नेपाल–चीन संयुक्त वक्तव्य : बीआरआई कार्यान्वयन, प्रसारण लाइनदेखि  रेलवेसम्बन्धी तालिम दिनेसम्म

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणको क्रममा संयुक्त वक्तव्य जारी भएको छ । सार्वजनिक संयुक्त व्यक्तव्यमा बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) परियोजना कार्यान्वयनलाई छिटै अन्तिम रुप दिने प्रतिबद्धता जनाइएको छ । त्यस्तै, चीन सरकार नेपालीलाई रेल सम्बन्धी तालिम दिन तयार भएको छ । केरुङ-काठमाडौं रेलवेको सम्भाव्यता अध्ययनको प्रगतिमा दुवै पक्ष सन्तुष्ट रहेको र नेपाल-चीन रेलवे सहयोग सम्बन्धी आठौं बैठक जतिसक्दो चाँडो आयोजना गर्ने योजना बनाइएको पनि संयुक्त वक्तव्यमा उल्लेख छ । यसैगरी चिनियाँ पक्षले लिजी-नेचुङ बन्दरगाहमा नेपाली पक्षको सुविधाका लागि आवश्यक सुधार गर्ने सहमति पनि भएको छ । नेपाल-चीन सीमा व्यापारका नाकाहरु चाँडै खोल्न चीन सहमत भएको छ । चेन्ताङ-किमाथाङ्का र रिबु-ओलाङचुङगोला बन्दरगाहलाई खुलाउन सम्वाद जारी राख्न दुवै पक्ष सहमत भएका छन् । नेपालको आवश्यकतालाई मध्यनजर गर्दै अरनिको राजमार्गको मर्मतसम्भार आयोजनाको चौथो चरणको काम गर्न र स्याफ्रुबेसी-रसुवागढी राजमार्ग मर्मतको काम चाँडै गर्न पनि चीन सहमत भएको संयुक्त वक्तव्यमा उल्लेख छ । यस्तै टोखा-छहरे सुरुङमार्ग आयोजनाको सम्भाव्यता अध्ययन र काठमाडौं चक्रपथ आयोजनाको दोस्रो चरणको कामलाई तीव्रता दिन पनि चीन सहमत भएको छ । नेपाललाई भूपरिवेष्ठित मुलुकबाट भूजडित मुलुकमा परिणत गर्न चीनको पारवहन यातायात र राजमार्गको उपयोग सम्बन्धमा विगतमा हस्ताक्षर गरिएका सहयोग सम्बन्धी दस्तावेज कार्यान्वयनलाई निरन्तरता दिन दुवै पक्ष सहमत भएका छन् । नेपाल र चीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न र सन्चालमा आएकोमा सन्तोष व्यक्त गरेका छन् । साथै आफ्ना एयरलाइन्सहरुलाई थप उडान गर्न र हवाई मार्गहरु खुलाउन दुवै पक्ष सहमत भएका छन् । यस्तो छ संयुक्त वक्तव्य