विद्युतीय गाडी मैचालाई गोल्छा ग्रुपको सहयोग

काठमाडौं (अस) । गोल्छा ग्रुपले थापाथली क्याम्पसका विद्यार्थीलाई विद्युतीय गाडी बनाउन आर्थिक सहयोग गरेको छ । यो गाडीले सन् २०२० को अक्टोबरमा अन्तर्राष्ट्रिय प्रतियोगिता सेल इको म्याराथनमा भाग लिएको थियो । विद्यार्थीले आवश्यक सीपअनुसार टोली निर्माण गर्ने, प्रायोजक खोज्ने, कार्यस्थललाई अन्तिम रूप दिनेलगायत प्रारम्भिक गतिविधिबाट काम सुरु गरेको थियो । फेब्रुअरी २०२२ सम्म टोलीले सवारी साधनको डिजाइन र डेभलपमेन्ट सफलतापूर्वक सम्पन्न गरेको छ । कैयौं टेस्ट राइडपछि विद्युतीय गाडी ‘मैचा’ अहिले पूर्ण रूपमा प्रतिस्पर्धा गर्न तयार रहेको छ । ‘मैचा’ को ब्याट्रीले १ किलोवाट प्रतिघन्टा चार्जबाट १५० किलोमिटरसम्मको रेन्ज दिन्छ । मैचा निर्माणकर्ता टिम सिरेटोले नेपालमा विद्युतीय सवारीमा विभिन्न अनुसन्धान र कार्य सञ्चालन गरेर दिगो भविष्यमा योगदान पुर्‍याउने लक्ष्य राखेको छ । उनीहरुको प्रमुख उद्देश्य नेपालको सस्टेनेबल मोबिलिटी क्षेत्रलाई प्रवर्द्धन गर्नु हो । उनीहरू सेल इको–म्याराथनमा प्रतिस्पर्धा गर्ने नेपालको पहिलो ईभी (विद्युतीय सवारी) टोली हुन् ।