जाडो बढेसँगै शरीर र कोठा न्यानो बनाउन आगो तथा हिटर बाल्ने क्रम बढेको छ । हिमालदेखि तराईसम्म बढेको चिसोबाट बच्नका लागि अपनाइने यस्ता उपायले ज्यानै जाने खतरा पनि त्यतिकै रहन्छ । त्यसैले चिकित्सकहरूले कोठा तातो बनाउँदा शरीर नै सदाका लागि चिसो नहोस् भन्नेतर्फ ध्यान दिनुपर्ने सझुाव दिएका छन् ।
वरिष्ठ मुटु रोग विशेषज्ञ डा. भगवान कोइरालाले जाडो महिनामा हावाको आदान प्रदान कम हुने घर वा कोठा तताउँदा ध्यान नपुग्दा ज्यानै जाने गरेको बताउनुभयो । उहाँले कार्बन मोनोअक्साइडले रगतमा रहेको हेमोग्लोबिनबाट अक्सिजनलाई हटाइदिन्छ, जसको कारण कोषमा हुने आन्तरिक श्वासप्रश्वास प्रक्रिया बन्द हुन जान्छ र मुटुमा पनि प्रत्यक्ष हानि गर्ने जानकारी दिनुभयो ।