सुनसरी । पछिल्लो समय इटहरीमा स्तरीय होटल रेस्टुराँ सञ्चालन हुने क्रम बढेको छ । नगरमा नयाँ नयाँ व्यवसायसँगै होटल क्षेत्रमा लगानी गर्नेहरू पनि बढेका हुन् । यसैबीच पूर्व पश्चिम राजमार्ग अन्तर्गत इटहरी–१७ लविपुरमा १ करोडको लगानीमा ‘होटल दरबार एन्ड रेस्ट्रो’ सञ्चालनमा आएको छ ।
उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भीमबहादुर पौडेलले शनिवार उक्त होटलको उद्घाटन गरेका छन् । आन्तरिक पर्यटकलाई नेपाली खानाको स्वाद चखाउन तथा चिकेनका पारखीहरूलाइ ध्यानमा राख्दै होटल सञ्चालनमा ल्याइएको सञ्चालक नगेन्द्रबहादुर राईले बताए । होटलका अन्य लगानीकर्तामा मच्छिन्द्र राई र राज नेहाङ रहेका छन् ।
होटलमा नेपाली मौलिक खानासँगै तन्दुरी परिकार उपलब्ध हुने सञ्चालक राईले बताए । होटल उद्घाटन कार्यक्रमका प्रमुख अतिथि एवं उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष पौडेलले इटहरीमा आन्तरिक पर्यटकलाइ सेवा प्रदान गर्न खोलिएका होटलकै कारण शहरको सान बढेको बताए । ‘कोरोना कहरबीच होटलहरू धराशयी बनिरहेको अवस्थामा करोडौं लगानीमा सञ्चालन गर्नु इटहरीका लागि गौरवको विषय हो,’ उनले भने ।
कार्यक्रममा होटल तथा लज व्यवसायी समिति इटहरीका अध्यक्ष उमेशकुमार थापा, होटल व्यवसायी महासंघ प्रदेश नं १ का उपाध्यक्ष गोविन्द थापा, होटल तथा लज व्यवसायी समिति इटहरीका सचिव विनोद कार्की लगायतले उक्त होटल सञ्चालनले यस क्षेत्रमा लगानीका लागि सकारात्मक सन्देश दिएको बताएका थिए ।