काठमाडौं । नेपाल भारत उद्योग वाणिज्य संघ (निक्की) र भारतको कोलकातास्थित बेंगाल चेम्बर अफ कमर्स एण्ड इण्डष्ट्रिजबीच आपसी सहयोग आदान प्रदान गर्ने सम्बन्धमा समझदारी भएको छ । भारतमा आयोजित ‘इण्डो–प्यासिफिक इकोनोमिक कन्क्लेभ २०२३’ को अवसरमा बिहीवार उक्त समझदारी भएको हो । समझदारीपत्रमा संघका अध्यक्ष सृजना राणा र बेंगाल चेम्बरका अध्यक्ष सुवीर चक्रवर्तीले हस्ताक्षर गरेका छन् ।
निक्कीले भारतीय उद्योग वाणिज्य संघहरूसँग गरेको यो नै पहिलो समझदारी भएको बताइएको छ । यो सम्झौताले नेपाल–भारत द्विपक्षीय आर्थिक सम्बन्ध मजबूत बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
उक्त कन्क्लेभलाई सम्बोधन गर्दै संघका अध्यक्ष राणाले गत आर्थिक वर्षमा नेपालले १५० भन्दा बढी मुलुकसँग १३ अर्ब ६३ करोड अमेरिकी डलर बराबरको व्यापार गरेको तथ्य प्रस्तुत गरिन् । त्यसको करीब दुई तिहाई व्यापार भारतसँग भएको उनले बताइन् । सन् १९८०–९० को समयमा उत्पादनमूलक उद्योग, बैंकिङ, बीमा, सेवा लगायत क्षेत्रमा आएको भारतीय लगानी सफल तथा उदाहरणीय रहे तापनि हाल भारतबाट आउने लगानी खुम्चिएको उनको भनाइ थियो ।
‘भूपरिवेष्ठित राष्ट्र नेपालका लागि उत्तरी नाका सहज छैनन्,’ उनले भनिन्, ‘तेस्रो मुलुकसँगको व्यापारमा ट्रान्जिट रूटका लागि नेपाल कोलकाता, हल्दिया र विशाखापत्तनम् बन्दरगाहमा बढी निर्भर हुनुपरेको छ ।’ हाल नेपालको वीरगञ्ज र विराटनगर एकीकृत जाँच चौकी (आईसीपी) भारतीय रेल सेवासँग जोडिए तापनि यसमा कोडिङ प्रणाली जोडिन नसकेकाले रेल सेवा नियमित सञ्चालन हुन नसकेको उनले बताइन् । भैरहवा आईसीपी र दोधारा चाँदनी आईसीपीसम्म पनि भारतीय रेल सेवा जोडेर नेपालले त्यहाँबाट भारतसहित तेस्रो मुलुकसँग व्यापार प्रवर्द्धन गर्नुपर्ने अध्यक्ष राणाले बताइन् ।
नेपालको भारतसहित अन्य राष्ट्रमा वस्तु तथा सेवा व्यापार थप प्रभावकारी रूपमा अघि बढाउन ‘बीबीआईएन फ्री भेहिकल मुभमेण्ट’लाई प्रभावकारी रूपमा लागू गरिनुपर्नेमा उनले जोड दिइन् । नेपाल–भारत लगायत हिन्द प्रशान्त क्षेत्रमा व्यापार तथा आर्थिक विकासका लागि द्विपक्षीय एवं बहुपक्षीय सहकार्य र सहयोगको खाँचो रहेको उनले औंल्याइन् ।