पुस ५, कास्की । ट्रेकिङ एजेन्सिज् एशोसिएसन अफ नेपाल (टान) र पश्चिमाञ्चल क्षेत्रीय संघ, पोखराले एक दिने पदयात्रा (हाइकिङ) कार्यक्रमको आयोजना गरेको छ । पोखरा महानगरपालिकाका १६ र १९ मा पर्ने घार्मी, ढिकीडाँडा, भुप्राङकोटको ग्रामीण क्षेत्रको पदयात्रा मार्गको प्रवर्द्धन गर्न एक दिने हाइकिङ गरेको हो ।
‘ओझेलेमा परेका पर्यटकीय गन्तव्यहरुको पहिचान गरौं, दिगो पर्यटन, विकास प्रवर्द्धन र संरक्षण गरौं’ भन्ने नाराका साथ हाइकिङ गरेको हो । कोरोना महामारीले थला परेको पर्यटनलाई चलायमान बनाउनका लागि आन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्धन गर्ने उद्देश्यले एक दिने पदयात्रा कार्यक्रमको प्रवर्द्धन गर्न कार्यक्रम आयोजना गरिएको टान पोखराका अध्यक्ष सुशीलराज पौडेलले बताए ।
पौडेलले यस रुटको प्रवर्द्धन गर्न भ्रमण तालिका बनाई आफ्ना सदस्य कम्पनीमार्फत अन्तरराष्ट्रिय स्तरमा बजारीकरण गरिने बताए । कार्यक्रममा पूर्वमन्त्री तथा संघीय सांसद जगत विश्वकर्माले गण्डकी प्रदेशको समृद्धिको आधार नै पर्यटन भएकाले दीर्घकालीन योजनाका साथ घार्मी–कुरेचौर–ढिकीडाँडा–झुप्राङकोट पदमार्ग रुटलाई प्रवर्द्धन गर्न दीर्घकालीन योजना बनाएर अगाडी बढ्नु पर्ने बताए ।
पोखरा–१६ का वडा अध्यक्ष जीवन आचार्यले पोखरा बजारबाट नजिकमा रहेर पनि ओझेलमा परेका पर्यटकीय स्थलहरुको प्रवर्द्धन गर्नुपर्ने बताए । ‘यस्ता कार्यक्रमले पदयात्रा मार्गको प्रवर्द्धन गर्न सहयोग गर्नेछ,’ आचार्यले भने, ‘आगामी दिनमा टानसँग सहकार्य गरी पदयात्रा मार्गको प्रवर्द्धन गरिनेछ ।’ आचार्यले पदमार्गको प्रवर्द्धन सँगसँगै पूर्वाधारमा पनि जोड दिनुपर्ने बताए । कार्यक्रममा टानमा आवद्ध सदस्य कम्पनीका प्रतिनिधिहरु, पोखराका पर्यटकीय संघ संस्थाका प्रतिनिधिहरु, मजदुर संगठनका प्रतिनिधि, पत्रकार लगायतको सहभागिता रहेको थियो ।
घार्मीबाट शुरु भएको पदयात्रा ढिकीडाँडा, कुरेचौर हुँदै भुप्राङकोट पुगेर समापन भएको थियो । हाइिकिङको क्रममा स्थानीयले पञ्चबाजाका साथमा स्वागत गरेका थिए । कार्यक्रममा गर्लाङ गाउँको सामुदायिक होमस्टेका सदस्यहरु समेत सहभागी भएका थिए ।