‘भैँसी सुत्केरी भत्ता’ दिन थालिएपछि दूध उत्पादन दोब्बर

झट्ट सुन्दा अनौठो लाग्न सक्छ । सुत्केरी भैंसीलाई दुई हजार भत्ता । यसमा अनौँठो मान्नुपदैन । काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाले पहिलो बेतको भैँसी सुत्केरी हुँदा रु पाँच हजार र त्यसपछि रु दुई हजारको दरले सुत्केरी भत्ता दिँदै आएको छ । पशुपालनबाट आत्मनिर्भर बनाउन नगरपालिकाले ‘सुत्केरी भैंसीलाई प्रोत्साहन कार्यक्रम’ सञ्चालन गर्दै आएको छ । दुग्धजन्य खाद्यवस्तुमा नगरपालिकालाई …

सम्बन्धित सामग्री

‘भैंसी सुत्केरी भत्ता’को प्रभाव: दूध उत्पादन करीब दोब्बरले बढ्यो

वैशाख ८, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाले भैंसी सुत्केरी हुँदा भत्ता दिन थालेपछि दुध उत्पादन दोब्बरले बढेको छ । नगरपालिकाले पशुपालनमा आत्मनिर्भर बनाउने उद्देश्यले आर्थिक वर्ष २०७४/०७५ देखि ‘सुत्केरी भैंसी प्रोत्साहन कार्यक्रम’ सञ्चालनमा ल्याएपछि त्यसको प्रभाव अहिले देखिन थालेको छ । किसान पशुपालनतर्फ आकर्षित भई पशु पालन बढाउँदा दुध उत्पादन दोब्बरले बढ्न थालेको नगरपालिकाले जानकारी दिएको छ । नगरपालिकाका अनुसार किसानले पालेको भैंसी सुत्केरी हुँदा पहिलो बेतको सुत्केरी वापत ५ हजार रुपैयाँ र त्यसपछि २ हजार रुपैयाँका दरले भैंसी सुत्केरी भत्ता दिँदै आएको छ । त्यसपति यहाँका किसान भैंसी पालनमा निकै आकर्षित भएका छन् । पनौती नगरपालिका वडा नम्बर ५ का चन्द्रप्रसाद न्यौपानेले भैंसी सुत्केरी भत्ता लागु भएपछि नै भैंसी पालन शुरू गरेका हुन् । उनले अहिले फार्म नै स्थापना गरेर १७ ओटा भैँसी पालेका छन् । ‘नगरपालिकाले भत्तासँगै भ्याक्सिन र औषधि निःशुल्क गर्दा मलाई पनि आकर्षित गरेको हो’ न्यौपानेले भने । नगरपालिकाका अनुसार भैंसी सुत्केरी भत्ता लागु हुनपूर्व नगरपालिका भित्र कुल ४ हजार ७४७ भैंसी पालन गरिएका थिए । सो समयमा वार्षिक रुपमा करिब ५०० भैँसी खरिद भएर बाहिरी जिल्लाबाट भित्रिन्थे । त्यतिबेला पनौतीमा दैनिक ४० हजार लिटर दूध उत्पादन हुने गरेको नगरपालिकाको तथ्यांक छ । उत्पादितमध्ये १५ हजार लिटर नगरपालिका भित्रै र २५ हजार लिटर दुध काठमाडौँ उपत्यकामा खपत हुने गरेको थियो । नगरपालिकाले सो अभियान शुरू गरेपछि अहिले भैंसीको संख्या दोब्बरले बढेको नगरपालिका कृषि तथा पशुपञ्छि शाखाले जानकारी दिएको छ । शाखाका अनुसार अहिले नगरपालिकामा भैंसीको सँख्या ७ हजार ८५८ पुगेको छ ।भैंसी सुत्केरी भत्ता वितरण हुन थालेपछि नगरपालिकामा मुर्रा जातका भैंसीमा थप आकर्षण चुलिएको छ । भैंसीको सँख्यासँगै हाल दूध उत्पादन पनि बढेको नगरपालिका कृषि तथा पशुपञ्छि शाखाको तथ्यांक छ । तथ्यांक अनुसार हाल दैनिक ७० हजार लिटर दुध उत्पादन हुने गरेको छ । उक्त उत्पादनमध्ये ५० हजार लिटर काठमाडाँं उपत्यकामा आपूर्ति भइरहेको छ । ‘भैंसी सुत्केरी भत्ता अभियान सञ्चालन गरेपछि भैंसीको सँख्या झण्डै दोब्बरले बढेको छ’ नगर प्रमुख भीम न्यौपानेले भने, ‘दूध उत्पादन पनि दोब्बरको छ । हाम्रो अभियान किसानसँग प्रत्यक्ष जोडिएकाले किसानको आर्थिक अवस्था सुदृढ हुँदै गएको छ ।’ भैंसी सुत्केरी भत्ता कार्यक्रममा सहभागी हुनका लागि नगरपालिकाले अनिवार्य बीमा गर्नुपर्ने प्रावधान राखेको छ । बीमा गरेबापत लागेको प्रिमियमको ५० प्रतिशत रकम नगरपालिकाले बेहोर्ने गरेको छ । नगरपालिकाले अहिले पनि भैंसीलाई खोप र घाँसका बीउ निःशुल्क उपलब्ध गराउँदै आएको छ । नगर कृषि तथा पशुपञ्छि शाखाका अनुसार आर्थिक वर्ष २०७५÷०७६ मा ‘भैँसी सुत्केरी भत्ता’ कार्यक्रमअन्तर्गत २१७ भैंसीको ५ लाख ७५ हजार रुपैयाँ किसानलाई उपलब्ध गराइएको छ । शाखा प्रमुख मणिप्रसाद सापकोटाका अनुसार ‘भैंसी सुत्केरी भत्ता’ कार्यक्रमअन्तर्गत आव २०७६/०७७ मा ४४४ सुत्केरी भैंसी वापतको १२ लाख र आर्थिक वर्ष २०७७/०७८ मा ६४१ भैंसीवापतको १७ लाख ५० हजार रुपैयाँ भुक्तानी गरिएको छ । भैंसी सुत्केरी भएवापत भत्ता पाइने भएपछि गाई पालक किसान पनि भैंसी पालनतर्फ नै आकर्षित भएका छन् । पनौती नगरपालिका वडा नम्बर ३ की विमला सापकोटाले गाई पालन गर्दै आएकी थिइन् । नगरपालिकाले भैंसी सुत्केरी भत्ता कार्यक्रम लागु गरेपछि ३ वर्षअघि उनले आफ्नो गोठमा एउटा भैंसी थपिन् । नगरपालिकाले ल्याएको अनुदानपछि भैंसी थपेर दूध विक्री गर्दै आएकी उनले घर खर्चसँगै छोराछोरीको विद्यालय खर्च पनि धानिरहेकी छिन् । ‘भैंसीको दूध बेचेर घर र छोराछोरीको खर्च धान्दै आएकी छु’ उनले भनिन्, ‘नगरपालिकाले दिएको  अनुदान, बीमा र सुत्केरी प्रोत्साहनकै कारण केही दिनमै अर्को भैंसी थप्ने योजनामा छु ।’ पनौती १२का यज्ञ खत्रीले यसअघि भैंसी पालन नगरेका होइनन् । तर, विभिन्न रोगको प्रकोप र दूधको उचित मूल्य नपाएका कारण छाड्न बाध्य भएका थिए । पछिल्लो समय नगरपालिकाले भैंसीपालनमा दिइरहेको अनुदान, बीमा र सुत्केरी प्रोत्साहनले उनलाई पुनःव्यावसायिक भैंसीपालनमा आकर्षित गरेको छ । ‘विभिन्न समस्या र दूधको मूल्य नपाउँदा सधैं घाटामा भैंसी पाल्न नसकिने भएपछि चार भैंसी सस्तैमा बेचेर भैंसी पालन नै छाडेको थिए’ उनले भने, ‘अहिले पुनःभैंसी पालनमै फर्किएको छु ।’ उनको गोठमा हाल ७ भैंसी छन् ।            ‘भैँसी सुत्केरी भत्ता’ अभियानबाट यहाँको किसानको आत्मबल बढेको छ । ‘भैंसी पाल्दा धेरै लगानी गर्नुपर्ने, थोरै मुनाफा हुने, रोग लाग्ने डर हुने गरेको थियो’ पनौती १२की भावना थापाले भनिन्, ‘अब थप २ ओटा भैंसी थपेर पाडापाडी पनि हुर्काउने योजनामा छु ।’    न्गरपालिकाले चालू आर्थिक वर्ष २०७८/०७९मा हालसम्म  ९ सय भैंसी सुत्केरी भएवापतको भत्ता वितरण गरेको जानकारी दिएको छ । सोका लागि करिब ४० लाख रुपैयाँ भुक्तानी गरिसकेको नगरपालिकाको भनाइ छ । रासस