बैशाख १६, काठमाडौं । कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा चार्टर्ड एकाउन्टेन्ट रामचन्द्र खनाल ४ वर्षको लागि नियुक्त भएका छन् ।
यसअघि बैंकको कायम मुकायम (कामू) सीइओको रुपमा कार्यरत उनी बैंकको सीईओमा नियुक्त भएका हुन् । उनी कामु सीईओ बनेको साढे दुई महिनामै सीईओ बनेका हुन् ।
कामु हुँदा नै खनालले बैंकको वित्तीय अवस्थामा सुधार ल्याएपछि सञ्चालक समितिले उनलाई नै सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो ।
बैंकका तत्कालिन कामु सीईओ अनुजमणी तिमल्सिना र नायब प्रमुख कार्यकारी अधिकृत मनिस तिमल्सिना स्वेच्छिक अवकास लिएर बैंकबाट बाहिरिएपछि खनालले कामु सीईओको जिम्मेवारी पाएका थिए ।
बैंकले माघ २४ मा खनाललाई कामू प्रमुख कार्यकारी अधिकृतको जिम्मा दिएको थियो । उनीसँग करिब डेढ दशक बैंकिङ क्षेत्रमा काम गरेकाे अनुभव छ । उनले एनआईसी एसिया क्यापिटलमा सीईओको रुपमा पनि काम गरिसकेका छन् ।