धवलागिरि आयुर्वेद प्रदेशकै उत्कृष्ट

बलेवा । बागलुङको धवलागिरि आयुर्वेद औषधालयलाई गण्डकी प्रदेशले उत्कृष्ट घोषणा गरेको छ । गण्डकी प्रदेशको मुख्यमन्त्री कार्यालयले विभिन्न सूचकका आधारमा मूल्यांकन गर्दै उक्त आयुर्वेद औषधालयलाई उत्कृष्ट घोषणा गरेको हो । गत फागुनमा खटिएको मुख्यमन्त्री कार्यालयको टोलीले औषधालय मातहतका कार्यालयको सुशासन, कार्यालय व्यवस्थापन लगायत सूचकहरू संकलन गरेर मूल्यांकन गरेको थियो । ती सूचक उत्कृष्ट भएको आधारमा औषधालयलाई नै उत्कृष्ट घोषणा गर्दै पुरस्कृत गर्ने निर्णय गरिएको मुख्यमन्त्री कार्यालयले जानकारी दिएको छ । औषधालयका प्रमुख डा. सरोजकुमार रायले यसअघि पनि औषधालय प्रदेशकै उत्कृष्ट काम गर्ने कार्यालयका रूपमा पुरस्कृत भइसकेको बताए । औषधालयले कोरोना महामारीका बेला उल्लेख्य काम गरेको थियो । औषधालयले जिल्लाका विभिन्न संघ संस्थासँग सहकार्य गरेर योग शिविर सञ्चालन गर्दैआएको छ । कोरोना संक्रमितको घरमै पुगेर औषधिसमेत वितरण गरेको थियो ।      गण्डकी प्रदेश सरकारले प्रदान गर्ने प्रदेश निजामती सेवा पुरस्कारका लागि धवलागिरि आयुर्वेद औषधालयका प्रमुख डा. रायलाई दिने भएको छ । स्थापना दिवसको अवसरमा प्रदान गरिने उक्त पुरस्कारका लागि रायसहित १३ कर्मचारीलाई छनोट गरिएको बताइएको छ । रासस