कृषकलाई ‘सुनको हलो’ फुस्सा

२०७८ साल असार १५ गते कर्णाली प्रदेश सरकारका तत्कालीन भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीले कृषि क्षेत्रमा उत्कृष्ट काम गर्ने कृषकलाई हरेक वर्ष ‘सुनको हलो’ प्रदान गर्ने घोषणा गर्नुभयो । राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउने क्रममा कृषकका माझमा उहाँले घोषणा गरेको ‘लोकप्रिय कार्यक्रम’ अहिलेसम्म पनि कार्यान्वयन हुन सकेको छैन । न कृषकले सरकारबाट उपहारमा सुनको हलो पाए, न त अहिले सरकारले नै उक्त निर्णय कार्यान्वयनका लागि चासो दिएको छ । वीरेन्द्रनगर नगरपालिका–३ का कृषक श्याम पुरी ‘बेल पाक्यो, कागलाई हर्ष न विस्मात’ भनेजस्तै भएको बताउनुहुन्छ । हचुवाका भरमा गरिने यस्ता घोषणा र निर्णयले बरु कृषकलाई झन् निराश बनाउने गरेको छ । सरकारले हचुवाको भरमा कार्यक्रम ल्याउँदा कार्यान्वयनमा चुनौती हुने गरेको उहाँको बुझाइ छ । यस्ता कार्यक्रमले किसानलाई प्रोत्साहन नभई हतोत्साही बनाइरहेको उहाँले बताउनुभयो ।