यो हो ३ करोड रुपैयाँको साँढे, दक्षिण कोरियाबाट चार्टर प्लेनमा ल्याइयो काठमाडौं

काठमाडौं । नेपालमा दक्षिण कोरियाबाट उन्नत जातको साँढे ल्याइएको छ । दक्षिण कोरियाबाट कार्गो बीमानमा ल्याइएको साँढेको मूल्य करीब ३ करोड रुपैयाँ (२ लाख ५० हजार अमेरिकी डलर) रहेको छ ।  हेफर इन्टरनेसनल नेपालको सहयोगमा नेपाल ल्याइएको साँढेलाई त्रिभुवन विमानस्थलबाट लहानतर्फ लगिएको बताइएको छ । उक्त संस्थाको सहयोगमा ३ महीना अघि १०० भन्दा बढी गाई र साँढे नेपाल ल्याइसकिएको छ । यस अघि ल्याइएका बाच्छा बाच्छीको मूल्य २ देखि ३ हजार अमेरिकी डलर अर्थात नेपाली २ लाख ६५ हजार देखि करीब ४ लाख रुपैयाँसम्म रहेको थियो । कोरिया सरकारले अनुदानमा दिएका गाई सिन्धुलीका किसानलाई पनि अनुदानमै दिइएको थियो । पहिलेको र अहिलेको कार्गो विमान चार्टड गर्दा लागेको ढुवानी खर्च भने सबै हेफरले नै ब्यहोरेको छ । सबै बाच्छा बाच्छी किसानलाई हस्तान्तरण गरेपछि यिनको रेखदेख र पालनपोषणको सबै जिम्मा किसान र नेपाल सरकारको हुनेछ । यी गाई र साँढे 'मिल्की वे' परियोजना सञ्चालन गर्न ल्याइएका हुन् । उक्त कार्य हेफर इन्टरनेशनल, पशुसेवा विभाग, राष्ट्रिय दुग्ध विकास बोर्डले संयुक्तरूपमा सञ्चालन गर्ने छन् ।