आजको विश्व मानव समाज विगतमा जस्तो टाढा, ढिलो र बेखबर छैन । विद्युतीय सञ्चार माध्यममार्फत पलभरमै सबैखाले सूचना लिन–दिन सकिन्छ । यसका लागि सबैभन्दा छिटो र सजिलो माध्यम भनेको सामाजिक सञ्जाल नै हो । यो २१औँ शदीको मानव समुदायको सिङ्गो सामाजिकी बन्न पुगेको छ । कतिसम्म भने अब सामाजिक सञ्जालबिनाको कुनै व्यक्ति, वस्तु, संस्था, सत्ता र क्रियाकलाप कल्पना नै गर्न सकिन्न । यो मानव समुदायको अभिन्न अर्थराजनीतिक जीवन पद्धति बनिसकेको छ । यसलाई कुनै पनि कारण वा बाहनामा अलग राख्न खोज्नु मूर्खता मात्र हुन्छ ।