काठमाडौं (अस) । कीर्तिपुर नगरपालिकामा पहिलो पटक तीन वटा सहकारी एकीकरण भएका छन् । कीर्तिपुर–९ स्थित दर्शन बचत तथा ऋण सहकारी संस्था, काठमाडौं महानगर–१७ को सोनित्य बचत तथा ऋण सहकारी संस्था र काठमाडौं महानगर–१७ अनामनगर रहेको आदिवासि जनजाति महिला बचत तथा ऋण सहकारी संस्थाबीच एकीकरण प्रक्रिया सम्पन्न भएको हो ।
बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय सहकारी महाशाखाबाट वैशाख ९ गते उक्त एकीकरण प्रक्रिया स्वीकृत भएसँगै एकीकरण सम्पन्न भएको हो ।
तीनै संस्थाबीच गठन भएको एकीकरण कार्यदलबीचको छलफल एवं तीन वटै संस्थाको पछिल्लो साधारणसभा र एकीकृत साधारणसभाबाट तीन संस्थाबीच एकीकरण गर्ने निर्णय
भएको थियो ।
तीन वटा सहकारी एकीकृत भएपछि काठमाडौं–१७ खुसिबुँ र चन्द्रागिरि नगरपालिकामा सेवा केन्द्र सञ्चालन गरिने संस्थाका प्रमुख कार्यकारी अधिकृत सुवर्ण महर्जनले बताए । अन्य केही स्थानमा पनि चाँडै सेवा केन्द्र विस्तार हुने उनले जानकारी दिए ।
संस्थाको एकीकृत साधारणसभाबाट दिनेश दर्शनधारीको अध्यक्षतामा ७ सदस्यीय नयाँ सञ्चालक समिति गठन भएको छ । उपाध्यक्षमा तारा तुलाधर, सचिवमा यशोदा राई, कोषाध्यक्षमा जेनु महर्जन, सदस्यमा शान्ति कुमारी राई, दीपक नेपाली र जेनिस महर्जन सर्वसम्मत निर्वाचित भएका छन् ।
त्यसैगरी सल्लाहकारमा रीता श्रेष्ठ, शिव श्रेष्ठ, बुद्धिबहादुर महर्जन, नजरराम महर्जन, बुद्धिबहादुर माली, छविलाल जोशी, बछला दर्शनधारी, बुद्धिबहादुर महर्जन–२, नजराम महर्जन–२ मनोनीत भएको संस्थाले जनाएको छ ।