मुग्लिङ पोखरा सडक विस्तार : तनहुँ खण्डमा धमाधम रुख कटान हुँदै

माघ १४, दमौली । मुग्लिङ पोखरा सडक विस्तार योजना अन्तर्गत तनहुँ खण्डमा धमाधम रुख कटान भइरहेको छ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँ खण्डमा सडकका दायाँबायाँ रहेका रुख कटानलाई तीव्र पारिएको हो ।  मुग्लिङ पोखरा सडक चार लेन बनाउने योजना अन्तर्गत सडक क्षेत्रभित्र पर्ने रुख हटाउन थालिएको मुग्लिङ पोखरा सडक योजना (पूर्वी खण्ड) का प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिए । ‘पूर्वी खण्ड अन्तर्गत जामुनेदेखि आँबुखैरेनीसम्म करीब ५० प्रतिशत रुख काटिसकिएको छ,’ उनले भने, ‘रुख कटान सकिएलगत्तै बाँकी कामलाई पनि अगाडी बढाउँछौ ।’ उनका अनुसार आयोजनाले बाटो चौडा गर्ने कामलाई पनि अगाडी बढाइरहेको छ ।  जामुनेदेखि पोखरासम्मको खण्डमा तीन हजार १६३ रुख कटान गर्नु पर्नेमा हालसम्म एक हजार ८०० रुख कटान गरिएको छ । पश्चिम खण्डको ठेक्का सम्झौता केही पछि भएकाले यस खण्डमा काम शुरु गर्न केही ढिलाइ भएको थियो । रुख कटानपछि बिजुलीका पोल स्थानान्तरण र घर टहरा हटाउन शुरु गरिने बताइएको छ । सडक विस्तारका क्रममा तनहुँ खण्डमा ६ हजार सात सय ५० रुख हटाउनुपर्ने हुन्छ । सडक आयोजनाले रुख काटेर वन कार्यालयलाई बुझाउने डिभिजन वन कार्यालयका सहायक वन अधिकृत काशीराज पण्डितले जानकारी दिए ।  सो सडक विस्तार योजनालाई दुई खण्डमा विभाजन गरेर अगाडी बढाइएको छ । जामुनेदेखि आँबुखैरेनीसम्म र जामुनेदेखि पोखरासम्म खण्डमा विभाजन गरी ठेक्का लगाइएको छ ।  विसं २०२६ सालमा रेखांकन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । असी किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरेर ठेक्का लगाइएको छ ।  आँबुखैरेनी–जामुने पूर्वी खण्डको ४१ दशमलव ४५ किलोमिटर सडक स्तरोन्नतिको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । जामुने–पोखरा पश्चिम खण्डको ३९ किलोमिटरको ठेक्का चिनियाँ कम्पनी यनहुइ काइयुआन हाइवे एन्ड ब्रिज कम्पनीले पाएको छ । आँबुखैरेनी–जामुने पूर्वी खण्डका लागि रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा ठेक्का लागेको छ ।  मुग्लिन पोखरा सडक योजना पश्चिम (जामुने–पोखरा) खण्डको ठेक्का पाएको यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सनले पाएको छ । यस खण्डका लागि रू. सात अर्ब ४० करोड ४६ लाखमा ठेक्का लागेको छ । चार लेनको बन्दा सडक सीमा दुईतर्फी २५/२५ मिटर हुनेछ । बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाईको सडक बन्नेछ । डिजाईन अनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ । दुलेगौडादेखि खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौडादेखि पोखरासम्म सडकको चौडाई ४६ मिटरको हुनेछ ।  सडक चार लेनको बन्दा अहिले भएका पुलको ठाउँमा नयाँ पुल बन्नेछ । आँबुखैरेनीदेखि पोखरासम्मको ८० किलोमिटर दूरीमा सडक चार लेन भएसँगै ३१ नयाँ मोटरेबल पुल निर्माण गर्नुपर्ने आयोजनाले जानकारी दिएको छ ।  ३१ पुलमध्ये दमौलीस्थित मादी नदी र पोखरास्थिती सेती नदीमा पुल निर्माणको ठेक्का लगाउन बाँकी रहेको छ । अन्य २९ पुल दुई प्याकेजमा लगाइएको ठेक्का अन्तर्गत नै निर्माण हुनेछ । रासस

सम्बन्धित सामग्री

मुग्लिङ–पोखरा सडक : पश्चिम खण्डबाट विस्तारको काम शुरू

दमौली । पृथ्वी राजमार्गको मुग्लिङ–पोखरा सडक विस्तार कार्य अन्तर्गत तनहुँको पश्चिम खण्डबाट काम शुरू भएको छ । राजमार्ग विस्तारका लागि जामुने–पोखरा खण्ड अन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित कोत्रेबाट काम शुरू भएको हो । राजमार्गलाई चार लेनको बनाउन तनहुँमा दुई खण्ड विभाजन गरी काम अघि बढाइएको छ । पश्चिम खण्ड सडक चौडा बनाउने कामको शुभारम्भ पश्चिम खण्डका आयोजना प्रमुख अमितकुमार श्रेष्ठले गरेका छन् । पश्चिम (जामुने–पोखरा) खण्ड निर्माणको जिम्मा यनहुई काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सन कम्पनीले पाएको छ । शुक्लागण्डकीस्थित दुलेगौंडा–कोत्रे खण्डमा सडक भत्किएर खाल्डाखुल्डी भएपछि हलेदी, गाछेपानीलगायतका स्थानीयले सोही स्थानबाट कामको शुरु हुनुपर्ने माग राख्दै आन्दोलन गरेका थिए । आयोजनाको पूर्वी खण्ड आँबुखैरेनी–जामुनेतर्फ पनि सडक चौडा बनाउने काम भइरहेको छ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सन कम्पनीले पाएको छ । सडक विस्तार कार्यका लागि हाल राजमार्ग आसपासका रुख काटिएका छन् । हालसम्म पूर्वी खण्डमा ३ हजार १४ रुख कटान भइसकेका छन् भने पश्चिम खण्डमा २ हजार २८० रुख काटिएका छन् ।      २०२६ सालमा रेखांकन भएको सडकमा सवारीसाधनको चाप बढ्दै गएपछि एशियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा चार लेनको बनाउन लागिएको हो । ८० किलोमीटर सडकलाई दुई खण्डमा विभाजन गरेर ठेक्का लगाइएको छ । पूर्वी खण्डको ठेक्का ६ अर्ब २१ करोड ३१ लाख र पश्चिम खण्डको ठेक्का ७ अर्ब ४० करोड ४६ लाख रुपैयाँमा लगाइएको छ । सडक चार लेनको निर्माण हुँदा सडकसीमा दुईतर्फी २५/२५ मीटर हुनेछ । बाक्लो बस्ती भएका स्थानमा ४१ मीटर चौडाइको सडक बन्ने भएको छ । आयोजनाको डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मीटरको सडक बन्नेछ । दुलेगौंडाबाट खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौंडादेखि पोखरासम्म सडकको चौडाइ ४६ मीटरको हुनेछ । सडक चार लेनको निर्माण हुँदा हाल भइरहेको पुलको ठाउँमा नयाँ पुल बन्नेछ । आँबुखैरेनीदेखि पोखरासम्मको ८० किलोमीटर दूरीमा सडक चार लेन भएसँगै ३१ नयाँ मोटरेबल पुल निर्माण गर्ने योजना छ । आँबुखैरेनीदेखि मुग्लिङ खण्डको आठ किलोमीटर दूरीको भने डिजाइन हुँदै छ । यो खण्डमा मर्स्याङ्दी जलविद्युत् गृह पनि पर्छ । जलविद्युत् गृह र सडक फराकिलो बनाउन सकस हुने भएपछि सडकको रेखांकन नै परिवर्तन गर्नुपरेको बताइएको छ । रासस

मुग्लिङ-पोखरा सडक विस्तार : तनहुँ खण्डमा थालियो रुख कटान

काठमाडौं । मुग्लिङ–पोखरा सडक विस्तार योजना अन्तर्गत तनहुँ खण्डमा रुख कटान थालिएको छ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँ खण्डमा सडकका दायाँबायाँ रहेका रुख कटानलाई तीव्र पारिएको हो । मुग्लिङ– पोखरा सडक चार लेन बनाउने योजना अन्तर्गत सडक क्षेत्रभित्र पर्ने रुख हटाउन थालिएको मुग्लिङ पोखरा सडक योजना पूर्वी खण्डका प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिनुभयो । पूर्वी खण्ड […]

काटिए दमौली बजारका रूख

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको दमौली बजारस्थित मुख्यचोकमा कटान गरिएका रुख । मुग्लिङ पोखरा सडक विस्तारका लागि अहिले रुख कटान कार्य जारी छ । तस्वीरः कृष्ण न्यौपाने/रासस