कीर्तिमानी उच्च स्तरमा उक्लियो दलाल स्ट्रिट

काठमाडौं । भारतीय शेयर बजार बुधवार नयाँ कीर्तिमानी उचाइमा उक्लिएका छन् । अघिल्लो दिनको कारोबारमा अमेरिकामा वाल स्ट्रिटमा हरियाली छाएपछि भारतको शेयर बजारमा पनि सोको प्रभाव पोखिँदा सूचक नयाँ उचाइमा उक्लिएका हुन् ।  बुधवार बेञ्चमार्क निफ्टी ५० सूचक पहिलो पटक १९ हजार अंकमाथि उक्लिएको छ । निफ्टी १९ हजार २ दशमलव ७५ अंकसम्म पुगेको हो । सेन्सेक्स पनि ६३ हजार ८०७ को कीर्तिमानी उचाइमा पुगेको छ । उक्त दिन सेन्सेक्समा टाटा मोटर्स, टाइटान, इन्दुइन्ड बैंक, बजाज फाइनान्स, रिलायन्स, एसबीआई सबैभन्दा धेरै बढ्ने कम्पनी थिए । विप्रो, कोटाक र महिन्द्रा बैंक सबैभन्दा धेरै गुमाउने कम्पनी बने । मंगलवार एकै दिन विदेशी संस्थागत लगानीकर्ताहरूले २० अर्ब २४ करोड रुपयाको भारतीय शेयर किनेका थिए । बुधवार अमेरिकी डलरको तुलनामा भारतीय रुपया बलियो बनेको छ ।  सकारात्मक आर्थिक तथ्यांकले तत्कालै अर्थतन्त्र मन्दीमा जाने भयलाई केही कम गरिदिँदा हालैका दिनमा एक पछि अर्को गर्दै घटेको अमेरिकी शेयर बजारमा मंगलवार बढेका थिए । कारोबार बन्द हुँदा दाउ जोन्स इन्डष्ट्रियल एभरेज शून्य दशमलव ६३ प्रतिशतले बढेको थियो ।  एसएन्डपी ५०० १ दशलमव १५ प्रतिशतले बढ्दा नाष्डाक कम्पोजिट पनि १ दशमलव ६५ प्रतिशतले बढ्यो । विश्व अर्थतन्त्र सुस्ताउने चिन्ताका कारण लगानीकर्ताहरूमा सकारात्मक अमेरिकी आर्थिक तथ्यांकले उत्साह थप्न नसक्दा एशियाली शेयर बजार भने मिश्रित रहे । निक्केई२२५ १ दशमलव ९८ प्रतिशतले बढ्यो । चीनमा साङहाई कम्पोजिट शून्य दशमलव शून्य ६ प्रतिशत तल थियो । दक्षिण कोरिया, सिंगापुर र इन्डोनेशियामा बजार रातोमा रहँदा हङकङ, ताइवानलगायत केही एशियाली बजार भने हरियोमा थिए । एजेन्सी