नयाँ दिल्ली (भारत) । भारतको सबैभन्दा ठूलो स्टक एक्सचेञ्जकी पूर्व हाकिमले एक योगीलाई गोप्य सूचनाहरु बताउने गरेको अनि महत्वपूर्ण निर्णयहरुमा ती योगीको सल्लाह लिने गरेको खुलासा भएको छ ।
बजार नियामकले गरेको अनुसन्धानको क्रममा यस्तो फेला परेको हो । स्टक एक्सचेञ्जमा बहुप्रतिक्षित प्राथमिक शेयर निस्कासनहरु हुँदै गर्दा यो खुलासा भएको हो ।
नेशनल स्टक एक्सचेञ्जकी पूर्व कार्यकारी प्रमुख तथा प्रवन्ध निर्देशक चित्रा रामकृष्णाले आफू पदमा भएको बेलामा एक्सचेञ्जको वित्तीय प्रक्षेपण, व्यवसायिक योजना र सञ्चालक समितिको एजेन्डाहरु लगाएतका जानकारीहरु समेत हिमालयका ती कथित् आध्यत्मिक गुरुलाई बताउने गरेको सेक्युरिटिज एन्ड एक्सचेञ्ज बोर्ड अफ इन्डिया (सेबी) ले बताएको छ । रामकृष्णाले सन् २०१६ मा एनएसईबाट राजीनामा दिएकी थिइन् ।
अनुसन्धानका क्रममा आफूले जम्मा पारेको कागजातहरुले उनको कार्यकालभर एनएसई योगीले चलाएको र रामकृष्णा ती योगीको हातको कठ्पुतली भएको स्पष्टै देखाएको पनि सेबीले बताएको छ ।
एनएसईको व्यवसायिक योजना सुनाउने काम अपरिकल्पनीय नभएपनि यो स्पष्ट रुपमै स्टक एक्सचेञ्जको जग हल्लाउन सक्ने कदम भएको सेबीको भनाइ छ । यस मामिलामा सेबीले रामकृष्णालाई ३ करोड भारु जरिवाना तिराएको छ भने तीन वर्षसम्म कुनै पनि स्टक एक्सचेञ्ज वा आफूमा दर्ता भएको कम्पनीमा मध्यस्थकर्ताका रुपमा काम गर्न बन्देज लगाएको छ ।
ती योगीको पहिचान खुलाउने विवरणहरु भने सेबीले नदिएको बताइएको छ । सिद्धबाबा भनेर दाबी गरिएका ती पुरुष हिमालय पर्वतमा बस्ने चाँही सेबीले बताएको छ । आफूले ती योगीलाई करीब २ दशक पहिला भेटेको अनि त्यसयता कयौं व्यक्तिगत र पेशागत सुझाव र सल्लाह लिएको रामकृष्णाले नियामकसमक्ष बताएकी छिन् । योगीसँगको परामर्शले आफ्नो भूमिका निर्वाह राम्रोसँग गर्न सकिन्छ भनेर महसुस गरेर आफूले त्यस्तो गरेको पनि उनको भनाइ छ ।
रामकृष्णाको उक्त कदम नियमनहरुको स्पष्टै उल्लंघन भएको सेबीको भनाइ छ । आफ्नो कदमले बजारमा कुनै क्षति पुगेको छैन भन्ने उनको धारणा बेतुकको भएको पनि बताइएको छ । सन् १९९० मा एनएसई शुरु हुँदादेखि नै रामकृष्णा कार्यकारीहरु मध्ये एक थिइन् । सन् २०१६ मा उनले व्यक्तिगत कारण देखाएर एक्सचेञ्ज छाडेकी थिइन् ।एजेन्सी