चितवनमा ३ हजार बढी पशुमा फैलियो लम्पीस्किन संक्रमण, ८४ ओटा गाईभैंसी मरे

चितवन । देशभर लम्पीस्किनका कारण पशु बिरामी भईरहेका बेला चितवनमा पनि यसको असर  बढ्दै गएको पाईएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चितवनका अनुसार हाल जेठको तेस्रो सातासम्म ३ हजार ८६ गाई र २५२ भैंसी गरी ३ हजार ४ सय १८ गाईभैसीमा लम्पीस्किनको सङ्क्रमण देखिएको छ  भने ८० गाईभैसी यस रोगको कारण मरेका छन् । जिल्लाका ७ ओटै पालिकामा लम्पीस्किन फैलिएको अस्पतालका बरिष्ठ पशु विकास अधिकृत शुशिल केसीले जानकारी दिए  । लम्पीस्किनको सङ्क्रमणबाट चितवनका सात पालिका मध्ये  राप्ती नगरपालिका र इच्छाकामना गाउँपालिका बढी प्रभावित भएको उनले बताए । राप्ती नगरपालिकामा १ हजार ४०५, कालिका नगरपालिकामा २६५, खैरहनी नगरपालिकामा २०४, भरतपुर महानगरपालिकामा २२५, रत्ननगर नगरपालिकामा ११४, इच्छाकामना गाउपालिकमा ९५२, माडी नगरपालिकामा २५३ पशुलाई लम्पीस्किनको सङ्क्रमण देखिएको हो । अन्य पालिका भन्दा खैरहनी नगरपालिकामा भने कम सङ्ख्या पशुमा सङ्क्रमण देखिएको छ ।  लम्पिस्कीनबाट ८४ ओटा गाईभैसी मरेको डा.केसीले बताए। जस अनुसार इच्छाकामना गाउपालिकामा ४९ ओटा , भरतपुर महानगरपालिकामा १३, राप्ती नगरपालिकामा १०, कालिका र रत्ननगर नगरपालिकामा ४/४ ओटा  गाईभैसी लम्पीस्किनको सङ्क्रमणबाट मरेका थिए । लम्पीस्किन भाइरल रोग भएको र  झिँगा, भुसुना, लामखुट्टे विभिन्न किराको टोकाइबाट फैलिने यस रोगको सङ्क्रमणले पशुमा ज्वरो आउने, फोका निस्कने, गाठाँगुठी आउने, पशुवस्तुलाई कमजोर बनाउने अस्पतालका अधिकृत डा. रशिन पाण्डेले जानकारी दिए ।  सङ्क्रमण फैलिन नदिन गोठ वरीपरी सफा गर्ने, जैबिक सुरक्षामा ध्यान दिने, अन्यपशुसँग नराख्ने, चरनमा नलैजाने, पशुवस्तुको इम्युनिटी पावर वृद्धि गर्न खोप लगाउने जस्ता काम गर्नुपर्ने उनको भनाई छ । यस रोगको रोकथामा र न्युनिकरणको लागि पशु सेवा विज्ञ केन्द्र चितवनले ७ ओटै पालिकामा जैविक सुरक्षा समबन्धी कार्यक्रम, औषधी वितरण, खोप वितरण गरिरहेको छ । चितवनमा यो रोग २०७७ साल असारको पहिलो हप्ता खैरहनी नगरपालिकामा पहिलो पटक देखिएको थियो ।