कुमारी धनवृद्धि योजनाको नाफा फागुनमा आधाभन्दा बढीले घट्यो

काठमाडौं । कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालित कुमारी धनवृद्धि योजनाको नाफा माघको तुलनामा फागुनमा घटेको छ ।  माघ मसान्तसम्म रू. ८ करोड २३ लाखभन्दा बढी नाफा गरेको यस योजनाले फागुन मसान्तसम्म भने रू. ४ करोड ९ लाखभन्दा बढी नाफा गरेको हो । फागुन महीनामा योजनाले रू. ५ करोड ६ लाखभन्दा बढी मात्र आम्दानी गरेको छ । यो आम्दानी माघमा रू. ९ करोड ५५ लाखभन्दा बढी थियो । माघको तुलनामा फागुनमा आम्दानी घटेको योजनाको खर्च भने बढेको छ । माघमा रू. १ करोड ३१ लाखभन्दा बढी खर्च गरेको योजनाले फागुनमा रू. १ करोड ५० लाखभन्दा बढी खर्च गरेको हो । आम्दानी कम र खर्च बढी भएकाले योजनाको नाफामा असर परेको देखिन्छ । माघ मसान्तसम्मको अवस्थामा प्रतिइकाई खुद मूल्य रू. १० दशमलव ६५ रहेको योजनाको फागुनमा यो मूल्य घटेर रू. १० दशमलव ३२ कायम भएको छ । योजनाको खुद सम्पत्ति माघमा रू. १२ करोड २५ लाखभन्दा बढी रहेकोमा फागुनमा रू. १२ करोड ६३ लाखभन्दा बढी कायम भएको छ । १० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजना गत असार ३ गतेदेखि सञ्चालनमा रहेको छ । योजना सञ्चालनको ९ महीनामा योजनाको वित्तीय अवस्था राम्रो रहेको देखिन्छ । यस योजना सञ्चालनका लागि १२ करोड २५ लाख ७ हजार २५९ इकाई विक्री गरिएको थियो । धितोपत्र बजारमा लगानी गर्ने प्रमुख उदेश्य सहित सञ्चालित यस योजनाले फागुन मसान्तसम्म धितोपत्रमा कमिसन सहित रू. ७७ करोड ८० लाख ३० हजार लगानी गरेको छ । योजनाले धितोपत्रमा गरेको लगानीको बजारमूल्य भने रू. १८ करोड ५७ लाख १८ हजारले कम रहेको छ । फागुन मसान्तसम्म योजनाले धितोपत्रमा गरेको लगानीको बजारमूल्य रू. ५९ करोड २० लाख ८५ हजार रहेको छ । बैंक मुद्दती निक्षेपमा योजनाको रू. १८ करोड लगानी रहेको छ ।  सूचना हेर्न यहाँ क्लिक गर्नुहोस् ।