कात्तिक १२, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले जनताको चाहनानुसार नै विकास निर्माणका कामलाई अगाडि बढाइने बताएकि छन् ।
भौतिक तथा मानवीय विकास नै प्रमुख भएको बताउँदै उनले त्यसका लागि सम्पूर्ण जनताप्रति उत्तरदायी हुनुपर्नेमा जोड दिएकि छन् ।
गोदावरी नगरपालिका–१२ र काठमाडौं मेडिकल कलेजले संयुक्तरूपमा शुक्रवार आयोजना गरेको बृहत् निःशुल्क स्वास्थ्य शिविर शुभारम्भ गर्दै मन्त्री भुसालले आफूहरु जनतालाई साथमा लिएर विकास निर्माणका कार्यलाई अगाडि बढाउन प्रतिबद्ध रहेको बताइन् ।
उनले स्वास्थ, शिक्षा एवं पूर्वाधार विकासका लागि सरकार जनताप्रति प्रतिबद्ध रहेकोे र जनताको इच्छाविपरीत कुनै काम नगर्ने जिकिर पनि गरिन् ।
ललितपुर जिल्ला स्वास्थ्य र शिक्षामा अग्रपङ्तिमा रहेको उल्लेख उनले धनीवर्गका लागि महँगा अस्पताल र गरिब जनताले निःशुल्क स्वास्थ्य सेवा पनि पाउनसक्ने अवस्था रहेको बताइन् । रासस