असोज १२, लन्डन (बेलायत) । अन्तरराष्ट्रिय बजारमा मंगलबार कच्चा तेलको भाउ बढेको छ ।
योसँगै अघिल्ला दिनहरुमा तेलको भाउमा भएको कमी उल्टिएको छ । यो समाचार तयार पार्दाखेरि नेपाली समयअनुसार साँझ ६ : ५५ बजे लन्डनस्थित आईसीई एक्सेञ्जको कोमेक्स डिभिजनमा ब्रेन्ट क्रुडको भाउ प्रतिब्यारेल शून्य दशमलव ५७ प्रतिशतले बढेर ८० डलर शून्य १ सेन्टमा पुगेको थियो ।
मंगलवारको कारोबारमा ब्रेन्टको भाउ अधिकतम प्रतिब्यारेल ८० डलर ७५ सेन्टसम्म पुगेको थियो । यो सन् २०१८ को अक्टोबर यताकै उच्च हो । सोमवार ब्रेन्टको भाउ १ दशमलव ८ प्रतिशतले बढेको थियो ।
सोही समयमा न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा पनि वेष्ट टेक्सस इन्टरमिडियट (डब्ल्यूटीआई) को भाउ पनि शून्य दशमलव ५४ प्रतिशतले बढेर प्रतिब्यारेल ७५ डलर ८१ सेन्ट कायम भएको थियो ।
सोमवारको कारोबारमा डब्ल्यूटीआईएको भाउ प्रतिब्यारेल ७६ डलर ५१ सेन्टसम्म पुग्यो यो जुलाई ६ यताकै उच्च हो। सोमवार डब्ल्यूटीआईको भाउमा २ प्रतिशतको वृद्धि भएको थियो । अमेरिकामा समुद्री आँधीहरुले आपूर्तिमा अपेक्षा गरिएभन्दा लामो समयसम्म अवरोध उत्पन्न भएपछि लगानीकर्ताहरु बुलिश देखिएका छन् ।
न्यून लगानी र मर्मतसम्भारमा समस्याका कारण शीर्ष तेल निर्यातकर्ता देशहरु नाइजेरिया र अंगोलाले ओपेकले तय गरेको कोटाअनुसार कम्तिमा पनि आगामी वर्षसम्म आफ्नो उत्पादन बढाउन संघर्ष गर्नुपर्ने अवस्था आएको छ । एजेन्सी