फूलको पर्व तिहार र सयपत्री फूलको व्यापार (फोटो फिचर)

कात्तिक १८, काठमाडौं । नेपालीहरूको महत्त्वपूर्ण चाड हो तिहार । तिहारको महत्वपूर्ण पक्ष भनेको फूल पनि हो । तिहारमा सजावट, पूजा र भाइटीकामा मालाका लागि फूल नभइ हुन्न । यो बेला फूल किनबेच अधिक हुने गर्छ । यो मौसममा अनेकथरिका फूल फुल्ने गर्दछन् । मखमली र सयपत्री फूल त तिहारको विशेषता नै हुो । तिहारलाई फूलको पर्व पनि भनिन्छ ।  बत्ती, फलफूल र विभिन्न फूलहरुको पर्वको रुपमा लिइने तिहारको आगमनसँगै मुलुकभर फूलको व्यापार ह्वात्तै बढेको छ । काग, कुकुर, गाई, गोरु, म्हः पूजा र भाईटीकाको लागि अति आवश्यक पर्ने फूल राजधानीका सडकमात्र होइन मुलुकभर विक्रीवितरणको लागि राखिएका छन् । विशेषतः पहेंलो र रातो रंगको फूलहरुको माग तिहारमा धेरै हुने गर्दछ ।   लक्ष्मी पूजाको दिन बिहीवार कालिमाटी चोकमा सयपत्री फूल बेच्न ग्राहकको प्रतिक्षामा बसेका व्यापारी ।  प्रतिमाला १०० देखि २०० रुपैयाँसम्ममा विक्री हुने गरेको उनीहरुको भनाइ छ । यसपटक सयपत्री फूलखेतीमा किसानको आकर्षण बढेकोले पनि फूलको उत्पादन बढेको छ । यसपटकको तिहारमा फूल तयार हुने समय उपयुक्त भएको र कोरोना कहर मत्थर हुँदै गएकोले माग पनि दोब्बर बढेको किसानहरुले बताएका छन् ।   चितवनको कालिका नगरपालिका वडा नम्बर २ का फूल किसान गोविन्द बास्तोलाले यो वर्ष उत्पादनसँगै दिनहुँ माग पनि बढेको बताए । ‘पोहोर ७ कठ्ठामा फूल लगाउँदा मागपनि थिएन उत्पादन पनि थिएन उनले भने,  अहिले डेढ बीघामा लगाएको छु माग पुर्‍याउनै सकेको छैन ।’ नेपालमा तिहारमा खपत हुने अधिकांश सयपत्री, मखमली फूल भारतबाट भित्रिने गरेको छ । फूलमा नेपाल लगभग आत्मनिर्भर भएपनि मालाका लागि सयपत्री फूल भने अझै भारतबाट आयात गर्नुपर्ने अवस्था रहेको व्यवसायीहरूले बताएका छन्। नेपालमा तिहारमा मात्रै सयपत्रीका १६ लाख ओटा माला विक्री हुने गरेको फ्लोलिकल्चर एशोसिएशनले बताएको छ । स्वदेशी फूलमा आत्मनिर्भर बन्ने  हो भने सरकारले फूलखेतीमा लागेका कृषकहरुलाई सहयोगका लागि आवश्यक नीति बनाउन आवश्यक रहेको  व्यवसायीहरु बताउँछन् ।