महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–६ ऐटपुरका ३० वर्षीय हरीश चन्द दैनिकजसो बिहान र साँझ चियाको घुम्ती व्यापारमा व्यस्त देखिन्छन् । पाँच वर्षअघि वैदेशिक रोजगारीको सिलसिलामा दुवई पुगेका उनले त्यहाँ सेक्युरिटी गार्डका रूपमा काम गरेका थिए । गत मङ्सिर १ गतेदेखि आफ्नै ठाउँमा चियाको व्यापार थालेका उनले अहिले दैनिक तीनदेखि चार हजारसम्मको चियाको व्यापार गरिरहेको बताए ।
‘चिया राख्ने भाँडो (हटपट) खरिद गरेर यहाँ पसल–पसलमा बिहान ६ देखि १० र बेलुकी ३ देखि ५ बजेसम्म चियाको व्यापार गर्छु,’ चन्दले भने, ‘मेहनत गरे कमाउन विदेशिनु नै पर्छ भन्ने होइन रहेछ ।’
चियामा थोरै लगानीमा राम्रो आम्दानी हुने गरेको छ । दैनिक १५० देखि २०० कप चिया विक्री हुने गरेको भन्दै उनले आफू यो व्यापारबाट सन्तुष्ट रहेको बताए । ‘अवुधावीमा मासिक एक लाख बचत हुने जागिर छाडेर आफ्नै भूमिमा काम गर्ने सोचले आएँ,’ उनले भने, ‘अहिले बजारमा चिया बेचिरहँदा मिश्रित खालको प्रतिक्रिया पाए पनि म सन्तुष्ट छु ।’
यहाँको आदर्श विद्या निकेतनबाट प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेका चन्दले परिवारबाट पनि सहयोग पाउँदा आफूले सानै भए पनि राम्रै व्यापार गर्न पाइरहेको बताए । ‘बीचको समयमा कोरोनाका कारण यहाँ आए पनि केही काम गर्न सक्ने अवस्था थिएन,’ उनले भने, ‘अहिले कालो चिया प्रतिगिलास १५ र दूध चिया २० का दरले विक्री गरिरहेको छु ।’
चन्दले युवा पिँढी स्वदेशमा काम गर्न नरुचाउने तर विदेश गएर कडा मेहेनत गर्न पनि तयार हुने वातावरण रहेको बताए । ‘तरकारी फलाएर बेच्छु भन्नेलाई सरकारी सहयोग हुने खालका कार्यक्रम ल्याइदिए युवाशक्ति यही बसेर जीविका चलाउन सक्थ्यो,’ उनले भने, ‘हामी युवा पनि सानोतिनो काम गर्न लाज मान्ने गर्नुहुँदैन ।’
घरमै चिया तयार गरेर बजारमा दैनिक विक्री गर्न निस्कने चन्दले यहाँको बजार, बसपार्क, कभर्ड हललगायत क्षेत्रमा चिया विक्री गर्दै आएका छन् । ‘बेलुकी ५ बजेपछि मात्र अलि फुर्सद हुन्छ,’ उनले भने । रासस