हेटौंडा । बाग्मती प्रदेश सरकारको प्रादेशिक संरचनाका लागि भवन बनाउन गठित प्रशासनिक भवन जग्गा पहिचान समितिले हेटौंडाका विभिन्न स्थानको १९५ बिघा जमिन छनोट गरेको छ । समितिले बागमती प्रदेशको राजधानी हेटौंडा–१९ लेवटमा ८० बिघा, हेटाँंडा–१६ मा ५४ बिघा, हेटौंडा–६ चित्रेपानीमा २० देखि २५ बिघा, हेटौंडा– ९ लामसुरे हाइटमा १५ बिघा, हेटौंडा–१७ डिपोचौर हटियामा १२ बिघा, हेटाँंडा–९ मा हेटाँंडा सिमेन्ट उद्योगको रहेको पाँच बिघा, हेटाँंडा भोर्लेमा रहेको २ दशमलव १३ बिघा र हेटौंडा–१७ हटियाको पश्चिम डिपोचौरमा २ दशमलव १४ बिघा जमिन छनोट गरेको आन्तरिक मामिला तथा कानून मन्त्रालयले बताएको छ । प्रदेश सरकारले गठन गरेको समितिले प्रदेशको राजधानी हेटौंडाको विभिन्न आठ स्थानलाई प्रादेशिक संरचना निर्माणका लागि छनोट गरेर संघीय सरकारलाई स्वीकृतिका लागि सिफारिश गरेको बताइएको छ । केही दिन पहिला समितिको सम्पन्न बैठकले छनोट गरिएका जमिनको स्वीकृतिका लागि संघीय सरकारलाई सिफारिस गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले बताए ।
प्रदेश सरकारको कतिपय मन्त्रालय र प्रादेशिक संरचनाहरू हालसम्म पनि हेटौंडामा भाडाको घरमा सञ्चालनमा छन् भने कतिपय पुराना सरकारी भवनबाट सञ्चालनमा छन् । त्यसैले प्रदेशका आफ्नो स्थायी भवन संरचना बनाउन आवश्यक जमिन यकिन गरी सिफारिस गरिएको हो । रासस