मर्दी पदयात्रा मार्ग स्तरोन्नति धमाधम : ओइरिँदै पर्यटक

पोखरा । मर्दी हिमाल पदयात्रा मार्गको स्तरोनतिका काम धमाधम अघि बढेका छन् । छोटो समयको पदयात्रामार्फत हिमाल चुम्न सकिने चासो र चर्चा कमाएका पदमार्गका रूपमा मर्दी हिमाल पदयात्रा मार्गको स्तरोनति थालिएको हो । पछिल्ला वर्षमा स्वदेशी एवं विदेशी पर्यटकको बढ्दो आकर्षणसँगै राज्यको समेत चासो पुगेको पदमार्गमा पर्यटन विभागको सहयोगमा स्तरोन्नतिका काम अघि बढाइएको हो । स्तरोन्नतिअन्तर्गत पदमार्गको लो क्याम्पबाट भ्यू प्वाइन्टसम्म ४ हजार २०० सिँढी निर्माण गरिएको छ भने २५० घनमिटर मेसिनरी वाल निर्माण गरिएको छ ।       त्यस्तै, पदमार्गका विभिन्न अप्ठेरा स्थानमा गरी ४ हजार किलो तौलको फलामबाट ठाउँ–ठाउँमा रेलिङ राख्ने काम सम्पन्न भएको पर्यटन व्यवसायी एवं मर्दी ट्रेक पर्यटन व्यवस्थापन तथा व्यवसायी समितिका संस्थापक अध्यक्ष सुदीप गौतमले जानकारी दिए । मर्दी ट्रेक जुनसुकै उमेर समूहका व्यक्तिले पनि पदयात्रा गर्न सक्ने पदमार्ग भएकाले पछिल्ला वर्षमा यो स्वदेशी एवं विदेशी पर्यटकको रोजाइमा परेको उनले बताए ।      प्राकृतिक सुन्दरताले भरिएको यस पदयात्रा मार्गका हरेक मनमोहक दृश्य यहाँको विशिष्टता भएको बताउँदै गौतमले कोरोना कहरका कारण यस क्षेत्रको पदयात्रा पनि प्रभावित बनेको जानकारी दिए । गुराँस फुल्ने जंगलैजंगल चराचुरुंगीको चिरविराहट सुन्दै र देख्दै हिँड्न सकिने यस मार्गमा सबै उमेर समूहका व्यक्तिले पदयात्रा गर्न सक्छन् । चाँदीजस्तै टलक्क टल्किएका माछापुच्छ«े, मर्दी, अन्नपूर्ण साउथ, गङगापूर्णजस्ता हिमाललाई एकैसाथ अवलोकन गर्न सकिन्छ ।      कोरोना कहर अन्त्य भई पदयात्रा पर्यटन पूर्ववत् अवस्थामा फर्कने विश्वासमा यस क्षेत्रका पर्यटन व्यवसायी रहेको गौतमले बताए । उनका अनुसार पदयात्रा मार्गको धम्पुसदेखि अस्ट्रेलियन क्याम्प, पोथना, देउराली, लो क्याम्प, फोरेस्ट क्याम्प, बादलडाँडा, मर्दी हाइक्याम्प हुँदै भ्यू प्वाइन्टसम्म लगभग १०० वटा होटल रहेका छन् । पदयात्रा पर्यटनलाई पूर्ववत् अवस्थामा फर्काउन यस क्षेत्रका सबै  व्यवसायी तथा मजदुरलाई कोरोनाविरुद्धको खोप लगाउनु आवश्यक भएको उनको धारणा छ ।      नेपालको राष्ट्रिय फूल लालीगुराँसले ढकमक्क ढाकिएको जंगलैजंगलबीच हिँड्ने पदमार्ग भएकाले चैत, वैशाखको समय यहाँको सुन्दरता रमणीय हुने  होटल व्यवसायी बताउँछन् । उनीहरूका अनुसार पदयात्रा गर्दा सुरुमा गुलाबी रङको गुराँस देखिए पनि माथि जाँदै गर्दा गाढा रङको लालीगुराँस देख्न पाइनु अर्को महत्वपूर्ण पक्ष हो । मर्दीलगायत पदमार्ग स्वदेशी एवं विदेशी पर्यटकको आकर्षण बनेको बताउने ट्रेकिङ एजेन्सिज एसोसिएसन नेपाल(टान) पश्चिमाञ्चल क्षेत्रीय संद्दका पूर्वअध्यक्ष सोम थापाले कोरोनाका कारण पर्यटन क्षेत्र नराम्रोसँग प्रभावित भएको सुनाए ।      कोरोना कहरका बीचमा पनि पदमार्ग स्तरोन्नति हुनुले पर्यटकीय गतिविधिमा थप टेवा पुर्‍याउने बताउँदै पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्षसमेत रहेका थापाले पदयात्रा मार्गमा व्यवसायी तथा मजदुर सबैलाई खोपको पूर्ण मात्रा लगाइनुपर्नेमा जोड दिए । मर्दी हाइक्याम्पस्थित होटल ट्रेकेस प्याराडाइजका सञ्चालकसमेत रहेका सुदीप गौतमका अनुसार सन् २००७ मा मर्दी हाइक्याम्पमा होटल खोलिएसँगै पदमार्ग क्षेत्रका अन्य स्थानमा होटल निर्माणले गति लिएको छ । कास्कीको काँडेबाट सुरु हुने यो पदयात्रा मार्ग अस्ट्रेलियन क्याम्प, पोथना, प्रितम देउराली, फोरेस्ट क्याम्प, लो क्याम्प, बादलडाँडा हुँदै मर्दी हाइक्याम्पसम्म पुग्छ । यी सबै स्थानमा बस्न र खानका लागि होटल सञ्चालनमा आइसकेका छन् ।      समुद्री सतहबाट ३ हजार ५५० मिटर उचाइको मर्दी हाइक्याम्पबाट करिब दुई घन्टामा ४ हजार २०० मिटर उचाइको ‘भ्यू प्वाइन्ट’ र त्यहाँबाट दुई घन्टामा ५ हजार ५०० मिटर उचाइको मर्दी आधार शिविर पुग्न सकिन्छ । सुरुमा काँडे हुँदै पदयात्रा गर्नेहरू फर्कंदा भने माछापुच्छ्रे गाउँपालिकाको सिदिङबाट आउँछन् । सिदिङसम्म जीप जाने भएकाले त्यहाँबाट झन्डै दुई घन्टाको समयावधिमा पर्यटक पोखरा पुग्छन् । प्रकृतिमा आधारित पदमार्गका रूपमा स्थापित यो पदमार्गमाको लो क्याम्पबाट भ्यू प्वाइन्टसम्म ४ हजार २०० सिँढी निर्माणका साथै मेसिनरी वाल, रेलिङ आदि निर्माणले पदयात्रालाई थप सुरक्षित बनाउने पर्यटन व्यवसायी बताउँछन् ।      कोरोना कहरका कारण प्रभावित पदयात्रा पर्यटनलाई जोगाउन नेपाल पर्यटन बोर्ड र युनडिपीको संयुक्त प्रयासमा पदयात्रा पर्यटन लक्षित कार्यक्रम अघि बढाउने तयारी गरिएको छ । पदयात्रा क्षेत्रका मजदुरलाई पेसामा टिकाइराख्न उनीहरूलाई बिग्रे/भत्केका पदमार्गमर्मत गर्न लगाउँदै रोजगारी सिर्जना गरी केही न केही राहत पुर्‍याउनेलगायत योजना अघि बढाउन लागिएको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख काशीराज भण्डारीले जानकारी दिए ।      पदयात्रा पर्यटनसँग जोडिएका मजदुरलाई यस पेसामा टिकाउनु आवश्यक भएको बताउँदै उनले कोरोना कहर अन्त्य भएसँगै पर्यटन क्षेत्रले पुनः गति लिने विश्वास व्यक्त गरे ।