काठमाडौं (अस) । सरकारले पाँच सचिवको सरुवा गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बुधवार आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले मंगलवार बसेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णय सुनाउँदै उक्त जानकारी गराएका हुन् । बैठकले सार्वजनिक हितका २५ सेवामा हडताल गर्न निषेध गर्ने निर्णय समेत गरेको छ ।
सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठलाई राष्ट्रिय सतकर्ता केन्द्रको प्रमुख अधिकृत पदमा सरुवा गर्ने निर्णय गरेको मन्त्री कार्कीले बताए । त्यसैगरी खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिवमा र प्रधामन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव मणिराम गेलाललाई खानेपानी मन्त्रालयको सचिवमा, राष्ट्रिय सतर्कता केन्द्रका प्रमुख अधिकृत सुशीलचन्द्र तिवारीलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको सचिवमा सरुवा गरिएको छ । त्यसैगरी नेपाल ट्रष्टको कार्यालयका सचिव गोपालप्रसाद सिग्देललाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा गरिएको छ । यस्तै संयुक्त राज्य अमेरिकामा आयोजना हुने साइबर सेक्युरिटी लिडरशिप प्रोग्राम तथा तालीममा सहभागी हुन नायब महान्यायाधिवक्ता डा. टेकबहादुर घिमिरेको भ्रमण स्वीकृत गर्ने निर्णय गरिएको मन्त्री कार्कीले जानकारी दिए ।
‘संयुक्त राज्य अमेरिकाको होनोलुलुमा आयोजना हुने कम्प्रिहेन्सिभ सेक्युरिटी कोर्समा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मधेश प्रदेशका प्रमुख सचिव कृष्णबहादुर राउतलाई सहभागी हुन स्वीकृत गर्ने र भारतमा हुने फूड सेक्युरिटीसम्बन्धी कार्यक्रममा सहभागी हुन कृषिमन्त्रीको नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय गरिएको छ,’ उनले भने ।
सरकारले सार्वजनिक हितका लागि २५ आवश्यक सेवामा हडताल गर्न निषेध गर्ने सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने र बुधवारदेखि आयोजना भएको भारत–चीन कूटनीतिक परामर्श संयन्त्रको भर्चुअल माध्यमको १४औं बैठकमा सहभागी हुन परराष्ट्र मन्त्रालयका सचिव नेतृत्वको प्रतिनिधिमण्डल गठन गर्ने निर्णयसमेत गरेको छ । यसैगरी यही जेठ २९ देखि आगामी असार ५ गतेसम्म जर्मनी, बेल्जियम र फ्रान्समा हुने कृषि, फलफूल र सहकारीसम्बन्धी कार्यक्रममा सहभागी हुन भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री नेतृत्वको भ्रमण टोलीलाई स्वीकृति प्रदान गर्ने सरकारको निर्णय छ । साथै रुवान्डाको किगालीमा आयोजना हुने टेलिकम्युनिकेशन कार्यक्रममा भाग लिन सञ्चारमन्त्रीलाई स्वीकृति दिने निर्णय पनि गरिएको छ । मन्त्रिपरिषद् बैठकले लोक सेवा आयोगको सिफारिस बमोजिम नेपाल कृषि सेवा, मत्स्य समूह, राजपत्रांकित प्रथम श्रेणीको पदमा बढुवा नियुक्ति तथा पदस्थापन गर्ने निर्णय गरेको मन्त्री कार्कीको भनाइ छ ।