आफ्नै अस्पताल भएका शिक्षण संस्थाले मात्र नर्सिङ पढाउन पाउने

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभिटी) ले १०० शय्याको आफ्नै अस्पताल भएका शिक्षण संस्थाले मात्र प्रमाणपत्र तह (पिसिएल) नर्सिङको पठनपाठन गराउन पाउने निर्णय गरेको छ ।परिषद्का अध्यक्ष एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा हालै बसेको बैठकले मापदण्ड पूरा गरेका कलेजलाई मात्र भर्ना खुला गर्ने निर्णय गरेको हो । परिषद्को निर्णयसँगै स्थगित गरिएको नर्सिङको भर्ना प्रक्रिया अघि बढ्ने सीटीइभिटीका सदस्यसचिव जीवनारायण काफ्लेले जानकारी दिए ।आफ्नै १०० शय्याको अस्पताल भएका निजी शिक्षण संस्थामा पनि विद्यार्थी भर्ना लिन चिकित्सा शिक्षा आयोगले अनुमति दिइसकेको छ । ऐनको प्रावधानअनुसार मापदण्ड पुगेका शिक्षण संस्थामा तत्काल विद्यार्थी भर्ना लिएर शैक्षिक सत्रअघि बढाउने निर्णय भएको काफ्लेले बताए ।परिषद्तहका १०९ मध्ये २४ शिक्षण संस्थाले मात्रै यी दुई मापदण्ड पूरा गरेका छन्  । ती २४ वटा कलेजमध्ये १७ वटा निजी कलेज हुन् भने ७ वटा आङ्गिक कलेज हुन् ।

सम्बन्धित सामग्री

भक्तपुरका प्रत्येक वडामा स्वास्थ्यसेवा केन्द्र

भक्तपुर । भक्तपुर नगरपालिकाले बिहीवारदेखि नगरपालिकाभित्रका सबै वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिका–१ नःपली सिर्जनानगरको आधारभूत स्वास्थ्य सेवा केन्द्र उघ्घाटन गरी सबै वडाको केन्द्रको शुभारम्भ गरेका हुन् । प्रजापतिले भक्तपुर नगरपालिकाले शिशु स्याहारदेखि कलेज तहसम्मका शैक्षिक संस्था सञ्चालन गरी सस्तो र गुणस्तरीय शिक्षा प्रदान गर्ने देशकै एकमात्र स्थानीय तह रहेको दाबी गरे । नगरपालिकाले सामुदायिक शिक्षण संस्था खोलेर हजाराैं जनताका छोराछोरीलाई सस्तोमा उच्च शिक्षा अध्ययन गर्ने अवसर प्रदान गरेको उनले बताए । भक्तपुर नगरपालिकाले ख्वप विश्वविद्यालय सञ्चालन गर्ने लक्ष्यका साथ अगाडि बढिरहेको उल्लेख गर्दै उनले नगरवासीका लागि घरदैलो नर्सिङ सेवा पनि सुरु गर्ने योजना रहेको सुनाए । कार्यक्रममा भनपाका उपप्रमुख रजनी जोशीले यस नगरपालिकाले शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राख्दै विभिन्न शैक्षिक संस्था र स्वास्थ्य केन्द्र मात्र नभई अहिले सुविधायुक्त ख्वप अस्पताल सञ्चालनमा रहेको चर्चा गरिन् । सो अवसरमा सभापति एवं भक्तपुर नगरपालिका–१ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले नःपलीस्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रमा चिकित्सकसहितको मातृत्व, बालरोग, सर्ने तथा नसर्नेलगायत स्वास्थ्य सेवा उपलब्ध हुने बताए । स्वास्थ्य सेवाको भवन निर्माणमा श्रमदान गर्ने सबै स्थानीयवासीको सहयोग रहेको बताए । कार्यक्रममा ख्वप अस्पतालका डा. रत्नसुन्दर लासिवाले आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट बिहान ७ देखि दिउँसो २ बजेसम्म सेवा प्रदान गरिने बताए । नःपली सृजनानगर आधारभूत स्वास्थ्य सेवा केन्द्र भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष सम्झना प्रेमी, नःपली सृजना सेवा समाजका अध्यक्ष राममणि पोखरेल र वडा सदस्य सूर्यप्रसाद श्रेष्ठले स्वास्थ्य सेवाले पुर्‍याउने योगदानको बारेमा चर्चा गरे ।