काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडले नयाँ सञ्चालक समिति चयन गरेको छ ।
कम्पनीको पुस २९ गते सम्पन्न सातौं वार्षिक साधारण सभाबाट पाँच सञ्चालक निर्वाचित भएका थिए । सभाले आगामी चार वर्षे कार्यकालका लागि रोहित गुप्ता, गौरव गोयल, रघुनन्दन मारु, गौरव शारडा र शैलजा राई नयाँ सञ्चालकमा निर्वाचित गरेको छ ।
निर्वाचित नया सञ्चालकहरूको पहिलो बैठकले गौरव गोयललाई सञ्चालक समितिको अध्यक्षमा नियुक्त गरेको हो । हाल कम्पनीमा एक जना स्वतन्त्र सञ्चालकसहित ६ सदस्यीय सञ्चालक समिति रहेको छ । नेपाल सरकारका पूर्व सचिवसमेत रहेका चन्द्र कुमार घिमिरे सञ्चालक समितिमा स्वतन्त्र व्यवसायिक विशेषज्ञको पदमा नियुक्त छन् । सभाले घिमिरेलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णयलाई समेत अनुमोदन गरेको छ ।
सभाले सञ्चालक निर्वाचनसँगै प्रस्तावित कुल १० दशमलव ५३ प्रतिशत नगद लाभांशसमेत पारित गरेको छ । कम्पनीले हाल कायम चुक्तापूँजी रू. ४ अर्ब ४० करोडको आधारमा १० दशमलव ५३ प्रतिशत कर समेत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस २० गते एक दिन बुक क्लोज गरेकाले पुस १९ गतेसम्म कायम शेयरधनीहरूले मात्र नगद लाभांश प्राप्त गर्नेछन् । यस वर्ष कम्पनीले हालसम्मकै कम लाभांश वितरण गरेको हो ।
कम्पनीले वितरण गरेको पाँच ओटा आर्थिक वर्षको लाभांशको तथ्याङ्कलाई हेर्दा गत वर्ष हालसम्मकै उच्च लाभांश वितरण गरेको थियो । गत वर्ष कम्पनीले २९ प्रतिशत कर समेत लाभांश वितरण गरेको थियो।