केही वर्षअघिको कुरा हो, एकपछि अर्को ठेलीका ठेली विकास योजना बनाउँदा थकाइ लागेपछि नेपाल सरकारका योजनाविद् र विकासविद्हरू आफूले गरेको विकासको के कस्तो असर परेछ भनेर हेर्न राजधानीका सडक गल्ल्तीतिर टहलिएछन् । सडकगल्ली र चोकहरूमा थुप्रिएको फोहोर र हरेकजसो घरमा झुन्डिएको अक्सफोर्ड, क्याम्ब्रिज, ट्रिनिटी, पेन्टागन, नासा, एलए, स्ट्यान्डर्ड चार्टर्ड, टेक्सस, बोस्टन, सिकागो, ह्वाइटहाउस, जस्ता अंग्रेजीका बडेमानका साइनबोर्ड देखेपछि विद्वान् योजनाविद् एवं अर्थशास्त्रीहरू सुखद् आश्चर्यमा परेछन् । भोलिपल्टै योजना आयोगको कार्यकक्षमा पत्रकार सम्मेलन गरेर उनीहरूले सहर्ष घोषणा गरिदिए, ‘नेपालको गरिबी ३० बाट २१ प्रतिशतमा झरिसकेको छ ।’ यो नयाँ आँकडाको पुष्टिका निम्ति विद्वान् योजनाकारहरूले दुईवटा आधार प्रमाण अघि सारेका थिए । पहिलो प्रमाण थियो, सडकमा थुप्रिएको फोहोरको डुंगुर । ‘नेपालीहरू गरीबबाट धनी भए । धनी भएपछि धेरै उपभोग गर्न थाले । धेरै उपभोग गरेपछि फोहोर पनि धेरै पैदा हुन थाल्यो ।’ उनीहरूले व्याख्या गरे । अर्थविद्हरूको यो तर्कलाई त्यहाँ उपस्थित आर्थिक पत्रकारहरूले खुबै सह्राए, कसैले प्रतिप्रश्न गरेन ।
नेपालको गरिबी घटेको दोस्रो प्रमाण त झनै दमदार थियो अर्थात् गरीब नघटेको भए धनी देशका सहर कार्यालय, कलेज, सडक आदिका नाम जस्ताको तस्तै नेपाली शहरका गल्लीमा फेला पार्न कसरी सम्भव हुन्थ्यो ? यो तर्कको पनि कसैले खण्डन गर्न आँट गरेन । परिणामत: वर्षौंसम्म झन्डै ८० प्रतिशत नेपालीहरू धनी भइसकेको विश्वास गरेर बसियो ।
(तीतोमीठोबाट)
अंक ३७, २०६७, जेठ ३–९