सरकारले विभिन्न व्यक्तिले ओगटेको नेपालगन्जस्थित प्रसिद्ध शक्तिपीठ वागेश्वरी मन्दिरको जग्गा फिर्ता गर्ने तयारी थालेको छ ।
सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगको टोलीले २०७६ भदौ १७ देखि वागेश्वरी मन्दिरका नाममा रहेको गुठीको जग्गाको खोजी गरेको थियो । उक्त टोलीले ५ महिना लगाएर गरेको खोज अनुसन्धानपछि बागेश्वरी मन्दिरको कारमोहनासहित नेपालगन्ज उपमहानगरभित्र पर्ने जग्गा मन्दिरका पुजारी र महन्तले आफ्ना नाममा दर्ता गराउने, बेचबिखन गरेको ठहर गर्दै मन्दिरको जग्गा फिर्ता गर्नुपर्ने रायसहित सरकारलाई प्रतिवेदन बुझाएको हो । त्यही प्रतिवेदनका आधारमा सरकारले मन्दिरको जग्गा फिर्ता गर्ने तयारी गरेको छ ।