गिरफ्तार विद्यार्थी नेताहरु रिहा

काठमाडौं । बैतडीमा हत्या गरिएकी किशोरी भागरथी भट्टको हत्यारालाई कारबाही गर्न माग गर्दै माइतीघर मण्डलामा धर्ना बस्ने क्रममा पक्राउ परेका विद्यार्थी नेताहरु रिहा भएका छन् । आइतबार साँझ राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलको रोहबरमा नेताहरु रिहा भएका हुन् । अखिल (छैठौं) को आयोजनामा भएको धर्ना कार्यक्रमबाट अध्यक्ष विमल पोखरेल र गण्डकी प्रदेश सांसद सुप्रभा थापा लगायत ७ जना नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । यो पनिः भागरथी बलात्कार हत्याको विरोध गर्दा अखिल (छैठौँ) का केन्द्रीय नेताहरू गिरफ्तार ‘हामीहरु भर्खरै रिहा भएका छौं’ अध्यक्ष पोखरेलले भन्नुभयो, ‘राजमो उपाध्यक्ष दुर्गा पौडेलको रोहबरमा हामी सबैलाई छोडेको छ ।’ रिहाईपछि अध्यक्ष पोख्रेलले बलात्कारपछि हत्या गरिएकी किशोरी भागरथी भट्टको न्यायका लागि आफूहरु थप सक्रियताका साथ देशैभर आन्दोलन गर्ने बताउनुभयो । प्रहरीले अध्यक्ष पोखरेल र सांसद थापासहित अखिल (छैठौं) का सचिव सुवास जिसी, राष्ट्रिय परिषद सदस्य सुमन पौडेल, केन्द्रीय सदस्यद्वय विवेक जिसी र प्रतिभा आचार्य, काठमाडौं जिल्ला उपाध्यक्ष ध्रुव बस्याललगायत नेताहरुलाई पक्राउ गरेको गरेको थियो । उहाँहरुलाई आइतबार दिनभर महानगरीय प्रहरी वृत सिंहदरबारमा राखि साँझ छोडेको हो । अखिल (छैठौं) ले भागरथी भट्टको बलात्कारपछि हत्या भएको भन्दै दोषीलाई कारबाही र पीडितलाई क्षतिपुर्ती दिन माग गर्दै राजधानीसहित देशका विभिन्न भागमा प्रदर्शन गरेको छ । त्यस्तै, अखिल (छैठौं) रुपन्देहीले पनि विरोध प्रदर्शन गरेको छ । विरोध प्रदर्शनमा अखिल (छैठौं) का केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला अध्यक्ष सरोजमान सिंह, जिल्ला सचिव सागर वेल्वासे र सदस्य टेकराज भुसालले सम्वोधन गर्नुभएको थियो ।