फागुन ३, दाङ । दाङको टरिगाउँ विमानस्थलको स्तरोन्नतिका लागि खुत्रुके अभियान शुरु गरिएको छ । तुलसीपुर उद्योग वाणिज्य संघको अगुवाइमा यो अभियान शुरु गरिएको हो ।
संघका अध्यक्ष रामप्रसाद चालिसेले रू. ५१ हजारको चेक हस्तान्तरण गर्दै यो अभियानको सुरुवात गरेका हुन् । अभियानमा सहयोगका लागि टरिगाउँ विमानस्थलको नाममा राष्ट्रिय वाणिज्य बैंकमा बैंक खातासमेत सञ्चालनमा ल्याएको अध्यक्ष चालिसेले बताए ।
‘सबैको सहयोगबाट विमानस्थलको स्तरोन्नति गर्न सकिन्छ भन्ने उद्देश्यले खुत्रुके अभियान शुरु गरेका हौं’, अध्यक्ष चालिसेले भने, ‘विमानस्थलको नामा खोलिएको बैंक खातामा स्वदेश तथा विदेशबाट सबैले स्वेच्छिक सहयोग गर्नु सक्नुहुनेछ ।’ चालिसेले भने ।
अभियानको नेतृत्व उद्योग वाणिज्य संघले गरेकाले आफूले सोमवार मात्रै संघका कोषाध्यक्षलाई ५१ हजारको चेक हस्तान्तरण गरेर अभियानको सुरुवात गरेको उनले बताए ।
चौतर्फी रुपमा विमानस्थलको स्तरोन्नति गर्नुपर्ने दबाब आएकाले सबैसँगको हातेमालो र सहकार्यबाट आर्थिक संकलन गरी स्तरोन्नतिको काम गर्न सकिने उद्देश्यका साथ यो अभियान सञ्चालन गरिएको संघले बताएको छ ।
यसअघि सर्वदलीय तथा सर्वपक्षीय बैठकले विमानस्थल स्तरोन्नतिका लागि तीनै तहको सरकारलाई दबाब दिन एकमत भएका थिए । २०११ सालमा स्थापना भएको टरिगाउँ विमानस्थलको अहिलेसम्म स्तरोन्नतिका लागि सरकारले चासो नदेखाएपछि निजी क्षेत्रको अगुवाइमा दबाब दिन यो अभियान शुरु गरिएको हो ।
यसैबीच टरिगाउँ विमानस्थल स्तरोन्नतिका लागि दाङ निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधित्व गर्ने सांसदहरुले पनि एक्यवद्धता जनाएका छन् । तुलसीपुर उद्योग वाणिज्य संघको अगुवाइमा शुरु भएको यो अभियानलाई आफूहरुको पनि सहयोग रहेको संघीय सांसद हिराचन्द्र केसीले बताए ।
साथै, यो अभियानलाई तुलसीपुर उपमहानगरपालिकाले पनि साथ दिने नगरप्रमुख घनश्याम पाण्डेले बताएका छन् ।