चेपाङ बस्तीमा‘पेल्ट्रिक सेट’मार्फत विजुली

चैत २२, मकवानपुर । चेपाङ समुदायको बाहुल्य रहेको मकवानपुरको विकट राक्सिराङ गाउँपालिका–९को पार्सिवाङस्थित रुन्चेवुङमा विजुली पुगेको छ । रुन्चेवुङमा पहिलोपटक ‘पेल्ट्रिक सेट’मार्फत विजुली बत्ति पुगेको हो । विजुली पुगेपछि त्यहाँका बासिन्दा खुसी भएका छन् । सीमान्तकृत चेपाङ समुदायको बाहुल्यता रहेको उक्त वडामा नेपाल विद्युत् प्राधिकरणले हालसम्म पनि विजुली पुर्याउन सकेको थिएन । प्राधिकरणको लाइनमार्फत विजुली नपुगेपछि ‘पेल्ट्रिक सेट’मार्फत  विजुली बत्ति बालिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गाड्तौलाले बताए । उनका अनुसार अहिले चेपाङ सामुदायले सल्लोको दियालो बाल्न छाडेका छन् । यसअघि गाउँमा विद्युत् नहुँदा चेपाङहरुले सल्लोको दियालो बालेर घरमा उज्यालो पार्ने गरेका थिए  । ‘गाउँमा बत्ति बाल्न पेल्ट्रिक सेटमार्फत विद्युत उपलब्ध गराएपछि उक्त सामुदायमा अँध्यारो हटेको छ’ प्रमुख प्रशासकीय अधिकृत गड्तौलाले भने । गाड्तौलाका अनुसार २३ लाख रूपैयाँ लागतमा उक्त गाउँमा विद्युत पुर्याइएको हो । सामुदायिक सशक्तिकरण तथा स्थानीय न्याय सञ्जाल र गाउँपालिकाको  आर्थिक सहयोग र स्थानीयको श्रमदानबाट ४ किलोवाट क्षमताको पेल्ट्रिक सेट सञ्चालनमा आएको छ । गाउँपालिका अध्यक्ष राजकुमार मल्लले गाउँपालिकामा २० वटा पेल्ट्रिक सेट सञ्चालनमा रहेको बताए । पेल्ट्रिक  सेटका लागि   सञ्जालले १३ लाख रूपैयाँ सहयोग रहेको छ । त्यस्तै  गाउँपालिकाले ६ लाख रूपैयाँ तथा ४ लाख रूपैयाँ बराबरको स्थानीको श्रमदान रहेको गाउँपालिकाको भनाई छ । गाउँमा विद्युत पुर्याउनका लागि गत वर्ष पुसदेखि काम शुरू गरिएको थियो । काम सम्पन्न गर्न १६ महीना समय लागेकोसञ्जालका कार्यकारी निर्देशक प्रवीन्द शाक्यले बताए । गाउँपालिका अध्यक्ष मल्लका अनुसार गाउँमा अहिलेसम्म विद्युत् सेवा नपुगेकाले गाउँपालिकाले केही स्थानमा पेल्ट्रिक सेट जडान गरेरै नै विद्युतको पुर्याएको छ । रासस