अप्टिमिस्ट इन्टरनेशनल नेपालको अन्तरराष्ट्रिय दिवस सम्पन्न

काठमाडौं। स्वयंसेवी संस्था अप्टिमिस्ट इन्टरनेशनल नेपालले आफ्नो अन्तरराष्ट्रिय दिवसको अवसरमा विभिन्न कार्यक्रम गरेको छ । संस्थाले प्रत्येक फेब्रुअरीको पहिलो बिहीवार आफ्नो अन्तरराष्ट्रिय दिवस मनाउँछ । कार्यक्रमका मुख्य संयोजक रहेका संस्थाका लेफ्टिनेन्ट गभर्नर ऋषिश्वर थपलियाका अनुसार अप्टिमिस्ट दिवसको साताव्यापी कार्यक्रम प्रभात फेरिबाट शुरू भएको थियो । दिवसका अवसरमा मानसिक स्वास्थ्यसम्बन्धी कार्यक्रम, मौलिक पोषणयुक्त खाना र आधारभूत कानूनबारे जानकारी, ख्यातिप्राप्त व्यक्तित्वसँग बालबालिकाको अन्तरक्रिया, फुटसल प्रतियोगिता, गरीब विद्यार्थीलाई न्यानो कपडा, अनाथ बालबालिकालाई खाद्यान्न, कपडा र कापी–कलम तथा विश्वका ख्यातिप्राप्त व्यक्तित्वको जीवनी पुस्तक वितरण गरिएको संस्थाले जानकारी दिएको छ । अन्तिममा पारिवारिक मिलन वनभोज कार्यक्रम गरिएको बताइएको छ । नेपालमा संस्थाका ५६ स्थानीय क्लब छन् । २०७४ सालबाट नेपालमा शुरू भएको क्लबको डिस्ट्रिक्ट २०७६ सालमा स्थापना भएको थियो । प्रत्येक वर्ष नयाँ कार्यसमिति छानिने संस्थाको नियमअनुसार तेस्रो कार्यकालमा प्रकाश घिमिरे (चितवन) गभर्नर, प्रतापबहादुर थापा (ललितपुर) महासचिव, निशान्त आचार्य (दाङ) कोषाध्यक्ष चुनिएका छन् । आगामी अप्रिल २७–२८ मा एशिया प्रशान्त क्षेत्रका सबै क्लबको सम्मेलन काठमाडौंमा हुने पनि संस्थाले जानकारी दिएको छ । उक्त कार्यक्रममा अप्टिमिस्टका अन्तरराष्ट्रिय अध्यक्षलगायत पदाधिकारी सहभागी हुनेछन् ।  नेपाल डिस्ट्रिक्टको माध्यमबाट नेपालका विद्यार्थीले अन्तरराष्ट्रिय विद्यार्थीसँग निबन्ध लेखन, वक्तृत्वकला, सुन्न र बोल्न नसक्ने बालबालिकाले आफ्नो भावना सांकेतिक भाषामार्फत राख्ने प्रतियोगितामा भाग लिई विभिन्न स्थान हासिल गरी २२ हजार ५०० अमेरिकी डलरको राशी गतवर्ष प्राप्त गरिसकेको संस्थाले जानकारी दिएको छ । प्राध्यापक, शिक्षक, विद्यालय सञ्चालक, बैंकर, पर्यटन व्यवसायीलगायत विभिन्न व्यावसायिक व्यक्तित्वहरू सम्मिलित यो संस्थाले निकट भविष्यमा विद्यालयहरूमा सकारात्मक शिक्षा, पत्रकारहरूको सहकार्यमा सकारात्मक पत्रकारिता सञ्चालन गर्ने योजना बनाएको छ ।