नेप्सेमा उच्च अङ्कको गिरावट, बजार पूँजीकरण घट्यो

झण्डै मुलुकको कूल ग्राहस्थ उत्पादन (जिडिपी) बराबर पुगेको बजार पूँजीकरणमा ठूलो गिरावट आएको छ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक लगातार ओरालो लागेपछि बजार पूँजीकरणमा उच्च अङ्कमा गिरावट देखिएको हो । साताको आज अन्तिम दिन नेप्सेमा झण्डै ४५ विन्दुले गिरावट आउँदा बजार पूँजीकरण रु ३५ खर्ब १९ अर्ब ४८ करोड ८१ लाख ३२ हजार ५१९ मा सीमित भएको छ । केही दिन पहिले बजार पूँजीकरण झण्डै साढे ३६ खर्बको हाराहारीमा पुगेको थियो ।          बजार पूँजीकरणमा ठूलो हिस्सा राख्ने पूर्वाधार बैंकको शेयर मूल्यमा लगातार दुई दिनदेखि गिरावट आइरहेको छ । सोही कारण पनि बजार प्रभावित भएको हो । मंगलबार र बुधबार पूर्वाधार बैंकको शेयरमा तीव्र उतारचढाव देखा परेको थियो । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक ४४.९४ अङ्कले घटेर दुई हजार ५५४.१४ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ८.५३ अङ्कले घटेर ४६१.८१ मा ओर्लेको छ । कूल २०६ कम्पनीको एक करोड ५८ लाख ५६ हजार १७१ कित्ता शेयर रु छ अर्ब नौ करोड ८१ लाख ८८ हजार ४१४ मा कारोवार भयो ।          कारोबार भएका अधिकांश उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ ३७.४९, व्यापार ५५.१, होटल १७.३६, विकास बैंक ४७.४९, जलविद्युत् २७.७५, वित्त २५.७२, निर्जीवन बीमा १७६.१८, उत्पादन ७२.२७, अन्य ३६.७८, लघुवित्त ६०.४८, जीवन बीमा २९९.७८ र सामूहिक लगानी कोष ०.०४ बिन्दुले घटेको छ ।