बुटवल उपमहानगरपालिकामा यो वर्ष सबैभन्दा धेरै डेङ्गु सङ्क्रमित भेटिएपछि लामखुट्टे खोज र नष्ट गर अभियान सुरु गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार सबैभन्दा बढी डेङ्गुको जोखिम बुटवलमा छ । गत साउन महिनामा मात्रै बुटवलमा ९१ जनामा डेङ्गु सङ्क्रमण भेटिएको थियो । त्यसपछि तिलोत्तमा र भैरहवामा डेङ्गुको जोखिम उच्च छ । डेङ्गु सङ्क्रमणबाट जोगिन स्वास्थ्य कार्यालय रुपन्देहीले सबैलाई आग्रह गरेको छ । रुपन्देहीमा पछिल्ला समय डेङ्गु सङ्क्रमण बढ्न थालेपछि बुटवलसँगै रुपन्देहीका पालिकामा डेङ्गु नियन्त्रण गर्ने उद्देश्यले खोज र नष्ट गर अभियान सञ्चालन गरिएको छ ।