साउन २२, काठमाडौं । मुक्तिनाथ विकास बैंकले विक्री गरेको ऋणपत्र बिहीवार बाँडफाँट गरेको छ । बैंकले साउन ७ गतेदेखि १२ गतेसम्म रू. १ अर्ब २५ करोड बराबरको १२ लाख ५० हजार कित्ता ऋणपत्र विक्री गरेको थियो ।
प्रतिकित्ता रू. १ हजार अंकित दरको कुल कित्ताऋणपत्रमध्ये रू. ५० करोड बराबरको ५ लाख कित्ता सर्वसाधारणलाई विक्री गरेको हो भने बाँकी रू. ७५ करोड बराबरको ७ लाख ५० हजार कित्ता व्यक्तिगत तवरबाट विक्री गरेको हो ।
तोकिएको अवधिमा रितपूर्वक आवेदन दिएका सर्वसाधारणलाई माग बमोजिम र व्यक्तिगत तवरबाट प्राप्त आवेदनको हकमा समानुपातिक रुपमा ऋणपत्र बाँडफाँट गरिएको बैंकले सूचना मार्फत जानकारी दिएको छ ।
सर्वसाधारणमा विक्री गरिएको कुल कित्ता ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् २५ हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुलाई छुट्याइएकोमा १ हजार ५०० कित्ता बाँडफाँट गरिएको बैंकको भनाइ छ ।
७ वर्षे अवधिको ‘८.७५ % मुक्तिनाथ डिबेञ्चर २०८४÷८५’ नामको यो ऋणपत्र खरीदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्तासम्मका लागि आवेदन दिन सकिने व्यवस्था थियो ।
बैंकको ऋणपत्र निष्काशन तथा विक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।