प्रत्येक प्रदेशमा लोकसेवा आयोगको उपस्थितिले स्थानीय प्रतिभालाई सेवा प्रवेशको सहज अवसर जुटाउने विषयमा दुईमत छैन
नेपालको संविधानको धारा २४४ (१) मा प्रत्येक प्रदेशमा प्रदेश लोकसेवा आयोग रहने व्यवस्था गरिएको छ । उक्त धाराको (२) मा प्रदेश लोकसेवा आयोगको गठन, काम, कर्तव्य र अधिकार प्रदेश कानुनबमोजिम हुने र सोही धाराको (३) मा उपधारा (२) को प्रयोजनको लागि सङ्घीय संसद्ले कानुन बनाई आधार र मापदण्ड निर्धारण गर्ने उल्लेख छ । यस अनुरूप २०७५ चैत १५ मा सङ्घीय संसद्बाट प्रदेश लोकसेवा आयोग (आधार र मापदण्ड निर्धारण) ऐन २०७५ प्रमाणीकरण भएपछि विभिन्न प्रदेश सरकारले प्रदेश लोकसेवा आयोगको ऐन निर्माण गरी आयोगहरू गठन गर्ने कार्य प्रारम्भ गरेको पाइन्छ । यस सिलसिलामा वि.सं. २०७६ को साउनमा लुम्बिनी प्रदेश, भदौमा प्रदेश नं. २, मङ्सिरमा बागमती प्रदेश, माघमा प्रदेश नं. १ र २०७७ फागुनमा कर्णाली प्रदेशमा प्रदेश लोकसेवा आयोग गठन गरिएका छन् । गण्डकी र सुदूरपश्चिम प्रदेशमा यो कार्य सम्पन्न हुन बाँकी छ ।
प्रदेश लोकसेवा आयोग (आधार र मापदण्ड निर्धारण) ऐन २०७५ मा प्रदेश लोकसेवा आयोगको काम, कर्तव्य, अधिकारसम्बन्धी प्रदेश कानुन तर्जुमा गर्दा लोकसेवा आयोगसम्बन्धी प्रचलित कानुन व्यवस्थाको आधारभूत मान्यता र सिद्धान्तबमोजिम गर्नुपर्ने र लोकसेवा आयोगले अपनाएका उम्मेदवार छनोटका अभ्यास, विधि र मापदण्ड अवलम्बन गर्नुपर्ने व्यवस्था छ । यस अनुरूप कार्य अगाडि बढाउन सबै आयोग सम्मिलित सम्मेलन आयोजना गर्न वाञ्छनीय ठानिएकाले लोकसेवा आयोगले गत फागुन २३ र २४ गते धुलिखेल, काभ्रेपलाञ्चोकमा लोकसेवा आयोगहरूको प्रथम राष्ट्रिय सम्मेलन
सम्पन्न ग¥यो ।