काठमाडौं । बहुपक्षीय कर्जादाता निकाय अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) र पाकिस्तानबीच सोमबारदेखि भर्चुअल वार्ता शुरू भएको छ । वार्ता कहिलेसम्म चल्छ भन्ने स्पष्ट नभए पनि छिट्टै वार्ता टुंग्याउन खोजेको पाकिस्तानका अर्थ सचिव हमिद याकूब शेखले रोयटर्सलाई भनेका छन् ।
जनवरी ३१ देखि फेब्रअुरी ९ सम्म १० दिन दुई पक्षबीच बृहत् छलफल भएको थियो । तर उक्त वार्ता निष्कर्षमा पुग्न सकेन । बृहत् आर्थिक स्थायित्व सुनिश्चित गर्न प्रधानमन्त्री शहबाज शरिफले गरेको वाचाको कोषले सराहाना गरेको छ । घरेलु र बाह्य असन्तुलनलाई सम्बोधन गर्ने नीतिगत उपायमा पनि उल्लेख्य प्रगति भएको कोषले भनेको छ ।
राजस्व बढाउने, अनुदान कम गर्ने र सामाजिक सुरक्षा कार्यक्रमहरू बढाउनुलाई प्राथमिकता दिइएको छ । समयमै यी नीतिहरूको निर्णायक कार्यान्वयनको साथै आधिकारिक साझेदारहरूबाट पाउने वित्तीय टेवाले पाकिस्तानको बृहत् आर्थिक स्थायित्व पुनः प्राप्ति पाकिस्तानको दिगो विकासमा महत्त्वपूर्ण छ ।
कोषको सहायताबिनै पाकिस्तानलाई दिँदै आएको वित्तीय टेवा उपलब्ध गराउन चीन र साउदी अरबलगायत द्विपक्षीय साझेदारहरू अनिच्छुक छन् । यस्तोमा वित्तीय उद्धारबापतको अर्को किस्ताको रकम जारी गर्नुअघि नै पाकिस्तानले सहमति जनाएका उपायहरूमा काम गरोस् भन्नेमा कोष अडिग छ ।
यो पल्ट कोष पाकिस्तानले आफ्नो वाचामा खेलाँची नगरोस् भन्ने सुश्चित गर्न खोजिँदै छ । अहिले पाकिस्तानसामु कोषबाहेक अरू कुनै साहारा र विकल्प छैन । एजेन्सी