म्याग्दी । बेनी नगरपालिका–२ फापरखेतका ५५ वर्षीय क्याङ््लो सार्कीको अहिलेसम्मको जिन्दगी डोको बुनेरै धानिएको छ । बिहान उठेदेखि राती नसुतुन्जेल चोयासँग खेल्दै उनको समय बित्छ ।
सार्कीले २० वर्षको उमेरदेखि बाँस र निगालाको चोयासँग खेलेर डोको बुन्दै जवानीका रमाइला दिन बिताइसकेका छन् ।
बुनेका यिनै डोका बिक्री गरेर आएको पैसाले उनले ६ जनाको परिवारको गुजारा चलाउनुपर्ने बाध्यता छ ।
सार्कीले डोको बुनेरै मासिक २० हजार रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएका छन् । यही पैसाले आफ्ना परिवारको पालनपोषण, शिक्षादीक्षा र औषधोपचार गर्दै आएको उनी सुनाउँछन् ।
उमेरले बुढ्यौलीलाई छुन लागेको भए पनि डोको बुनाइमा भने उनको जाँगर जवानी अवस्थाजस्तै देखिन्छ । बिहान उठेदेखि रात नपरुञ्जेल डोको बुनेरै दिन बितेको उनलाई पत्तै हुँदैन ।
‘डोको बुन्ने कामले उमेर ढल्कँदै गएको ख्यालै भएन, अझै पनि जवानी नै छु जस्तो लाग्छ । तर, उमेरको हिसाब गर्दा ५५ पो काट्न लागेछु’ असिनपसिन अनुहारमा मुस्कुराउँदै उनले भने ।
सार्कीले ३५ वर्षदेखि सुरु गरेको यो पेसालाई अहिलेसम्म पनि निरन्तरता दिँदै आएका छन् । उनले घरमै बसेर डोको बुनेरै दिनहुँ आम्दानी गरिरहेका छन् ।
विपन्न सार्कीको डोको नबुनेसम्म साँझ–बिहानको हातमुख जोर्ने अर्को उपाय नै थिएन । डोको बुनेरै उनको परिवारको जीविका चलेको छ ।
पहिले–पहिले गाउँघरमा प्रयोग हुने डोको, थुन्से, भकारी बुनेर घरघरमा बिक्रीका लागि पुग्ने गर्थे । अहिले घरमै ग्राहक दिनहुँ आउने गरेको उनले बताए ।
गाउँघरमा थुन्से, भकारीको चलनचल्ती कम हुँदै जाँदा सार्कीले डोको उत्पादनलाई बढी प्राथमिकता दिने गरेका छन् । खरिद गर्नेले पनि बढी डोको नै खोज्ने गरेको उनको भनाइ छ ।
दिनमा ८ देखि १० वटासम्म डोको बुन्ने गरेका सार्कीले बाँस निगालोको मूल्य र आफ्नो दैनिक ज्याला कटाएर मासिक २० हजारजति बचत हुने गरेको सुनाए ।
एउटा डोको २५० देखि ३५० रुपैयाँसम्ममा बिक्री हुने गरेको उनले बताए । बचत पैसा पीपलडाँडास्थित सहकारीमा जम्मा गर्दै आएका छन् ।
‘मिहिनेत गरियो भने पैसा कमाउनकै लागि अन्यत्र धाउनुपर्दैन । काम गरेअनुसार परिश्रम पाएको छु’, सार्की खुसी सुनिए ।
डोकोको माग अत्यधिक हुने गरेकाले पुर्याउन मुस्किल परेको सार्कीले बताए । ‘पहिले नै अर्डर हुन्छ । ग्राहकको माग बढ्दो छ,’ उनी भन्छन् ।