काठमाडौं । एनआईसी एशिया बैंकले क्यूआर कोडमार्फत भएको भुक्तानीको जानकारी आवाजबाटै तत्काल प्राप्त हुने ‘स्मार्ट अडियो अलर्ट’ डिभाइस सार्वजनिक गरेको छ । यस बैंकको क्यूआर कोड भुक्तानी प्रणालीमा आबद्ध भएका सेवाग्राहीले उक्त प्रणालीमा भुक्तानी लिँदा एसएमएस वा इमेल अलर्टको अतिरिक्त यो डिभाइसमार्फत आवाजबाटै भुक्तानी प्राप्त भएको पुष्टि गर्न सक्नेछन् । डिजिटल बैंकिङलाई थप सहज, सरल र सुरक्षित बनाउने उद्देश्यले यो डिभाइसको शुरुआत गरिएको बैंकको भनाइ छ । यस डिभाइसमा नेपाल पे क्यूआरबाट भुक्तानी गर्दा मौखिक जानकारी प्राप्त हुने बताइएको छ । निकट भविष्यमा अन्य भुक्तानी नेटवर्कबाट भुक्तानी गर्दा समेत यस्तै सूचना दिने व्यवस्थाको तयारी गरिरहेको बैंकको भनाइ छ ।