३३९ र छात्रा ३९५ रहेका छन् । ‘विद्यार्थीको अनुपातमा कक्षा कोठाको निकै अभाव छ,‘ विद्यालयका निमित्त प्रधानाध्यापक गणेशबहादुर विष्टले भने, 'कक्षा कोठाको अभाव र आवश्यक माध्यमिक शिक्षक दरबन्दी अभावले अलगअलग समयमा कक्षा सञ्चालन गर्नुपरेको छ ।‘
उनका अनुसार कक्षा १२ मा सबैभन्दा बढी एक सय २३, कक्षा ९ मा एक सय १२, कक्षा ८ मा ७३ विद्यार्थी अध्ययनरत रहेका छन् । विद्यार्थीको सङ्ख्या अधिक भए पनि कक्षा कोठा नपुग्दा एउटै कक्षामा राखेर पठनपाठन गराउनुपर्ने अवस्था रहेको उनले बताए ।
‘आगामी शैक्षिक सत्रदेखि विद्यालयमा थप छ कक्षाकोठा निर्माण गर्ने लक्ष्य लिएका छौँ,‘ निमित्त प्रधानाध्यापक विष्टले भने, “फर्निचरको पनि अभाव छ, त्यसका लागि नगरपालिकासँग आवश्यक बजेटको व्यवस्था मिलाइदिन आग्रह गरेका छौँ ।‘
विसं २०४२ मा स्थापना भएको विद्यालयमा १२ शौचालय र दुई खानेपानीका धारा भए पनि त्यसलाई व्यवस्थित भने विद्यालयले गर्न सकेको छैन । विद्यालयमा प्रावि तहका चार र एक निमावि तह गरी पाँच शिक्षक स्थायी रहेका छन् । राहत कोटामा कार्यरत शिक्षकको सङ्ख्या ६ रहेको छ । त्यसमध्ये प्राविमा एक, निमाविमा दुई र माविमा तीनजना कार्यरत रहेका छन् । कक्षा ११ र १२ का लागि भने शिक्षक दरबन्दी नहुँदा निजी शिक्षक राखेर पठनपाठनको कार्य हुँदै आएको छ ।
वडाध्यक्ष शेरबहादुर साउदले विद्यालयको भौतिक पूर्वाधार विकासका लागि दुई भवन निर्माणका क्रममा रहेको बताए । -रासस
आंगिक क्याम्पसले समेत विद्यार्थी नपाएपछि पुनः सिम्याटको व्यवस्था
त्रिभुवन विश्वविद्यालयमा सबैभन्दा बढी विद्यार्थीको आकर्षण रहेको बिबिएलगायत अप्लाइड कोर्समा समेत यस वर्ष विद्यार्थी पाउन मुस्किल भएको छ । त्रिविका आंगिक क्याम्पसको समेत कोटा...
कात्तिक ६, चितवन । कृषि तथा वन विश्व विद्यालय रामपुरमा अन्तरराष्ट्रिय भैंसी सम्मेलन हुने भएको छ । यही कार्तिक ८ देखि १२ गतेसम्म भर्चुअल माध्यमबाट ‘एशियन बफेलो कंग्रेस’ शुरु हुने भएको हो ।
शनिवार भरतपुरमा विश्वद्यिालयले पत्रकार सम्मेलनको आयोजना गरी यसबारे जानकारी दिइएको हो ।
यो एशिएन बफेलो कंग्रेसको १० औं संस्करण हो । अब हुने सम्मेलन नेपालमा भने पहिलो पटक हुन लागेको हो । कालो सुनको रुपमा मानिएको भैंसीको पालन, व्यवस्थापन, स्वास्थ्य, बजारीकरण एवम् उपयोगीता बारे वैज्ञानिक खोज, अनुसन्धान तथा प्रचारप्रसारका लागि सम्मेलन आयोजना गरिएको आयोजकले बताएको छ ।
सम्मेलनमा १७ ओटा राष्ट्रका प्रख्यात विज्ञहरुले १३५ भन्दा बढी कार्यपत्रहरु प्रस्तुत गर्नेछन् । ३५० भन्दा बढी वैज्ञानिक, प्राध्यापक, कृषक, विद्यार्थी तथा सम्बन्धित विषयका सरोकारवालाहरुबीच छलफल तथा बहस हुने आयोजक समितिका अध्यक्ष प्रा.डा. भूमिनन्द देवकोटाले जानकारी दिए ।
सो सम्मेलनमा नेपालमा अनुसन्धानमा आधारित भैंसी अनुसन्धान केन्द्र स्थापनाका पनि कृषि विश्वविद्यालयले प्रस्ताव पेश गर्ने प्राडा देवकोटाले बताए ।
बिभिन्न राष्ट्रहरुबीच भैंसी पालनको ज्ञान र उपलब्धिको आदानप्रदान गर्न समेत सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।
सम्मेलन भैंसी उत्पादन र बिकासका लागि कोषेढुंगा हुने आयोजकको अपेक्षा छ । विश्व विद्यालयका उपकुलपति प्रा.डा. पुण्यप्रसाद रेग्मीले नेपालमा नै यस किसिमको सम्मेलन हुनु गर्व र गौरवको बिषय भएको बताए । चितवन पशुपलन, मत्स्यपालन तथा पशुपंक्षीको दृष्टिकोणले महत्वपूर्ण जिल्ला भएकोले यो कार्यक्रम थप प्रभावकारी हुने उनको भनाइ छ ।
सम्मेलनको ८ गते कृषि तथा पशुपंक्षी मन्त्री महिन्द्र राय यादवले उद्घाटन गरिने कार्यक्रम रहेको छ । यसअघि जुन ३ देखि ५ तारिखमा भौतिक रुपमा नै आयोजना गर्न लागिएको सम्मेलन कोभिडका कारण पछि धकेलिएको हो ।
एशियामा विश्वकै सबैभन्दा धेरै भैंसी उत्पादन हुने गर्दछ । भैंसीको कुल संख्याको ९० प्रतिशत एशियामा नै छ । नेपालमा ५२ लाखको हाराहारीमा भैंसी रहेको अनुमान छन् । नेपालमा दूध उत्पादनमा भैंसीले ६५ तथा मासुमा ५४ प्रतिशत स्थान ओगटेको तथ्यांक छ ।
जुम्ला : कोरोना भाइरसका कारण सबैभन्दा बढी असर शिक्षा क्षेत्र परेको छ। सबै शैक्षिक क्षेत्र बन्द हुँदा बालबालिकाहरू पढाइबाट बञ्चित भएका हुन्।शैक्षिक क्षेत्र बन्द भएपनि पुस्तक समयमै विद्यार्थीको हातहातमा पुगे घरमै बसेर पढ्न सक्ने थिए। तर, समयमै किताब नपाउँदा विद्यार्थी शिक्षा लिनबाट बञ्चित हुन्।शैक्षिक संस्था बन्द भएको लामो समयसम्म ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयका विद्यार्थीहरूले पुस्तक समेत किन्न पाएका छैनन्।जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकमा जिल्लाम
काठमाण्डाै - त्रिभुवन विश्वविद्यालयको ४५ औं दीक्षान्त समारोहबाट १० हजार १ सय ८३ जना विद्यार्थी दीक्षित भएका छन् ।
पुल्चोक क्याम्पसमा आयोजना भएको त्रिविको दीक्षान्त समारोहबाट सबैभन्दा बढी व्यवस्थापन संकायका ३ हजार ७०३ जना विद्यार्थी दीक्षित भएका छन् । यसैगरी मानविकी संकायतर्फ २ हजार ९१, इन्जिनियरिङमा १ हजार १८६, ...
काठमाडौं : त्रिभुवन विश्वविद्यालयको ४५औँ दीक्षान्त समारोहबाट १० हजार १ सय ८३ जना विद्यार्थी दीक्षित भएका छन्।
पुल्चोक क्याम्पसमा आयोजना भएको त्रिविको दीक्षान्त समारोहबाट सबैभन्दा बढी व्यवस्थापन संकायका ३ हजार ७०३ जना विद्यार्थी दीक्षित भएका हुन्। यसैगरी मानविकी संकायतर्फ २ हजार ९१, इन्जिनियरिङमा १ हजार १८६, विज्ञानतर्फ १ हजार ९८...