चितवन । जंगल सफारीले चिनिएको चितवनमा पहिलोपटक प्याराग्लाइडिङको व्यावसायिक उडान शुरू भएको छ । भरतपुर महानगरपालिका–२९, चौकीडाँडामा साहसिक खेलको रूपमा चिनिने प्याराग्लाइडिङको व्यावसायिक उडान शुरू भएको हो ।
चौकीडाँडामा प्याराग्लाइडिङ उडान र गैंडाकोटमा मौलाकाली केबलकार सञ्चालन भएसँगै पर्यटनमा थप आयामको सिर्जना भएको छ ।
प्याराग्लाइडिङको उडान शुरु भएसँगै चितवन पर्यटनमा थप सम्भावना भएको क्षेत्रको रुपमा चिनिएको पर्यटनविज्ञ डा. विश्व सुवेदीले बताए । जंगल सफारीको रूपमा परिचित चितवनको व्यवसाय थप फराकिलो भएको उनको भनाइ छ । ‘चितवनमा ६ महिना पर्यटकको सिजन र ६ महिना अफसिजन थियो,’ उनले भने, ‘अहिले ‘टुरिज्म फर अल सिजन’ (बाह्रैमास पर्यटन सिजन ) भएको छ ।’
चितवनमा जंगल सफारी हिउँदमा मात्र सञ्चालन हुने गरेको थियो । वर्षाको सिजनमा बन्द हुने गरेकोले पर्यटनको संख्या न्यून थियो । ‘अब चितवनको पर्यटन क्षेत्र मात्रै होइन, अरुक्षेत्र पनि चम्किन्छ,’ उनले भने, ‘अब पर्यटकको संख्या पनि बढ्छ, व्यवसायीले सेल गर्ने प्रडक्ट पनि भयो ।’
चितवनमा प्याराग्लाइडिङको व्यावसायिक उडान हिमालयन फन्टियर्स प्याराग्लाइडिङ कम्पनीले शुरु गरेको हो । कम्पनीका बोर्ड डाइरेक्टर शालिक दवाडीले नयाँ वर्षको पहिलो दिनको अवसर पारेर उडान शुरु गरिएको जानकारी दिए । ‘औपचारिक उद्घाटन पछि गर्नेछौं । तर, उडान शुरु भयो,’ उनले भने ।
चितवनको चौकीडाँडाबाट प्याराग्लाइडिङ उडेर तनहुँको देवघाट गाउँपालिका–५ मा रहेको त्रिशूली नदीको किनारमा अवतरण हुनेछ ।
प्याराग्लाडिङ उडानका लागि लाग्ने ८ हजार रूपैयाँ तोकिएकोमा अहिले २५ प्रतिशत छूट दिएर ६ हजार शुल्क लिइएको दवाडीले बताए ।
हाल १० ओटा प्याराग्लाइडिङ उडानका लागि ल्याइएका छन् । दैनिक ४५ जनासम्मलाई उडान गर्न सकिने गरी तयारी गरिएको दवाडीले जानकारी दिए ।
कम्पनीका अध्यक्ष विजय घलेले नयाँ वर्षसँगै चितवनको पर्यटन व्यवसायमा एक थप नयाँ आयाम थपिएको बताए । ‘चितवनमा जंगल सफारी मात्र छैन, पर्यटकको लागि सबै थोक छ भन्ने सन्देश पनि गएको छ,’ उनले भने ।
नारायणगढ–मुग्लिन सडकखण्डको भोर्लेबाट ९ किलोमिटर उत्तर र जुगेडीबाट ५ किलोमिटर उत्तर हिँडेपछि चौकीडाँडा पुग्न सकिन्छ । चौकीडाँडा समुद्र सतहबाट १२ सय मिटरको उचाइमा छ । कम्पनीले चौकीडाँडासँगै भरतपुर–२९ कै कविलासबाट पनि प्याराग्लाइडिङको उडान अनुमति लिएको छ । कविलास भने समुद्र सतहबाट ५८० मिटरको उचाइमा छ ।