मालपोत कार्यालयका प्रमुख र अमिन घूससहित पक्राउ

मंसिर १५, काठमाडौ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलिले मालपोत कार्यालय चितवनका प्रमुख र वडा कार्यालयका अमिनलाई  सेवाग्राहीबाट ५ लाख रुपैयाँ घूससहित पक्राउ गरेको छ । अख्तियारको टोलिले बुधवार मालपोत कार्यालय चनौली, चितवनका मालपोत अधिकृत मुकुन्द पौडेल र करारमा कार्यरत भरतपुर महानगरपालिका- २० का अमिन वीरेन्द्रबहादुर कठायतलाई घूस लिंदै गर्दा पक्राउ गरेको हो । मालपोत अधिकृत र वडा कार्यालयका अमिनले भरतपुरका एक सेवाग्राहीसँग जग्गाको कित्ताकाट गरिदिने भन्दै घूस लिएका थिए ।  अख्तियारले प्रमुख पौडेलबाट १ लाख ५०  हजार रुपैयाँ नगद र अमिनबाट १ लाख ५०  हजार रुपैयाँ नगद र ३ लाख ५० हजार रुपैयाँको चेक बरामद गरेको छ । अंशबण्डा गरी बाटो कायम गर्नका लागि जग्गाको कित्ताकाटलगायतका काममा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग कार्यालय प्रमुख र अमिनले घूस मागेका थिए । अशंबन्डा गर्दा पनि घूस मागेको भन्दै सेवाग्राहीले अख्तियारमा उजुरी गरेका थिए । अख्तियारको टोलिले उनीहरु दुवैलाई भरतपुर–४ धर्मचोक लङ्कुबाट पक्राउ गरेको अख्तियारका  सहायक प्रवक्ता बेदप्रसाद भण्डारीले जानकारी दिएका छन् ।